कला

इस्लाम धर्म र हजरत मुहम्मद

आलेख

शीतल गिरी

 

इस्लाम धर्म पुरानो मूर्तिपूजक धर्मबाट आज यस रूपमा आएको धर्म हो । हजरत मुहम्मदभन्दा पहिले यो धर्म अरबको लडाकु कबिला जातिको बीचमा मात्र मान्यता प्राप्त थियो। तर, आजको रूपमा होइन । त्यतिखेर मक्का अरबजातिको महान तीर्थस्थल थियो, जहाँ वर्षमा एकचोटि ‘रमजान’ महिनामा हतियारलाई घरमै राखी लडाकु अरबजाति रोजा (उपवास) रहन्थे र श्रद्धापूर्वक तीर्थ गर्न आउँदथे । सो ‘रमजान’ महिनाभरि त्यहाँ व्यापारिक मेला लाग्दथ्यो । त्यतिखेरका अरब जाति मूर्तिपूजक थिए । मुसलमानहरूले शताब्दीयौंदेखि आनन्दपूर्वक मनाउँदै आएको ठूलो चाडको नाम हो ‘ईद’ ।  

‘ईद’ शब्दको अर्थ हुन्छ— वर्तमान स्थिति परिवर्तन । मुसलमानहरू चन्द्र मासलाई मान्दछन् । यिनीहरूको बार महिनामध्ये सबभन्दा पवित्र महिनाको नाम हो ‘रमजान’ । यस महिनामा मुसलमानहरू रोजा रहन्छन् अर्थात् दिनभरि उपवास रहन्छन् । मुसलमानहरूको पवित्र पुस्तक कुरानमा लेखिए अनुसार— ईश्वर एक मात्र छ । ऊ केही मानेमा साकारजस्तो छ र उसको बासस्थान यो संसारभन्दा टाढा रहेको छैठौं आकाशभन्दा परको सातौं आकाशमा छ । उसले संसारलाई ‘कुन’ (हो) भनेर अभावबाट बनाउँछ । प्राणीहरूमा आगोबाट बनेको फरिश्ता (देवता) र माटोले बनेको मानिस पवित्र हुन् । केही फरिश्ताले बाटो बिराएर सधैंका लागि अल्लाहको शत्रु बनेका छन्, र तिनीहरूले मनुष्यलाई पथभ्रष्ट पार्ने कोसिस गर्छन्, यिनीहरूलाई नै शैतान भनिन्छ । यिनीहरूको सरदार (नाइके) इब्लीस हो, फरिश्ता हुँदा उसको नाम अजाजील थियो । मनुष्यले एक पटक मात्र संसारमा जन्मलिन्छ । र ईश्वर–वचन (कुरान) मा उल्लेख भएअनुसारको पुण्य र पाप कर्म गर्नाले अनन्तकालको लागि स्वर्ग या नर्कमा पुग्दछ ।

स्वर्गमा सुन्दर प्रासाद (महल), अंगुरको बाग (बगैचा), शहद–शराबको खोला, एकसे एक सुन्दरी अप्सराहरू (हुर) तथा धेरै तरुण दास (गिल्मन) हुन्छन् । दया, सत्य भाषण, चोरी नगर्नु आदि सबै धर्म हो । साधारण राम्रा कामबाहेक मुख्य चारवटा धार्मिक काम पूरा गर्नुपर्छ । (१) नमाज (प्रार्थना), (२) रोजा (दिनभरि उपवास), (३) जकात (आफ्नो आयको चालिसौं हिस्सा अनिवार्य रूपले दान) र (४) हज (इस्लाम धर्मको संस्थापक हजरत मुहम्मदको जन्मभूमि मक्कामा रहेको कावा दर्शन) । पाप–कर्ममा थुप्रै देवताहरू र तिनीहरूको मूर्ति पूजा, रक्सी (शराब) सेवन, हराम गोश्त (सुंगुर तथा कलमा नपढी मारेको जनावरको मासु) खानु आदि हो । रमजानको महिनामा तीस दिनसम्म उपवास बस्छन् र त्यसको भोलिपल्ट यानी अर्को महिना ‘शब्वाल’ को पहिलो तारीखको दिन ‘ईद’ को तिहार मनाउँछन् । यसलाई ईद–उल–फित्र पनि भनिन्छ ।

