गङ्गा आचार्य सापकोटा
सधैंभरि सिंह नै राजा हुनुपर्छ भन्ने छ र। हामीले पनि त्यो अवसर पाउनुपर्छ । जंगलका केही चलाख हौँ भन्ने जनावरले आवाज उठाए । अन्य जनावरलाई पनि अनेकौं प्रलोभन देखाएर आफूसँगै समेटे।
सिंहले राज आसन जोगाउन सकेसम्म प्रयत्न गरेकै हो। तर, सबै एकजुट भएपछि उसको केही उपाय लागेन । बाध्य भएर छोड्यो।
जंगलका सबै जनावरले जीतको खुसियाली मनाए। अन्याय, अत्याचार र अभावबाट मुक्ति मिल्ने, स्वतन्त्र भई बाँच्ने आशा जगाए । आफूमध्येबाट चुनिएर पालैपालो राज आसनमा जान थाले। आसनमा जानुपूर्व सबैले जंगलमा सुशासनका कदम चाल्ने प्रतिज्ञा गर्थे ।
तर , अचम्म राज आसनमा पुग्नेबित्तिकै सबै लठ्ठिन्थे। शक्तिका गीत बर्बराउँदै ताण्डव नृत्य गर्थेँ। सुर हराएझैँ जति पाए पनि खान्थे। जे मन लाग्यो त्यही गर्थे, बोल्थे। अरू जनावरलाई भुसुना सरह थिचोमिचो पार्न खोज्थे।
यो क्रियाकलापले जंगलमा अशान्ति बढेको र आफू असुरक्षित भएको महसुस गरेका केही जनावरले खासखुस गर्न थाले– राजा त सिंह नै ठिक रहेछ कि क्या हो ।
प्रकाशित: २२ पुस २०७७ १०:४८ बुधबार