कला

ई–भिक्षा

लघुकथा

कृष्ण बजगाईं

 

                    १) थुक

उसलाई एक हुल मानिसले खुब पिटे । उसलाई पिट्ने र मूकदर्शक भएर रमिता हेर्नेबाहेक त्यहाँ तेस्रो पक्षको उपस्थिति थिएन । पिटाइले ऊ घाइते भएको थियो । उसलाई अस्पतला लैजानु पर्दथ्यो । तर त्यस हिंसक हुलले उसलाई गाउँको प्रहरी चौकीमा पुर्यायो । र उसका विरुद्ध किटानी जाहेरी दिइयो ।

जाहेरी पढिसकेपछि घाइते अवस्थामै प्रहरीले उनलाई केरकार गर्न सुरु गरे ।    

 ‘यो घटना कसरी घट्यो ।’ प्रहरी चौकीका प्रमुखले सोधे ।

 ‘उनी पाँच वर्षपछि पहिलोपटक गाउँ फर्केर आएका थिए । त्यो पनि चुनावमा भोट माग्न । पहिले पनि चुनावमा भोट मागेका थिए । मैले भोट दिएँ । उनले चुनाव जिते । आश्वासन दिएर गएपछि उनको पाँच वर्षसम्म नाक–मुख देख्न पाइएन ।’ उसले भन्यो ।

‘त्यसपछि के भयो ?’ प्रहरी प्रमुखले सोधे ।

पिटाइबाट नाथ्री फुटेर रगत बगिरहेको थियो । कमिजको बाहुलाले उसले रगत पुछ्यो । अनि गम्भीर भयो । एकछिनपछि बोल्न थाल्यो । 

‘यस पटक पनि केही कार्यकर्ता लिएर उनी फेरि भोट माग्न आए । भोट मात्र होइन तपाईहरूसँग जेजे छ सहयोग गर्नुहोस् भने । पार्टीका  उनका कार्यकता, व्यापारी, तस्कर, गुण्डा, शिक्षक, कर्मचारीहरूले नगद र जिन्सी दिएर उनलाई सहयोग गरेका   थिए । खानलाई अन्नको गेडा समेत नभएको म तन्नम गरीव । मेरो सिरीखुरी निजी सम्पत्तिको नाममा थुक मात्र थियो । त्यही उनलाई दिएँ । त्यसपछि मलाई मरासन्न हुने गरी पिटियो हजुर ।’ उसले रुँदै भन्यो ।

उसको कुरा सुनेर त्यहाँ उपस्थित सबैका ओठ–मुख सुके ।

 

 २)नक्कली नक्कलपुर 

 

राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । 

नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

त्यहाँको दृश्य देखेर उ आश्चर्यचकित भयो । त्यस राज्यको सत्तामा रहेका सरकारको राष्ट्रियता र तिनको देशभक्ति नक्कली देख्यो । त्यस राज्यको संविधान र शासन व्यवस्था नक्कली पायो । त्यहाँ नक्कली कुरा गर्नेहरू नै शासन सत्तामा थिए । उदेकलाग्दो कुरा त्यहाँका मानिसको एक आपसको प्रेम र सम्बन्ध सबै नक्कली थिए । दिने र लिने दुवैले त्यसलाई सहज रूपमा ग्रहण गरिरहेका थिए ।

छोटो समयमा उसले धेरै कुरा हेरिसकेको थियो । घर जाने बेलामा नक्कलपुरको सम्झनास्वरूप केही चिनो लिने विचारले एउटा सुभनियर पसलभित्र गयो । ‘नक्कलपुर राज्यको सक्कली नक्सा’ लेखिएको एउटा चुच्चे नक्सा उठायो । र काउन्टरमा पैसा तिर्यो । तर, पसलेले बाँकी पैसा फिर्ता दिँदा नक्कली पैसा दियो ।

 ‘सक्कली पैसा तिर्दा नक्कली पैसा फिर्ता दिने ?’ उसले झोंक्किदै भन्यो । 

 ‘यो मान्छेलाई ठीक लगाउन प्रहरी बोलाउ त !’ पसलेले कसैलाई अह«ायो ।

पसलेले धम्की मात्र के दिएको थियो, दुई जना पुलिस उसको सामुन्ने आइपुगे ।

उसले कल्पनै गरेको थिएन यस्तो घटना होला भनेर । तैपनि मन दरो बनायो । उसले मनमनै तर्क गर्यो, तुरुन्त आउने प्रहरी सक्कली हुनै सक्दैन ।