इस्लाम धर्मावलम्बीहरू ईदको दिन दिउँसो गाउँ बाहिर बनेको ईदगाहमा जान्छन् । जहाँ ईदगाह हुँदैन त्यसको ठाउँमा मस्जिदमा पनि नमाज पढ्ने गर्छन् । नमाजपछि इमाम (धर्मोपदेशक) ले खुतवा (उपदेश) पढ्छ, जसमा ऊ मुसलमानहरूलाई ‘फित्रा’ (स्वेच्छादान या खैरात) को महत्व सम्झाउँछ । लडाकु वर्वर अरबजाति परम्परागत रुपमा मूर्तिपूजा गर्ने धर्मलाई मान्दथे । परम्परागत रुपमा इस्लाम (शान्ति) लाई धर्मको रूपमा स्थान दिई मनाउँदै आएको पर्व ‘वकरीद’ बाट पुष्टि पाइन्छ । हो, यो कुरा सत्य हो कि त्यतिखेर यो धर्म आजको रूपमा थिएन ।

उनीहरू मूर्ति पूजा गर्दथे र त्यतिखेर पनि अरबजातिको पवित्र स्थान मक्काको कावा मन्दिर नै थियो । बकरीद मुसलमानहरूको एउटा ठूलो पवित्र पर्व हो । यसलाई ईद–उल–जुहा पनि भनिन्छ । यो पर्व एउटा पौराणिक कथामा आधारित छ । पौराणिक कथाका नायक महात्मा इव्राहीमका दुइटा छोरा थिए र उनी आफ्नो कान्छा छोरा इस्माइललाई धेरै माया गर्दथे । उनको व्यक्तित्वदेखि ईष्र्या गर्ने शैतानले विचार गरयो कि यो राम्रो मौका हात लागेको छ र इव्राहीमको बारेमा चुग्ली लगाएर दण्ड दिलाउन परमात्मालाई शैतानले भन्यो— “हेर्नुस् त आफ्नो भक्तको चर्तिकला । तपाई ठान्नुहुन्छ कि इव्राहीमले सबभन्दा बढी तपाईलाई माया गर्छ । तर, तपाईलाई भन्दा बढी माया त उसले आफ्नो छोरालाई गर्छ ।” त्यही रात अल्लाह (भगवान) ले इव्राहिमलाई सपनामा भने— “तिमी कुर्वानी देऊ ।” 

भक्त इव्राहिमले पशुको कुर्वानी दियो। तर, सपनामा त्यही अल्लाहले पुनः कुर्वानी माग्यो । तर इव्राहीमले बडो विनम्रतासाथ सपनामा भगवानसँग भन्यो— “या अल्लाह, तपाई मबाट केको कुर्वानी चाहनुहुन्छ ?”ईश्वरले भने— “तिम्रो प्यारो छोराको ।”

अल्लाहको इच्छा सुनेर इव्राहीमलाई अलिकति पनि दुःख लागेन । उनले आफ्नो जीवन प्रभुलाई सुम्पिसकेको थियो । प्रभु (अल्लाह) को आदेश पालन गर्न  आफ्नो प्यारो छोरा इस्माइललाई कुर्वानी गर्ने स्थल (बलिगृह) मा लगे । बाटोमा शैतानले इस्माइल र उनका आमालाई डर देखाएर तर्साउन खोज्यो । इस्माइलले आफ्नो बुबालाई भने— “बुवा तपाई मेरो हात खुट्टा बाँधिदिनोस् । तपाई लुगाले मेरो जीउ छोपिदिनोस् । यस्तो नहोस् कि छोरा प्रतिको तपाईको ममताले तपाईलाई मार्गबाट विचलित पारिदेओस् ।”

इव्राहीमले आफ्नो हृदयमा ढुंगा राखेर, आँसुको नदीलाई आँखा भित्रै थुनेर, आफ्नो प्यारो छोराको घाँटी छुराले रेटिदिए । भगवानले महात्मा इव्राहीमको आफूप्रति महान भक्ति देखेर भने— “तिमी परीक्षामा सफभ भयौं। तिम्रो छोरा तिमीले पाउने छौं। म तिम्रो छोरा इस्माइलको सट्टामा एउटा दुम्वा (त्यो भेडा जसको पुच्छर मासुले भरिएको हुन्छ) को कुर्वानी स्वीकार गर्छु ।”

यसै पौराणिक कथाको आधारमा जिल्हिज्जा महिनाको दश तारीखको दिन यो पर्व मनाइन्छ । इव्राहीमको भगवान (अल्लाह) प्रति समर्पित महिमा दर्शाउन इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मदले यस परम्परालाई अगाडि बढाए । कुर्वानीको यो पर्व १० जिल्हिज्जादेखि सुरु हुन्छ र तीन दिनसम्म यो पर्व मनाइन्छ ।

