कला

आँधी खोला सलल

यात्रा संस्मरण

 

 

हरेक वर्षको असार २९ गतेलाई आदिकवि भानुभक्त जयन्तीका रूपमा मनाउने गरिन्छ । नेपालका विभिन्न जिल्लाहरु र भारतका आसाम, दार्जिलिङ, सिक्किम लगायत अमेरिका, बेलायत, क्यानडामा पनि भानुजयन्ती धुमधामले मनाइन्छ । त्यस दिन कविगोष्ठी, झाँकी प्रर्दशन, पुरस्कार वितरण जस्ता विभिन्न कार्यक्रमहरुको आयोजना हुनेगर्छ । यो वर्ष १९७ औं भानुजयन्ती मनाउन स्याङ्जा जाँदाको यात्रानुभूति प्रस्तुत गर्न गइरहेको छु ।

किसानहरुको निम्ति महत्वपूर्ण मानिने असारको दिन, मानो रोपेर मुरी उब्जाउने बेला मानिसहरुलाई बोल्नसम्म फुर्सद हुँदैन । त्यस्तो चटारोमा पनि समय निकालेर स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीज्यूले वरिष्ठ साहित्यकार डा. महेश्वर शर्मा मार्फत् पठाउनुभएको निमन्त्रणा केही दिन अगाडि नै प्राप्त गरेँ । निम्ता थियो १९७ औं भानुजयन्ती तथा पुरस्कार वितरण समारोहमा उपस्थित हुनेबारे ।

खबर पाउनासाथ म त खुसीले फुरुङ्गै भएँ । नहुनु पनि किन ? माइतीबाट आएको निम्ता त्यसमा पनि साहित्यिक कार्यक्रममा भाग लिन पाउने अवसर मेरो लागि “एक काम दो पन्थ” भनेझैँ भयो । शरीर यहाँ भए पनि मन तुरुन्तै स्याङ्जा पुगेर डाँडापाखा चाहार्न थाल्यो । आँधीखोला पौडिन पुग्यो । मेरो खुसीको सिमानै रहेन । यति खुसी भएँ कि लेखेर व्यक्त गर्नै सकिन्न ।

स्याङ्जा जाने दिन औँला भाँच्दै गन्न थाले । असारको दिन त्यसै त लामो त्यसमा पनि प्रतिक्षाको घडी झन् लामो हुँदोरहेछ । मलाई त्यस्तो महसुस हुँदै थियो । घाम लाग्दा रमाउथेँ भने पानी पर्दा चिन्तित हुन्थेँ । मनमनै सोच्थेँ – वर्षाको बाटो पहिरोले अवरोध पुरयाउँछ कि !

नभन्दै स्याङ्जा जानु अघिल्लो दिनभरि मुसलधारे पानी परयो । ठाउँठाउँमा पहिरो गएको समाचार सुनियो  । त्यो समाचारले मेरो मनभित्र पनि पहिरो चल्यो । श्रीमानसमक्ष चिन्ता व्यक्त गर्दै भने – हामी स्याङ्जा जान नपाउने हो कि क्या हो ! पानी परेको परयै छ, पहिरोले बाटो पनि पुरेछ । ’

उहाँले आश्वासन दिँदै भन्नुभयो – खासै ठूलो पहिरो गा’को त हैन, सानोतिनो माटोको थुप्रो भोलिसम्म सफा गरिसक्छन् । नभए प्लेनबाट जाउँला चिन्ता लिनुपर्दैन । जसरी भए पनि स्याङ्जा पुरयाइदिउँला भएन।

उहाँले भनेपछि अलि मन शान्त भयो । तैपनि वर्षाको बाटो आफूले भनेजस्तो कहाँ हुन्छ र ! मनमा चिन्ताको तुष बाँकी रहिरह्यो । जसोतसो दिन बितिहाल्यो । रात कटाउनै मुस्किल परयो । पटक्कै निन्द्रा लागेन । मनमा धरै कुरा खेल्न थाले । घरी बाल्यकालमा साथीहरूसँग बिताएका रमाइला क्षणहरू सम्झेर हासेँ । घरि स्वर्गीय बुवा – आमालाई  सम्झेर धरधरी रोएँ ।

बुबाआमा मलाई औधी माया गर्नुहुन्थ्यो । मेरो शारीरिक अवस्थाप्रति चिन्तित हुनुहुन्थ्यो । हरेक पल मेरो स्वर्णिम भविष्यका लागि भगवानसँग प्रार्थना गर्नुहुन्थ्यो । हररात मेरै निम्ति एउटै सुन्दर सपना साँच्नुहुन्थ्यो । तर , त्यो सपना साकार भएको देख्न नपाउँदै उहाँहरूलाई निष्ठूरी कालले टपक्क टिपेर लागिदियो । म रोएँ, कराएँ, केही वर्ष पर्खिदिन बिन्ती गरे । अहँ, उसले सुनेन । आखिर मलाई टुहुरी बनाएरै छोड्यो