 तर उसले नसोचेकै कुरा भयो । प्रहरीले उसलाई सिधै जेलभित्र हुल्यो ।

       जेलभित्र पुगे पनि ऊ अझै आशावादी देखिन्थ्यो । उसको मनमा एउटा कुरा आयो, सबै कुरा नक्कली भएको राज्यमा जेलचाहिँ सक्कली हुनै सक्दैन । उसले जेलबाट भाग्ने प्रयास गर्न थाल्यो । तर उसले सोचेभन्दा ठीक उल्टो भयो । उ त्यहाँबाट निस्कनै सकेन । अनेक बल गदै थियो सपनाबाट झल्याँस्स ब्युँझियो । आत्तिदै टेवल ल्याम्प बाल्यो । चारैतिर हेरयो । भित्तामा टाँसिएको आफ्नै देशको नयाँ नक्सामा आँखा ठोकिए । त्यो नक्सा सपनामा किनेको चुच्चे नक्सासँग ठ्याक्कै मिल्दथ्यो ।

संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह

 

                       ३) अभियुक्त संघ

 

अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई  निर्दोष सावित गर्न उनका वकिल गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् ।  नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्तविरुद्ध उपलब्ध प्रमाणले गर्दा  बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका   थिए ।

दुवै तर्फको बहस सकिएपछि आफ्नो निर्णय सुनाउनुअघि न्यायाधिशले अभियुक्तलाई आफ्नो तर्फबाट केही भन्नु छ कि भनेर सोधे ।

‘छ श्रीमान् ।’ अभियुक्त बोल्यो ।

               ‘आफ्ना कुरा राख्न अनुमति छ ।’ न्यायाधिशले भनेँ ।

‘मलाई जे जस्तो आरोप लगाए पनि म लगायत ‘अभियुक्त संघ’ ती सबै आरोपको खण्डन गर्दछ । मलाई जसरी पनि संघले न्याय दिलाउने छ । म अभियुक्त संघको केन्द्रीय सदस्य हुँ ।’ अभियुक्तले नजानिदो तरीकाले धम्कीको भाषा बोल्यो ।

‘अभियुक्त संघ ? कहिलै नसुनेको यो कस्तो सस्था हो ? कहाँ छ यो संस्था ? कोको छन् यसका पदाधिकारी ?’ न्यायाधिशले प्रश्न सोधे ।

‘यो भूमिगत संघ हो । यसका बारेमा सबै कुरा खोल्न मिल्दैन । हाम्रो संघको खुला मोर्चा भनेको सत्ताधारी राजनीतिक पार्टी हो ।’ अभियुक्त ठाँटसँग बोल्यो ।

 ‘अभियुक्त सत्ताधारी राजनीतिक पार्टीको सदस्य ?’ त्यो सम्झनासाथ न्यायाधिशको सातो गयो ।

अभियुक्तलाई जेल लैजान तयारी अवस्थामा राखिएको गाडी फिर्ता भयो । अभियुक्त फूलमाला र अबिरले पुरियो । उसको नाममा जिन्दावादको नारा गुञ्जिदै थियो पजेरोमा चढेर हुँइकियो हाल्यो । 

 

४) महँगीको हत्या

महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन ।

महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा विचित्रको दृश्य देखिन थाल्यो ।

‘महँगीको हत्यारालाई कार्यबाही हुने छ ।’ शान्तिसुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले आश्वासन दिए ।

‘हत्यारालाई पक्राउ गरिने छ ।’ प्रहरीले आफ्नो कर्तव्य सुनाए ।

‘हत्यारालाई कारावासको सजाय सुनाइने छ ।’ न्यायाधीशले कानुनको भाषा बोले।

‘हत्या त गरिहाल्नु नहुने हो ।’ राजनैतिक पार्टीका नेताहरूले सहानुभूति देखाए।

 ‘हत्या– हिंसा सहँदैनौं ।’ व्यापारीहरू आक्रोशित भए।

उसले महँगीलाई रातोदिन सराप्दथ्यो । गरीबको शत्रु गरीबमारा महँगीलाई भेटे भने काट्छु र मार्छु भनिरहन्थ्यो । टिभीका विभिन्न च्यानलमा आइरहेका हत्यासम्बन्धी समाचार हेर्दाहेर्दै ऊ खूब आत्तियो । कतै महँगीको हत्याको आरोपमा पक्राउ परिने त होइन भन्ने डरले भाग्ने विचार ग¥यो । दौडेको मात्र के थियो ड्याङ्ङ लड्यो । जुरुक्क उठेर चारैतिर हेर्दा त आफ्नै पलङबाट भुइँमा पछारिएको पायो । खराब सपनाका कारण उसको मुटुको धड्कन एकदम बढिरहेको थियो।