इस्लाम धर्मका संस्थापक हजरत मुहम्मदको जन्मभूमि मक्कामा हज गर्ने सबै हाजीले कुर्वानीको रस्म (चलन) मक्कामा कावा मस्जिदमा पूरा गर्नुपर्छ । सो दिन १० बजेभन्दा अगाडि यानी बिहान ईदगाहमा मानिसजम्मा हुन्छन् र ईदमा जस्तै नमाज पढ्छन् । तीन पटक ‘अल्लाह हो अकवर’ (ईश्वर सबभन्दा ठूला छन्) भन्दछन् । अनि इमाम (उपदेशक) ले खुतवा (अभिभाषण) को क्रममा इव्राहीम र इस्माइलको करुण कथाको वर्णन गर्छ । यो पनि बताउँछ कि कस्ता पशुको कसरी कुर्वानी गर्नुपर्छ । कानो, अन्धो, रोगी पशुको कुर्वानी (बलिदान) गर्नु हुन्न । नमाज र खुतवा पछि सबैले आआफ्नो घरमा कुर्वानीको रस्म (चलन) पूरा गर्छन् ।

कुर्वानीको मासु तीन भागमा बाँडिन्छ— पहिलो भाग कुर्वानी गर्ने मानिसले लिन्छ, दोस्रो भाग नातेदार र छिमेकीहरूमा दिन्छ र तेस्रो भाग गरीब तथा भिखारीहरूमा बाँडदछ । छाला बेचेर प्राप्त भएको रकम (आमदानी) यतीमखाना (असहायहरूलाई संरक्षण गर्ने स्थान) मा जम्मा गराउँदछन् । छैठौं शताब्दीको अरब पनि अहिलेको जस्तो नै ससानो स्वतन्त्र कविलाहरूमा बाँडिएको थियो । त्यसबेला भेडा, ऊँट पाल्नु र एक अर्कालाई लुट्नु अरबी कविलाहरूको जीविकाको ‘वैध’ साधन थियो । पैगम्वर मुहम्मदको समय अरबको केही भाग तथा लाल सागरको पल्लोपट्टि अविसिनियाको ईसाई राज्य थियो । त्यसदेखि उता मिश्र रोमनको हातमा थियो । उत्तरमा सिरिया (दमिश्क) आदि रोमन कैसर (राजधानी विजन्तियुम कुस्तुन्तुनिया, वर्तमान ईस्ताम्वुल) को शासनमा थियो । पूर्वमा मेसोपोटामिया (इराक) र त्यो देखि उता इरानमा सासानी (पारसी) शाहंशाह शासन गरिरहेका थिए ।

अरब बद्दू (खानावदोश) कबिलाहरूको रेगिस्तानी इलाका थियो । त्यसको पश्चिमी भागमा मक्का (वक्का) र यस्रिव (मदीना) शहर वाणिज्य मार्गमा हुनाले खास महत्व राख्दथे । तर, मक्का वाणिज्य मार्गमा पर्नुको साथै सम्पूर्ण अरब जातिको महान तीर्थस्थाल थियो, जहाँ वर्षमा एकपटक एक महिनासम्म ‘रमजान’ महिनामा मेला लाग्दथ्यो । अरबीहरूको सर्वश्रेष्ठ तीर्थ हुनुको कारण मक्काको कावा मन्दिरका पुजारीहरूलाई त्यसबाट प्रशस्त आमदानी मात्र होइन, बरु तिनीहरूको कुल र संस्कृतिमा अरबीहरूमा उच्च स्थान प्राप्त रहेको थियो । पैगम्बर मुहम्मदको जन्म ५७० इ. मा मक्काको एक पुजारी वंश कुरैशमा भयो । यिनी बालकै हुँदा पिताविहीन हुनु परेकाले, यिनको पालनपोषण बाजे र काकाले गरे ।  