म मेरा बुवाआमालाई पूजापाठको बाटो भएर खोजेँ । भेटिन्छ कि कतै भनी तीर्थ धामहरुको बाटो पनि रोजेँ । असहायहरुको मुहारमा हेरेँ ।अहँ कतै भेटिन । अहिले अचेल अक्षरका माध्यमबाट वाङ्मयको संसारमा छिरेकी छु । यात्रा अनन्त छ अगाडिका बाटाहरु ठाडै नाक ठोक्किने उकाला छन् । रिँगटा लाग्ने ओराली छन् । काहालीलाग्दा भिराला छन् । कैयन् घुम्तीहरु छन् । खहरेखोल्सा नदीनाला पार गर्नुछ । कठीनपूर्ण छ बाटो, तैपनि मेरा बुवाआमाको शुभेच्छा, आशीर्वादको भारी बोकेर धैर्यको लठ्ठी टेकी अगाडि बढ्ने प्रयास गर्दैछु । गरिरहने छु ।” सोच्दासोच्दै रात बित्यो, बिहानीपख एक छिन निदाउन कोशिस गरेँ, तर निन्द्रा लागेन ।

“माइत जाने भनेपछि आँखै चिम्लेर हामफाल्छन् आइमाईहरु” भन्थे पुरुषहरु, साँच्चै हो रैछ आज मलाई त्यस्तै भैरा’छ उडेर जाऊँ कि गुडेर जाऊँ भएको छ । मन त्यतैतिर पुगेर होला,काम गर्दा हातको सन्तुलन नमिलेर हातहरु  धरि पानी पोखिन्छ, धरि चियामा चिनी हालें भन्दा नुन पो हालिन्छ ।काम झन् दोहरयाउनुपर्दा, अलमल मात्र भैरहने । बिहान आफ्नो दैनिक काम सकेर अफिसको समेत चाँजोपाँचो मिलाउँदैमा एघार बजिहाल्यो ।

२०६७ असार २८ गते बिहान श्रीमान् र म ११ः३० बजे स्याङ्जाको लागि प्रस्थान गरयौँ । माइत लाने कोसेलीस्वरूप झोलाभरि पुस्तक र पत्रिकाहरु थिए । ट्याक्सीबाट ओर्लेर गोँगबुमा माइक्रोको खोजीमा लाग्यौँ । सिरिरि हावासँगै मसिनो पानी परयो । अलिअलि भिज्यौँ पनि । एकछिनपछि माइक्रो भेटेर भित्र छिरेपछि बल्ल राहत मिल्यो । अघिपछि माइत जाँदाको भन्दा यो पालिको कोसेली केही फरक थियो । किनभने साहित्यकार माइतीका लागि पुस्तक पत्रपत्रिकाभन्दा गतिलो कोसेली अरू के हुन सक्थ्यो ? त्यसैले आपूmले लेखेका र अरू पनि पुस्तक पत्रिका राखेँ झोलामा ।

हामी चढेका माइक्रो १२ः३० बजे पोखराका लागि गुड्यो । जाँदाजाँदै पानी दर्किन थाल्यो । मेरो मनमा कुरा खेले, यसरी पानी दर्किरह्यो भने पहिरो गएर बाटोमा माटो थुप्रिन्छ अनि के गर्ने ! बिचैमा अड्किनुपर्ने पने हो कि ! मनमा शंका – उपशका उब्जिए । यस्तैमा माइक्रोले कलङ्की नाघ्यो । अघिपछिझैँ यो पटक कलङ्कीमा जाम भएन । खुसी लाग्याथ्यो तर त्यो खुसी धेरैबेर रहन सकेन । किनभने नैकापमा पुग्दा उताबाट विपरीत दिशाबाट आएको एउटा  ६ पाङ्ग्रे लरीले ड्याम्मै बाटो छेकिदियो । यताबाट जाने गाडीहरूलाई बाटो नै पुगेन । बायाँतिर साइड च्याप्ने ठाउँ पनि थिएन त्यहाँनेर । सवा घण्टा जति त्यहाँ अलमल भयो । त्यो देखेर मलाई दिक्क लाग्यो । अचेल यो सडकको जामको समस्यादेखि घरबाट कतै जान नपरे’नि हुन्थ्यो जस्ते लाग्न थालेको छ । के गर्नु , काम परेपछि नहिँडी भएन । सामान्य कारणबाट पनि बाटो जाम गरिने हाम्रो देशको सडकको कस्तो दुरावस्था ! मैले मनमनै सडक विभागलाई गाली गरेँ । यात्रुको सुविधाप्रति बेवास्ता गर्ने ट्राफिकप्रति रोष व्यक्त गरे । गाडीबाट अधिकांश यात्रुहरू ओर्लेर त्यो जाम हेर्न भीड लागेका थिए । भर्खरै पानी पर्न रोकिए पनि बाटो हिलाम्मे थियो । त्यहाँ प्रहरीहरू पनि थुप्रै जना जम्मा भए । आखिरमा त्यो लरीलाई बिस्तारै उसैको साइडतिर च्यापेर अगाडि बढाएपछि बल्लबल्ल यताबाट जाने गाडीले बाटो पायो र बेतोडले कुद्यो । थानकोट चौकी कटेपछि झन् तीव्रगतिमा चालकले माइक्रो गुडाए। 