अचानक कसैले ढोका ढकढकायो । ढोका खोलेर हेर्दा महँगीको एउटा रूप घरबेटी सामुन्ने थियो ।

‘छ महिनादेखिको कोठाभाडा तिर्ने कि प्रहरी बोलाऊँ रु’ घरबेटी कड्कियो।

 ‘प्रहरी’ शब्द सुन्नेबित्तिकै तन्द्रामा रहेको उसले आत्तिदै भन्यो, ‘मैले कसैको हत्या गरेकै छैन ।’

‘हत्या’ शब्द सुन्नासाथ घरबेटीले सुइँकुच्चा ठोक्यो ।

 

                       ५) ई–भिक्षा

           

करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो ।

उसले मन्दिर दर्शन गरेपछि बाहिर निस्कियो । वरपर कुनै माग्ने नदेखेर अचम्म मान्यो । के माग्नेहरूलाई प्रहरीले पक्रेर थुन्यो ? कि गणतन्त्र आएपछि नेता र मन्त्रीहरूजस्तै माग्नेहरू पनि धनी भए ? उसका मनमा यस्तै तर्कहरू उठ्दै थिए ।

अचानक कसैले नमस्कार गर्दै उसलाई रोक्यो । र एउटा भिजिटिङ कार्ड थमायो । कार्डलाई ओल्टाईपल्टाई गरेर हे¥यो । के हो भनेर अनुमान गर्न सकेन ।

 ‘यो के कार्ड हो भाइ ?’ एनआरएनले सोध्यो ।

 ‘म माग्नेहरूको राष्ट्रिय सङ्गठनको केन्द्रीय सदस्य हुँ । अलिकति भिक्षादान गरिदिनू न हजुर ।’ उसले भन्यो ।

एनआरएनले त्यसलाई तलदेखि माथिसम्म हेरयो । महँगो कपडा लगाएको कुनै धनी बाउको छोराजस्तो युवालाई माग्ने भनेर पत्याउनै सकेन ।

 ‘दुःखी, गरीब र असहायले मागेको त ठिकै हुन्छ । भाइजस्तो स्वस्थ र बलियो युवाले मागेको सुहाएन ।’ एनआरएनले भन्यो ।

‘म पनि गरिब र असहाय नै हुँ । झुत्रेझामे्र भएर माग्न थाल्यो भने प्रहरीले चिनिहाल्छ । त्यसैले हाम्रो सङ्गठनले तोकेको पोसाक लगाएको हुँ । रंगे हात पक्राउ पर्ने डरले हामीले माग्ने तरीका परिवर्तन गरेका छौँ । सोही कारण हामी नगद भिक्षा पनि लिँदैनौँ । ई–भिक्षा मात्र लिन्छौँ । हाम्रो बैङ्क अकाउन्टमा भिक्षारूपी अलिकति पैसा ट्रान्फर गरिदिनुभयो भने ईश्वरले तपाईंको कल्याण गर्ने छन् हजुर ।’ त्यस युवाले भन्यो ।

‘पहिलेका मानिसजस्तो इमानदारिता हिजोआज कोहीसँग भएन । अहिले त मन्त्री, नेता, समाजसेवी, धर्मगुरु, कर्मचारी, व्यापारीदेखि माग्नेहरूसमेत ठग भएछन् । सरकारी कर्मचारीले मलाई एयरपोर्टमा ठगे, ट्याक्सी, होटल र बजारमा पनि ठगिएँ । हुँदा– हुँदा माग्नेले पनि मलाई ठग्न खोज्ने ? तँलाईं इऽऽऽ..भिक्षा !’ एनआएरएनले त्यसलाई  लोपारयो ।

(‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह(२०७७)बाट)

प्रकाशित: २३ पुस २०७७ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App