मक्काको पुजारी पूजाआजाबाहेक व्यापार पनि गर्दथ्यो । एकपटक हजरतका काका अवुतालिब व्यापारका लागि शाम (अहिलेको थाइलैण्ड) तिर जान लागेका थिए। त्यसबेला बालक मुहम्मदले ऊँटको लगाम (नेकल) समातेर साथै जान यति जिद्धी गरयो कि काका अबुतालिबले सँगै नलगी सुखै पाएनन् । यसप्रकार होस सम्हाल्नुभन्दा अघि नै इस्लामका भावी पैगम्बरले वरिपरिका देशहरू, त्यहाँको उर्वर र मरुभूमिहरू, त्यहाँको भिन्नभिन्न धार्मिक रीतिरिवाजहरूलाई देखेका थिए । मुहम्मद व्यापार गर्दागर्दै जवान भए र व्यापारमा निपुणता प्राप्त गरे, यो कुरा थाहा पाएर उनकी भावी पत्नी तथा मक्काको एकमात्र धनाढ््य विधवा खदिजाले उनलाई आफ्नो व्यापारिक लस्कर (कारवाँ) को प्रमुख बनाएर पठाइन् । तरुण मुहम्मदमा बहुमुखी प्रतिभा थियो। यसमा शंका छैन र बहुमुखी प्रतिभाका धनी मुहम्मदले कितावी ज्ञानभन्दा धेरै देश देशान्तरको यात्रा, विभिन्न किसिमका मानिसहरूको संसर्गबाट फाइदा उठाए । पैगम्बर मुहम्मदको आफ्नो वंशको धर्म अरबको तत्कालीन मुर्तिपूजा थियो र कावाको मन्दिरमा ३६० देवताको साथै कुनै टुक्रिएको ताराको भग्न–भाग एउटा कालो पत्थर (हस्र अबवद) पनि थियो— लाई पूजा गर्दथे ।

तर, मुहम्मद ती मानिसहरूमध्ये थिए, जो परम्पराको रूपमा मान्दै आएको रुढिवादलाई जाँचपडतालविना मान्न तयार हुँदैनथे । साथै आफ्नो व्यापारिक यात्राहरूमा उनी यस्ता धर्मालम्बीहरूसँग भेटिसकेका थिए, जसको धर्म अरबजातिको पूर्ति पूजाको अपेक्षा धेरै उन्नत अवस्थामा थियो । खास गरेर इसाई, जोगीहरू र उनीहरूको मठको शान्ति तथा बौद्धिक वातावरण र यहुदीहरूको मूर्तिरहित एक ईश्वर भक्ति उनलाई धेरै मन परयो । यो कुरा यसबाट प्रमाणित हुन्छ कि कुरानमा यहुदी पैगम्बर र ईसालाई पनि भगवानको तर्फबाट पठाएको (दूत) र तिनका तौरात (पुरानो बाइवल) र इंजील (नयां बाइवल) लाई ईश्वरीय पुस्तक मानिएको छ । ईसाको महिमा बीसौं ठाउँमा दोहोरयाइएको र बारम्बार यो कुरा सावित गर्ने प्रयास गरिएको छ कि ती पुस्तकमा एउटा पैगम्बर पृथ्वीमा पुनः आउने भविष्यवाणी छ, जो अरू कोही नभई यिनै मुहम्मद हुन् । त्यतिखेरका अरब भयंकर मुर्तिपूजक र धेरै देवतामा विश्वास गर्ने अवश्य थिए, तर यहुदी, ईसाई तथा अन्य धर्मानुयायीहरूको नजिजको सम्पर्कमा आउनाले यो कुरा पनि स्वीकार गर्दथे, कि यी सबै देवताहरूभन्दा माथि एउटा ईश्वर (अल्लाह) छ । मुहम्मदले व्यापारी जीवनमा देखेका थिए कि अरबी कबिलाहरूको इलाकाहरूमा पाइलै पिच्छे लुटमार तथा चुंगीकरको भरमारले गर्दा व्यापारीहरू हैरान थिए । यदि एउटा कविलाको इलाकाबाट जीउधन बचाएर उम्किन सफल भए पनि, अगाडि अर्को कविला चुंगीकर लिन या उपहार असुल गर्न तथा मौका पाउनेबित्तिकै छापा मार्न (लुट्नका लागि) जमजमाइरहेका देखापर्थे । तिनै व्यापारीहरू जब रोमको कैसर या इरानको शाहको राज्यमा प्रवेश गर्थे शान्तिको सास फेर्थे, किनभने त्यहाँ एकपटक केन्द्रिय सरकारद्वारा स्थापित चुंगी कर्मचारीहरूलाई महसुल तिर्ने वित्तिकै अन्त अरू कसैलाई चुंगी या कर तिर्नु पर्दैनथ्यो । यस प्रकारको अनुभव प्राप्त गरेका हजरत मुहम्मदले यदि सबै कविलालाई मिलाएर एउटा राज्य र छापामारी, लुटपाट एवं जंगली कानून ‘जसले हान्यो उसले हक पायो’ को ठाउँमा इस्लाम (शान्ति) को विधान चाहन्थे, यसमा कुनै आश्चर्य छैन । एउटा शासन र शान्ति (इस्लाम) स्थापनालाई आफ्नो लक्ष्य बनाउँदाबनाउँदै पनि मुहम्मद जस्तो मानव प्रकृतिका गम्भीर अनुभव राख्ने मानिस आँखा चिम्लेर सपना मात्र देख्ने हुन सक्दैनथ्यो । उनलाई राम्ररी थाहा थियो कि जुन शान्ति, व्यापार र धर्म प्रचारमा सशस्त्र बाधाहरूलाई रोक्न उनी चाहन्थे, त्यो अदृश्य ईश्वर, प्रार्थना तथा हतियारविहीन बन्दैमा प्राप्त गर्न सकिन्न । यसका लागि त एउटा उदेश्य लिएका मानिसहरूको सुगठित सशस्त्र गिरोहको आवश्यकता पर्छ, जुन आफ्नो दृढ संकल्प र सुव्यवस्थित शस्त्र बलद्वारा ईस्लाम (शान्ति) स्थापनामा बाधा दिन खोज्नेहरूलाई नष्ट अथवा पराजित गर्नमा सफल बनोस् । मुहम्मदले अरबको अध्ययन गरेको आधारमा स्पष्ट बुझेका थिए कि कबिलाहरूको एउटा विस्तृत राज्य बनाउनमा त्यस विस्तृत राज्यको आफ्नो  सीमा र शक्ति बढाउनको लागि कुन कुन कुराको आवश्यकता पर्छ ।  