थानकोटबाट गाडी ओरालो लाग्दा त्यहाँ सेतो कपासजस्तो भुइँकुहिरोले छपक्कै ढाकेको थियो । दायाँबायाँ बाक्लो कुहिरोबाहेक केही देखिँदैनथ्यो । हामी कुहिरोका घेराभित्र परयौं । ड्राइभरले गाडीका गति कम गरे, किनभने बत्ती बालेर आएका विपरीत दिशाका गाडी पनि टाढैबाट देखिने स्थिति थिएन । भुइँकुहिरोसँग सङ्घर्ष गर्दै ओरालो ओर्लिसकेपछि तेर्सो बाटोतिर लाग्ने बेला मैले झ्याल खोलेर गाडीबाट यसो बाहिर हेरेँ । भुइँकुहिरो पाखातिर सररर सरेको दृश्य बडो रोमाञ्चकारी थियो । हातैले सोहोरेर पोल्टामा राखूँजस्तो । सफा सेतो कुहिरोले साँच्चै मन लोभ्यायो मेरो ।

मनमनै सोचेँ – यी कुहिरोहरू कति स्वतन्त्र छन् । इच्छा लागे डाँडापाखा, सडक गोरेटो छपक्कै ढाकिदिन्छन् ।  फेरि उडेर आकाशमा जान्छन् कसले रोकटोक गर्ने र । आफ्नै खुसी आफ्नै मर्जी । तर, मान्छे उफ कति निरीह छ ऊ । अघि भुइँकुहिरोले छोपिएको डाँडाजस्तै सामाजिक रीतले छोपिएको छ, नीतिनियमले बाँधिएको छ । आफ्नो लागि मात्र नभएर अरूका  लागि पनि बाँच्नुपर्छ मान्छेले।

सोच्दासोच्दै खानीखोला पुगियो । त्यहाँचाहिँ भुइँकुहिरो थिएन । त्यसपछि छर्लङ्गै उज्यालो देख्न पाइयो । मेरा एकजोडी आँखा गाडीको झ्यालबाट बाहिर निस्केर डाँडापाखा चहार्न थाले । पानीले नुहाएका हरिया बोटवृक्षहरू सर्लक्क सफा देखिन्थे भने खोल्साखोल्सीमा पानी भरिभराउ थिए । खोलानाला बढेर दुवै किनारा ढाकेका थिए । गाडी चालकले गति तीव्र पारे र जति हुइँकाउँथे उति नै मेरा आँखा पनि छिटोछिटो  दौडिन्थे।

आहा  कति हरिया डाँडाहरू, छाँगा, छहराहरू, तरेली परेका गराहरू बयानै गरी नसकिने प्राकृतिक दृश्यपानले म लठ्ठिन पुगेँ । फेरि मनमनै भने – हाम्रो पौराणिक धर्म ग्रन्थहरूमा वर्णन गरिएको स्वर्गको बयानभन्दा कम छैन हाम्रो देशको सौन्दर्य।  

यस्तो सुन्दर देशमा जन्मन पाउनु आफूलाई भाग्यमानी ठानेँ । शीतलताको अनुभव गरेँ । प्रकृतिको काखमा लडीबुडी खेलेको महसुस गरिरहेँ । त्यही बेला‘ – लल चियास्या खानुस् को  आवाजले म झसङ्गै भएँ । गाडी पनि एउटा रिसोर्ट अगाडि गएर घ्याच्च रोकियो । बाहिर उत्रेर हेरेँ – त्रिशूली रिभर रिसोर्ट लेखिएको ठूलो साइनबोर्ड टाँसिएको देखेँ । त्रिशूली नदीको किनारमा रहेको उक्त रिसोर्टबाट नदीको छङछङ आवाज सुन्न र नदीको बहाव हेर्न सकिने हुँदा थाकेर आएका यात्रुलाई आनन्द दिने वातावरण थियो त्यहाँ । पन्ध्र मिनेट गाडी रोकिदा कसैले चिया खान भ्याए, कसैले तरकारी खाजा बोकेर गाडीभित्र छिरे । मलाई चाहिँ खानुभन्दा पनि हेर्न रमाइलो लाग्यो ।

दिन घामले तातेको पनि छैन, पानीले भिजेको पनि छैन, एकप्रकारको शीतल आनन्तलाग्दो छ । माइक्रो चालक पनि म पहिला यात्रा गर्दाको माइक्रो चालकभन्दा सिपालु रहेछन् सायद धेरै घाङ्चाङ– घुङ्चुङ नगरी सलल कुदाइरहेका छन् आफ्नै गतिमा । यात्रुहरू कोही सिटमा अडेस लाएर चूपचाप केके सोच्दै छन् । कोही आँखा चिम्म गरेर निदाइरहेका छन् । कोही सँगै सिटका साथीसँग कुरा गरिरहेको छन् । समयको गतिसँगै गाडी पनि अगाडि बढिरह्यो । कुरिनटार पुग्दा दायाँतिरको पहाडमा केवलकारको बक्सहरू तारमा झुन्डिएर सर्र मास्तिर उक्लेको कुनै तल सुलुलु अ‍ोर्लेको दृश्य बडो रमाइलो देखिन्थ्यो । त्यसपछि केही किलोमिटर सडक परतिर पुगेर गाडी फेरि एउटा रिसोर्ट अगाडि रोकियो ।  

– लल यहाँ बीस मिनेट रोकिन्छ तपाईँहरू खानासाना के खाने खानुु्स् , कन्डक्टरले भन्यो । हामी सबै ओर्लियौँ । त्यहाँ कसैले भात खाए, कसैले फेरि चिया । हामी त घरबाट टन्न खाएर आएको हुँदा एकएकवटा फ्रुटी झिकेर गाडीभित्र सिटमा बसेर चुस्न थाल्यौँ । करिब बीस मिनेटमा यात्रुहरु चढिसकेपछि माइक्रो फेरि सडकमा चिप्लिन सुरु गरयो । अलिपर पुगेको मात्र के थियो, पछाडिबाट एक जना मानिसले पर्ख – पर्ख भन्दै हात हल्लाएर दौडिरहेको गाडीभित्रै पुछारको सिटमा बस्नेले देखेछ । उसले ड्राइभरलाई चिच्याएर ए  गाडी रोक्नुस्– रोक्नुस् भनेपछि साइड लाएर रोके । गाडीभित्र खैलाबैला मच्चियो ।

कसैले भने – प्यासेन्जर छोडेर हिँड्नुहुन्छ ?  कसैले भने–  त्यो मान्छे पनि कस्तो हुस्सु रहेछ । यतिका जना चढिसक्दा पनि गाडी नचढेर के गरिरा होला ?  

ड्राइभरले चाहिँ कन्डक्टरलाई हप्काउँदै भन्यो – साले गधा, प्यासेन्जरभित्र पस्या नपस्या हेर्नुपर्दैन ।

ऊ पनि के कम झर्किदै भन्यो – सिटमा बस्नेहरू सबै छन् । त्यो पनि चढ्यो होला भन्ठाने । मेरो के दोष ! जवाफ फर्कायो उसले । भनाभन गरे दुवै जनाले । गाडीभित्र बसेका हामी सबै पछाडि फर्केर हेर्न थाल्यौँ । पछाडिको सिसाबाट छर्लङ्गै देख्यौँ ।

त्यो मान्छे एउटा म्याराथुन धावकलाई खेल जित्न आफ्नो भएभरको शक्ति खर्चनु परे झैँ उसलाई परेको थियो । बलबुताले भ्याएसम्म कुदेर ऊ गाडीको ढोकानेर आइपुग्यो । उफ् उफ् स्वाँ स्वाँ गरी मुखभरि सास लिएर बल्लबल्ल ढोकाको डन्डी समातेर भित्र पसेको मात्र थियो, माइक्रो चलाइहाल्यो । बिचरो त्यो मान्छे ड्याम्मै पछारियो झन्डै चोट लागेन । त्यही बेला कन्डक्टरले रिसाउँदै भन्यो “तपाई कस्तो मान्छे बेलैमा गाडी चढ्नु पर्दैन ? तपाईले गर्दा यतिका समय कुर्नपर्यो ।” अर्को यात्रुको मद्दतले उठेर त्यो मान्छे थ्याँच्च मुडामाथि बस्यो । यात्रुलाई परेको मर्का बेवास्ता गरेको देखि मलाई असह्य भयो र कण्डक्टरलाई कड्किएर भनिदिएँ आफ्नो ड्यूटी राम्रो नगर्ने अझ आफैँ कराउने ? जो चोर उसैको ठूलो स्वर ? त्यसपछि अरुले पनि उसैलाई गाली गरे बल्ल रातो मुख लाएर ढोकातिर उभिन गयो । त्यो मान्छेले पसिना पुछ्दै भन्यो”गाडी व्याक गरेको भए‘ नि हुन्थ्यो नि ।” अहो १ त्यतातिर कसैको ध्यानै गएन । बेलामा बुद्धि पु¥याउन नसकेकोमा सबैजना च्वच्व मात्र भन्न सक्यौं बिचरा त्यो मान्छे छेवैको एकजना यात्रुले भन्यो – ‘भइगो अब जे हुनु भयो गाडी भेटियो त्यै ठूलो कुरो भयो ।‘