पुरोहितरहेको मक्काको समाजमा तिनीहरूको धर्मको पैगम्बर बन्नु सजिलो थिएन । मुहम्मद अति आत्मसंयमी मानिस थिए, इसाई जोगीहरू जस्तै हेराको गुफाहरूमा उनी पनि कैयौं पटक एकान्तवास बसिसकेका थिए । अरबका सबै कविलाहरू पशुपालक, कृषि या व्यापारको साथै लुटको आमदानी (माले–गनीमत) लाई पनि बैध साधन मान्दथे । माले गनीमतलाई हेय दृष्ट्रिले हेर्नुको अर्थ हुन्थ्यो, अरबीहरूको पुरानो प्रथा उपर मात्र हैन, तिनीहरूको आर्थिक आयको बाटो भत्काउन खोज्नु— चाहे यस प्रकारको आयबाट बहुसंख्यक अरबी परिवारलाई लाभ नभएको होस्, तर चिठ्ठा पर्छ कि भन्ने आशालाई भने त्याग्न चाहँदैनथे । हजरत मुहम्मदले ‘माले–गनीमत’ नाम राखेता पनि अरब प्रायद्वीपमा भने उही पुरानो लुट्ने पेशाको रुपमै सम्झन थाले र अझ प्रष्टसँग भनौं भने माले–गनीमतलाई ‘अल्लाहको आदेश’ को अर्थमा लिए । यसको परिणाम यो भयो कि अरब बाहिर अन अरबी मानिस जहाँ लुटमार–छापामार गर्ने धर्मलाई हटाएर शान्ति (इस्लाम) स्थापना गर्न धेरै मात्रामा समर्थ भए, तर अरबी कविलाले भने १४ सय बर्ष पहिलेका पुराना प्रथालाई केही बर्ष अगाडिसम्म करीब करीब कायमै राखेका थिए । जे भएपनि माले गनीमतको नयाँ व्याख्या विजयबाट प्राप्त भएको आम्दानीमध्ये १÷५ भाग सरकारी खजाना (बैत–उल–माल) मा र बाँकी रहेका चाहिं योद्धाहरूको बीचमा बराबरीको हिसाबले बाँडनुपर्छ— विशाल राज्य स्थापना गर्न इच्छा भएको एक व्यवहार कुशल दूरदर्शी शासकको जिँउदो राखेर, पहिले अरबी रेगिस्थानको कठोर जीवन व्यतितगर्ने वुद्धू युवक र पछि प्रत्येक देशको इस्लाम (शान्ति) ल्याउन समाजमा प्रसारित गरे र श्रमजीवी मानिसहरूलाई इस्लामी सेनामा भर्ती हुने ठूलो आकर्षक देखायो र साथै बढ्दै गएको सरकारी खजानाले एउटा शक्तिशाली सङ्गठित शासनको जग हाल्यो । माले गनिमत भाग लगाउँदा समानता तथा अरबी कविलाहरूको बीच आपसी भाइचारा बराबरीको भावनाले ‘इस्लामी समानता’ को जुन नमूना मानिसको अगाडि देखाप¥यो, त्यो केही समयसम्म मात्र नभै केही शताब्दीसम्म एउटा ठूलो संगठन निर्माण गर्नमा सफल भयो । माले–गनीमतको यस व्याख्याले आर्थिक वितरणको एउटा नयाँ बलियो क्रान्तिकारी रुप दियो, जसले अल्लाहको स्वर्गीय इनाम तथा अनन्त जीवनको इच्छाबाट उत्पन्न हुने निर्भीकताले संसारमा यस्तो उलट पुलट ल्यायो, जसलाई हामी इस्लामको सजीब इतिहास भन्दछौं । यो सत्य हो, कि माले–गनिमतको यो व्याख्या कतिपय अर्थमा दारयोस (दारा), सिकन्दर, चन्द्रगुप्त मौर्यमात्रै हैन अन्य साधारण योद्धाहरूको बीचमा माले–गनीमत वितरण गर्दाखेरी समानतालाई ध्यान दिइदैनथ्यो, र सबभन्दा ठूलो कमी त यो थियो, कि विजित जातिको साधारण मानिसलाई यसमा समावेश गराइँदैनथ्यो । इस्लामले विजित जातिका अधिकांश धनी र प्रभु वर्गलाई जहाँ खतम ग¥यो त्यहीं अर्कोतिर आफ्नो शरणमा आउने खास गरेर पीडित वर्गलाई लाभको साझेदारी बनाउन ढोका उधारिदियो । इस्लामले जो सँग मुकाविला गर्नु थियो, त्यो सामन्त र पुरोहितहरूको शासन थियो । जुन सामन्तशाही शोषण र दासताका आर्थिक ढाँचालाई मौलिक रुपबाट परिवर्तन गर्न आफ्नो उदेश्यको घोषणा गरेन, तर त्यसको बदलामा अरबको अभ्यस्त कबीलामा रहेको भ्रातृत्व र समानतालाई भने अपनायो, जसले गर्दा मुठ्ठीभर शासक वर्गद्वारा पीडित साधारण जनताको बहुसंख्यक भागलाई आकर्षित र मुक्त गर्नमा सफलता प्राप्त ग¥यो । बास्तविकता त यो हो कि पिछडिएको सामाजिक ढाँचाबाट ‘माले–गनीतम’ लिइएको थियो, तर माले–गनीमतले प्रगतिशील भूमिका निभायो र दुर्गन्ध फैलाउने कैयौं सामन्त परिवार र उनीहरूको स्वार्थलाई खतम गरेर, प्रत्येक ठाउँमा नयाँ शक्तिलाई अगाडि बढ्ने मौका दियो । ती अगाडि बढेका शक्तिहरूले यही गतिलाई कायम राख्न सकेनन् ।