मेरो मनमा भने कुरा खेल्न छोडेन । मनमनै भने – ”हाम्रो देशमा जता हे¥यो उतै अस्तव्यस्त छ । सदनदेखि सडकसम्म । कसैले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरिरहेका छैनन् । त्यो गाडिको ड्राइभरलाई थाहा हुनुपर्ने हो – अलिकति व्याक गरेको भए त्यो मान्छेलाई त्यतिविघ्न परिश्रम पर्ने थिएन । हामी पनि के भाका ? त्यति पनि बेलैमा सोच्न नसक्ने । एकले अर्कोलाई दोष दिने र पन्छिने चलन विकसित भइरहेको छ यहाँ । यो सब राजनीति प्रदुषणको प्रभाव हो । अनुशासन पटक्कै छैन । दण्डहिनताले गर्दा जल्ले जे गर्दा पनि भएकै छ । सम्झेर मेरो मन कुँडियो । खिन्न भएँ म । गाडी आफ्नै रफ्तारमा गुडिरह्यो आफ्नो ध्यान अन्तै मोड्ने प्रयास गरेँ र झ्यालका सिसाबाट बाहिर हेरेँ । मेरा आँखा फेरि डाँडापाखातिर चाहर्न थाले । यतिखेर भने मेरा आँखा ती हरिया डाँडाका ठाउँ ठाउँमा खनेर बनाइएका घरहरुमा गएर नराम्ररी ठोकिए । मनमनै सोचँ “अहो १ त्यति सुन्दर देशका जनता हामी कति फोहरी रहेछौं । सधैं आफू आफूमै मारामार, लुछाचुँडी, प्राकृतिक विनास गर्ने मुर्ख रहेछौं । हेर त १ त्यति राम्रो हरियो पाखामा जथाभावी खनेर भिरालोमा अव्यवस्थित घरहरु ठड्याइएकाछन् । वर्षामा पहिरोले बगाएपछि कुन गती होला? । किन मानिसहरु प्रकृतिलाई आफू अनुकुल बनाउन चाहन्छन् । प्राकृतिक नियम उल्लंघन् गर्छन् । दुघर्टना देखे भोगेर पनि कहिल्यै चेत्दैनन् । नदी किनारा र भिरोलोमा बसोवास गर्दाको परिणाम बर्षेनी भोगेकै छन् तापनि लिडेढिपी गरिरहन्छन् । कहिले आउँछ मान्छेमा चेतना ? कहिले भरिएला खोपडीमा ज्ञान ? आफूले आफैलाई प्रश्न गरेँ मैले । जवाफ नपाउँदै गाडी पोखरा पृथ्वीचोकमा पुगेछ ।

“ल पोखरा आइपुग्यो” कण्डक्टरको आवाजले झसंङ्गै भएँ म । झोला बोकेर श्रीमान्सँगै ओर्लिए । त्यहाँबाट दुई÷चार पाइला सारेका मात्र के थियौं । पाँच÷छ जना मान्छेहरुले हाम्रो होटलमा जाउँ भनेर घेर्न आए । ती मन्छेहरुमध्ये कोही किशोर थिए, कोही अधबैशे र कोही युवा थिए । तिनीहरुले कसैले हाम्रो होटलमा हटसावर छ भने, कसैले २५ प्रतिशत छुट छ भने, कसैले होटलसम्म ट्याक्सीमा लान्छौं भाडा तिर्नुपर्दैन भने । एकै पटक झ्याउँ झ्याउँ कराउँदा कानै झननन्न भयो मेरो । दिनभरीको थकान त्यसमा पनि ती मान्छेका आवाजले मेरो टाउको रनन्त तान्यो पनि ।त्यसपछि उनीहरुलाई झपार्दै भनेँ ग्राहक बोलाउने यो के तरिका हो ? भिजिटिङ्ग कार्ड दिनु ब्रोसर दिनु । त्यसरी एकैसाथ कराएर झन् ग्राहक तर्साउने ? तपाईहरु कसैको पनि होटलमा बस्ने मान्छे हामी होइनौं । हामी यही पोखराका मान्छे हौं । जानुस् तपाईहरु भनेपछि बल्ल पन्छिए । तैपनि यौटा किशोरले हाम्रो झोला उचालेर भन्यो “कहाँ लैजाने हो? म पु¥यादिन्छु आउनुस् ।” ऊ छिटो छरितो थियो, अघि लागेर परै पुग्यो । मैले ए भाइ१ पर्ख‘ भनेपछि टक्क रोकिएर उभियो । हामी उसको छेउ पुगेपछि मैले ‘अब हाम्रो घर आइ पुग्यो । ऊ त्यहि हो हाम्रो घर झोला छोड‘ भनेर सडककै यौटा घरलाई औंलाले देखाएँ । अनि बल्ल उसले ए१ भन्दै झोला छोडेर आफ्नो बाटो लाग्यो ।

घाम अस्ताइसकेर दिन साँझमा परिणत हुँदै थियो । हामीले सल्लाह गरयौं – राति जानुभन्दा यतै बास बसेर भोलि बिहान आरामले जाउँला । त्यही नजिकै बीरेठाँटी गेस्ट हाउस लेखिएको साइनबोर्ड देख्यौं । बीरेठाँटी नाम देख्नासाथ श्रीमान्लाई त्यो होटलप्रति आकर्षण बढ्यो । कारण उहाँ केही वर्ष पहिले बीरेठाँटी भएर मुक्तिनाथ जानुभएको थियो । थरीथरीका लालीगुँरास फुल्ने अति रमणीयस्थल हो रे बीरेठाँटी । केहीबेर सडकमै उभिएर फेरि त्यो ठाउँबारे दोहोरयाएर सुनाउनुभयो मलाई । मैले पनि मनमनै सोचें – उक्त सौन्दर्यपूर्ण स्थानमा म पुग्न नसके पनि त्यही नाममा खोलिएको होटलमा भए नि एक रात बसेर चित्त बुझाउँछु । अनि उहाँलाई भने त्यसो भए आज यही बसौं न त । ल हुन्छ भनेर झोला बोकेर होटलभित्र छिरयौं ।

एट्याच बाथरुम सहितको सुविधासम्पन्न थियो कोठा नुहाइधुवाइ फ्रेस भयौं । पोखरामा त्यतिबेला अफसिजन रैछ । मैले गनेको डाइनिङ हलमा तीस जनाले एकैसाथ बसेर खान मिल्ने भए पनि जम्मा ६ जना पाहुना थियौं । साहुसाउनी आफैले खाना बनाएर ल्याए । काम गर्ने मान्छे देखिएन । सिजनमा भीड हुने ठाउँ बेसिजनमा रित्तो पनि हुँदोरैछ । त्यो देखेर मनमनै भनें‘ – समयसमय की बात‘ भनेको यही रहेछ । अघिपछि बोल्ने फुर्सद नहुने साहुसाहुनी अहिले आफ्नै हातले खाना बनाएर पाहुनाको सत्कारमा खटिएका छन् । पोखराबाट स्याङजा टाढा नभएको र आफ्नो गन्तव्य नजिकिँदै गरेकाले त्यो रात ढुक्कसँग निदाएर अघिल्लो रातको अनिदो समेत मेटिएको महसुस गरेँ ।

उन्नतीस गते विहान सबेरै उठेर आफ्नो नित्यकर्म सकी चिया पियर होटलबाट बाहिर निस्क्यौं । ढोकैमा एकजना युवकले सोध्यो – ‘तपाईहरु कहाँ जाने हो ? ‘स्याङजा‘ श्रीमान्ले भन्नुभयो । “ल आउनुहोस् हाम्रो गाडी जानै लाग्यो” त्यो युवकले भन्यो । हामीलाई जानै थियो, त्यसैले ल हुन्छ भनेर हिड्यौं । उसले झोला बोकिदियो सजिलै भयो भन्ने ठान्यौं तर त्यो युवक यति छिटो हिँड्यो कि मैले त परै जावस् श्रीमान्ले समेत भेट्टाउन मुस्किल प¥यो । उहाँ पछि पछि लाग्दालाग्दै ऊ क्षणभरमै बेपत्ता भयो । म चाहीँ धेरै नै पछाडि छोडिएँ । कारण छिटो हिँड्न नसक्नु,। त्यसमापनि पुथ्वीचोकमै थुपारिएको फोहरको डुङगुर छेउबाट हिँड्नुपर्दा त्यसको दुर्गन्धले झण्डै बान्ता भएको । मैले नाक छोप्न घरि साडीको टुप्पा तान्थे, घरि व्यागमा रुमाल खोज्थेँ, त्यसैले पनि अलमल भयो । थुथुथु गरी चोक काटेर गइसकेपछि पनि पेट हुडलिएर हुनसम्म गाह्रो भयो । झट्पट् व्यागबाट एभोमिन ट्याब्लेट झिकेर सानो बोतलमा लगेको पानीले निलेपछि बल्ल राहत मिल्यो ।