यहुदी र ईसाई धर्मका पुस्तकहरू पैगम्बरले अरबी कबीलाको दृष्टिले गम्भीरता पूर्वक अध्ययन गरेका थिए । र चालीस बर्षको उमेरमा राम्ररी सोच बिचार गरेर उनले आफूलाई अल्लाहले पठाएको ‘रसूल’ घोषित गरे । सबभन्दा पहिले उनकी पत्नी खदीजाले इस्लाम धर्म स्वीकार गरिन् । बिरोधीहरूले बिरोध गर्दै रहे, तापनि उनका अनुयायी जसमा उनी जस्तै मक्काको व्यापारी योद्धा नै धेरै थिए थपिदै गए । मक्काको पुजारी कुरेश— उनका ज्यानका शत्रुबने, तसर्थ उनले मक्का छोडेर संवत ६१४ इस्वींमा यस्रिवमा ‘हिज्रत’ (प्रवास) जानु प¥यो, यसैको सम्झनाको लागि मुसलमानहरूले हिज्री सम्बत शुरु गरे र मदीनत–उल–नवी (नवीको नगर) हुनुको कारण नै पछि गएर यस्र्रिवको नाम मदिना रहन गयो । मक्कासम्म पैगम्बर मुहम्मद (इस्लाम) एक धार्मिक सुधारक या प्रचारक थिए, तर मदीनामा उनी आफ्ना अनुयायीहरूका लागि आर्थिक विचारक, सामाजिक व्यवस्थापक तथा सैनिक नेता पनि बन्नु प¥यो, यसको परिणाम स्वरुप मुहम्मदको मृत्युको समय (६२२इ.) सम्ममा पश्चिमी अरबका कतिपय प्रमुख कविलाहरूले इस्लाम स्वीकार मात्र गरेको थिएन, बरु तिनीहरूले आफ्नो निरंकुशता कायमगर्दै एउटा संगठनमा संगठित भएर सम्पूर्ण अरब भाषा भाषीहरूमा पनि इस्लाम प्रति आकर्षित हुने आकांक्षा जगाइदिए ।  