श्रीमान् त्यो युवकको खोजीमा हुनुहुन्थ्यो । लाइनै उभ्याइएका गाडीवालहरु पेसेन्जर तान्न तँछाड मछा गर्दै थियो । आउनुस् आउनुस् यो हिँड्नै आँट्यो भन्थे कोही कोही हाम्रो गाडीमा आउनुस् भाडा मिलाइदिउँला भन्थे । यात्रु कम गाडीको लाइन लामो थियो । आपसमा भनाभन र झगडा गरयाजस्तै गर्ने तिनीहरु हामी एकछिन ट्वाल्ल परेर उभियौं । त्यही बेला कमिजको रङबाट हाम्रो झोला लाने युवकलाई चिन्नुभयो श्रीमानले र झोला खोई ? भनेर सोध्नुभयो । उसले गाडीको डिक्कीमा राखिसकेँ ल आउनुस् भनेपछि हामी अलि ढुक्क भयौं र सीटमा बस्यौं । तर हामी चढेको बसको पालो एकघण्टापछि पो आयो । नराम्ररी ठगीयोै।ंकुरै कुरामा मैले श्रीमान्लाई भने ’केही वर्ष अगाडिसम्म पोखरा कति सफा सिनित्त थियो, अहिले त फोहरले पोखराको सौन्दर्य खप्र्लकै निल्न आँटेछ’ ।

– काठमाडौं महानगरपालिकाबाट पोखरा उप–महानगरपालिकाले अरू कुरा के सिक्यो थाहा भएन, चोकमा फोहर थुपार्न भने राम्ररी सिक्या रैछ । उहाँले भन्नुभयो ।

कम बोल्ने मान्छेबाट यस्तो व्याङग्यात्मक जवाफ सुनेर मलाई मनमनै लाज लाग्यो र थप सवालजवाफ गर्न चाहिनँ । किनभने म पनि पोखरासँग सम्बन्धित चेली परेँ । अब भने उहाँसँग कुरा नगरेर मनमनै सोच्न थालेँ – हुन पनि हो राम्रोभन्दा नराम्रो कुराको छिटो नक्कल गर्ने हाम्रो समाज पृथ्वीचोक जस्तो अति महत्वपूर्ण पोखराको मुटुमा फोहरको डुङ्गुर थुपारेर उदाहरणीय बनिरहेको छ । फेरि यी गाडीबालाहरू पनि छिमेकी मुलुकबाट सिकेर यात्रु सताउन सिपालु भइसकेछन् । मैले भारतका तीर्थस्थल दर्शनका लागि जाँदा भोेगेका कुराहरू सम्झन थालेँ । प्लेटफार्ममा कुल्लीले सामान उठाएर ट्रेनमा राख्न लैजाँदा पछिपछि दौड्न नसके एकैछिनमा सामान गायब पारिदिएको देखेको थिएँ । बस, अटो, रिक्साले यात्रु तानातान गरेर नजिकै गन्तव्य भए पनि दिनभरि घुमाएर पैसा ठगेको पनि सुनेको थिए । बस बाटोमा बिग्रियो भन्ने बाहना पारी ट्याक्सी चढ्न लाएको पनि हाम्रै साथीहरूले भोगेका थिए । नेपालबाट आएको भनेर चिनेपछि त कहाँबाट कसरी ठग्ने भनेझैँ गर्थे उनीहरू । यहाँ पनि अब त्यसो नहोला भन्न सकिन्न । फेरि सोचें– त्यो पुस्तक पत्रिकाले भरिएको झोलामा लत्ताकपडा मूल्यवान् सामानहरू भएको भए त्यो युवकले पनि बाँकी राख्ने थिएन सायद  नत्र किन क्षणमै बेपत्ता हुन्थ्यो त ?  

– लल स्याङ्जा –स्याङ्जा गाडी हिँड्यो, छिटो आउनुस्! चालकको चर्को आवाजले झसङगै भएँ म ।

गाडी विमानस्थल, छोरेपाटन, पुम्दी भुम्दी हुँदै कुपिन्डे भञ्ज्याङ पुग्यो । जतिजति स्याङ्जा नजिकिन्थ्यो उति नै मेरो मन झन् रमाउँथ्यो । कति बेला पुगौंला र आफन्तसँग भेटौंला भनेर मन झन् –झन् आत्तिन्थ्यो । नाउडाँडा पुग्दा हिजो थानकोटमा जस्तै भुइँकुहिरोले छपक्कै ढाकेको पाइयो । हामी चढेको बस कुहिरोभित्रै शीतका थोपाहरू माथि चिप्लिदै अघि बढ्यो । गुणीखोलासम्म त्यही क्रम चलिरह्यो । त्यसपछि भने बाडखोलाबाट स्याङुजाको डाँडा छर्लङगै देख्न सकियो । मेरो मनमा पनि घाम लाग्यो । हामी स्याङ्जाको चोकमा पुगेपछि बसबाट ओर्लियौं । मैले झटपट विश्वप्रेमजीलाई फोन गरेँ । उहाँको निर्देशनबमोजिम सरासर विपी चोकको यौटा होटलमा पुग्यौं । त्यहाँ चितवनबाट आउनुभएका स्रष्टाहरू कपिल अज्ञात, गोरखे साइँलो, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारीलाई भेटेर परिचय साथै आ–आफ्ना कृतिहरू आदान–प्रदान गरियो । छापामा नाम पढेका तर भेट नभएका स्रष्टाहरूसँग प्रत्यक्ष भेट र एउटै टेबुलमा खाना खान पाउँदा मन औंधी रमायो ।