हजरत मुहम्मद स्वयं राजतन्त्रका विरोधी थिएनन्। यसकारण उनले पहिले आफ्ना छिमेकी राजाहरू इरानको जर्तुरतीशाह र रोमको इसाई कैसरलाई इस्लाम ग्रहण गर्ने निम्ता दिए, जुन उनीहरूको राज्यमा हस्तक्षेप नगर्ने विचार गरेर नै निम्ता पठाएका थिए । तर, मुहम्मदले अरब र इस्लामी संसारको अगाडि जुन राजनीतिक ढाँचाको कल्पना गरेका थिए। त्यसमा निरंकुश राजतन्त्र त के, वास्तविक अर्थमा भन्ने हो भने राजतन्त्रको पनि स्थान थिएन र ससाना कविलाहरूको सट्टामा थुप्रै भू–भाग मिली बनेको विशाल एकीकृत कविला निर्माणको कल्पनाले काम गरिरहेको थियो— इस्लाम अरब र अरब बाहिर (अन–अरब) का देशहरूमा पैmलिएको, सबै अरबी तथा अन–अरबी मुसलमानहरू आफूलाई एउटा कबिला सम्झियून् । इस्लामीहरूका लागि पैगम्बर ईश्वरले पठाएको सर्दार हो, तर पैगम्बरको मृत्यु भएकोमा जसले विशाल ईस्लामी कविलाको विश्वास प्राप्त गर्न सक्छ, ऊ नै सरदार बन्नेछ । विश्वास प्राप्त गर्ने कसी के हो, यसको बारेमा पैगम्बरले कुनै स्पष्ट व्याख्या गरेनन् । पैगम्बरका मस्तिष्कमा आफ्नो उत्तराधिकारी शासक (खलीफा) का लागि, कविलाका सरदारजस्तै सादगीपूर्ण रूपले कबिलाको सम्पूर्ण जिम्मेवारी बहन गर्ने रूपको हुनुपथ्र्यो र कैशर तथा शाहंशाह जस्तो आफू कदापि निरंकुश बन्नु हुँदैन्थ्यो। तर, यो व्यवस्था एउटा सानो कबिलामा सफलतापूर्वक लागू भए पनि, अनेक प्रकारका भाषा, संस्कृति, देश मिलेर बनेको इस्लामी राज्य जो बनी उमैया (६६१–७५० इ.) को सिन्धदेखि स्पेनसम्म फैलिएकोमा चल्न सक्दैनथ्यो, र पैगम्बरको निस्वार्थ आदर्शवादी सरदारहरू अबूबकर (६२४–४२ इ.), उमर (६४२–४४ इ.), उस्मान (६४४–५६ इ.) तथा अली (६५६–६१ इ.) का उत्तराधिकारी शासन (खिलाफत) समाज विकास क्रममा एकदम व्यर्थ प्रमाणित भइसकेको थियो । पैगम्बर मरेको ३९ वर्षपछि अमीर म्वाविया (६६१–८० इ.) को हातमा शासनको बागडोर गयो र तबदेखि उसका सम्पूर्ण उत्तराधिकारीहरू चाहे त्यो उसको आफ्नो खानदान बनी उमैया (६६१–७४७ इ.) होस् या बनी अव्वास (७४९–१०३७ इ.) शाह र कैसरहरू जस्तै नै स्वेच्छाचारी शासक थिए । प्रत्येक ककिलाको बेग्लाबेग्लै इलाही (खुदाहरू या देवताहरू) लाई हटाउनु इस्लामका लागि आवश्यक थियो, किनभने— एक कविलाको इलाह (देवता) लाई अर्काले मान्दैनथ्यो ।