कार्यक्रम निर्धारित समय भन्दा केहीबेर ढिला सुरु भयो । कारण त्यस समारोहका प्रमुख अतिथि पोखरा निवासी छन्दनायक माधव वियोगीजी हुनुहुन्थ्यो । १९७ औं भानुजयन्ती तथा पुरस्कार सम्मान वितरण उक्त समारोहमा काठमाडौं, चितवन, पाल्पा, कास्कीका समेत स्रष्टाहरु जम्मा हुनुभएको र स्थानीय प्रशासन लगायत स्रष्टाहरुको पनि बाक्लै उपस्थिति थियो । कार्यक्रम शालीनतापूर्वक सञ्चालन भई अगाडि बढिरह्यो । त्यहाँ कविता पाठ पनि भयो । पुराना पुस्ताका ख्यातिप्राप्त स्रष्टाहरुको त कुरै छोडौ, नयाँ पुस्ताका भाई बहिनीहरुको कविता सुनेर म त साह्रै हर्षीत भएँ । बहिनीहरु लक्ष्मी काफ्ले र लीला तर्कनाले गरेको राम्रो कविता पाठ त्यो समारोहको आर्कषण नै बन्यो । उक्त कार्यक्रममा पुरुषोत्तम न्यौपाने, पूर्णप्रसाद अधिकारी, लीलाधर ढु्ङुगानालाई कालीगण्डकी पुरस्कारबाट पुरस्कृत गरियो भने  म र लेखनाथ काफ्लेलाई तीला कुमारी पुरस्कारबाट पुरस्कृत गरियो ।

माइतीहरुको माझमा काठमाडौंदेखि गएकी म चेली अलि बढी नै फुर्किरहेकी थिए । त्यसमा पनि तीला कुमारी साहित्य पुरस्कार २०६७ हातमा सम्मानको दोसल्ला काँधमा पर्दा त खुट्टा भुईँमै थिएन । मनमा हर्षखुशीको साथै यौटा ठूलो जिम्मेवारी थपिएको अनुभव गरेँ मैले । पुरस्कार, सम्मान विगतमा गरेको साहित्य योगदानभन्दा पनि अगामी दिनहरुमा साहित्यका लागि गर्नुपर्ने कर्तव्यबोधका लागि दिएको सम्झेँ मैले । अब झन् बढी मिहेनत गर्नुपर्ने भयो । त्यो सम्मानपत्रको फ्रेमले सधैं खबरदारी गरिरहनेछ भन्ने लाग्यो । त्यसको लागि स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीज्य्र, देवीप्रसाद वनवासीज्यू, चिन्तु गिरीज्यू लगायत सम्पूर्ण प्रतिष्डान परिवारप्रति हृदयदेखि नै आभारी भएँ । साहित्यको सेवा गर्ने चाहना हुँदाहुँदै पनि समय परिस्थितिको छालले हुत्याएर फ्याँकिएकी, प्रतिभा भए पनि ओझेलमा परि यौटा कुनामा परिरहेकी मलाई चेली सम्झेर बोलाएर यति ठूलो पुरस्कार मान सम्मान दिँदा म कुन शब्दले माइतीको प्रशंसा गरुँ । शब्द नै भेटिनँ मैले त्यतिबेला र अहिलेसम्म पनि भेटिरहेकी छैन ।

कार्यक्रम स्थल लक्ष्मी पुस्तकालयको हलमाथि आँधीखोला एफ.एम रहेछ । त्यहाँ मेरो अन्तर्वाता कविता वाचन गरी २५ मिनेट रेकर्ड गरेँ । ५ः३० बजे कार्यक्रम समापन भयो । स्याङ्जाबाट दार्सिङ, वालिङ जाने समय मिल्न सकेन । कारण मेरो कार्यालयमा आ.व. २०६६÷०६७ का थुप्रै कामहरु बाँकी थिए । दुई दिनभित्रै सक्नुपर्ने । त्यसैले साँझ ६ बजे काठमाडौंका लागि गाडी चढ्नु परयो । जन्मेको ठाउँ आफन्तलाई छोडेर फर्किनुपर्दा नरमाइलो लाग्यो । सडकबाट देखिउन्जेल आँधीखोलालाई हेरिरहेँ । सङ्लो आँधीखोला नागबेली परेर आफ्नै गतिमा सललल बगिरह्यो । म भने गहभरि आँसु लिएर फुट्न आँटेको मुटुको भक्कानोलाई थाम्दै माइतीको सम्झना बोकेर काठमाडौं फर्किएँ ।  

प्रकाशित: ५ माघ २०७७ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App