मुहम्मदले एउटा अल्लाह र नयाँ आर्थिक व्याख्या अपनाई गरिएको एकीकरण जहिलेसम्म अरब बीच मात्र रह्यो, तब एक भाषा, एक संस्कृति एक जातीयताको कारण कुनै ठूलो समस्या खडा भएन। तर, जब अन–अरबी जातिहरू इस्लामको धार्मिक र लौकिक राज्यमा मिसिन थाल्यो, तब एउटा अल्लाह तथा उसको रसूल (नियम) को भरमा मात्र काम चलाउन सकिदैनथ्यो र सकेन पनि । दुई सभ्यताका प्रतिनिधिहरू दुई जाति जब राजीखुसी या जबर्जस्ती मिसिन्छन्— तब दुवैको दोहोरो व्यवहार स्वाभाविक हुन्छ नै, तर जब एकले अर्कालाई खतम गरेर त्यसको ग्रहण गर्न चाहन्छ, तब असामान्य स्थिति देखापर्छ, किनभने राज्यमा शासनको अपेक्षा संस्कृतिको जरो धेरै गहिरो हुन्छ । यही सांस्कृतिक झगडाले पछि गएर अरबहरूको इस्लामी शासनलाई अन–अरबी शासनमा परिणत गरयो । तेस्रो खलीफा उस्मान (६४४–५६ इ.) ले सिरियाको विजयपछि उमैया वंशको सरदार म्वावियालाई दमिश्कको गभर्नर बनाएर पठायो । दमिश्क रोमन क्षेत्रपको राजधानी थियो र त्यहाँको राज–प्रबन्ध रोमन राज व्यवस्थाको अनुसार हुन्थ्यो । म्वावियाको अगाडि जटिल प्रश्न आयो, नयाँ देशको शासन कुन किसिमबाट चलाउने ? यसका लागि दुईवटा बाटा थिए— (१) अरबमा जस्तै अरबी कविलाहरूको राज्य व्यवस्था लागु गर्ने या (२) रोमन सामन्त शाही व्यवस्था नै अपनाउने । यस प्रश्नको समाधान तरबारले गर्न सक्दैनथ्यो । किनभने शासन परिवर्तन हुनुको अर्थ सामाजिक कानून तथा स्वरूपलाई बदल्नु होइन । सामन्त शाही व्यवस्था समाज विकासक्रमअनुसार कवीला शाहीमा समाजलाई लग्नु मानव समाजका प्रगतिलाई पछिल्तिर धकेल्नु हो । म्वाबियाको व्यवहार कुशल बुद्धिले राम्ररी सोचविचार गरेर ‘दमिश्कमा अरबी कानूनलाई जबर्जस्ती लागु गर्नुको अर्थ सिरियालाई बद्दू तथा अर्ध बद्दू कबिलामा बदल्न खोज्नु हो’ भन्ने कुरा उसको दूर दृष्टि बुद्धिले सोचविचार गरेको हुँदा नै रोमन सामन्ती ढाँचामा शासन गर्न थाल्यो र धेरैभन्दा धेरै मानिसलाई इस्लाम धर्म कबूल गर्न लगाएर इस्लामलाई बलियो बनाउन म्वावियाले रोम राज्यप्रणालीलाई स्वीकारयो । इस्लामलाई जो अरबी सभ्यताको अभिन्न अङ्ग सम्झिन्थे, तिनलाई यो मन परेन ।

जसले पैगम्बरको सादा जीवन देखेको थियो, जसले कविलाको विलासशून्य, भ्रातृत्वपूर्ण समानताको जीवन देखेका थिए, उनीहरूलाई म्वावियाको व्यवहार मन नपर्नु स्वाभाविकै हो । खजुरको बोट तल च्यादर ओढेर सुत्ने अथवा दासलाई ऊँटमा चढाएर लगाम आफूले हातमा समाएर यरुसिलममा पैदल हिँड्ने उमर अहिलेसम्म पनि खलीफा रहेकै भए । सायद म्वावियाले यस्तो गर्न सक्तैनथ्यो, तर समय बदलिसकेथ्यो । पैगम्बरका छोरीजुवाइँ र परम विश्वासी अनुयायी अलीलाई जहिलेदेखि थाहा भयो । त्यहीबेलादेखि उनले यसको कडा भत्र्सना गर्न थाले। म्वावियाको यो कदम इस्लाम उपर ठूलो प्रहार सम्झी यसको विरुद्ध आवाज उठाए । अलीको मत थियो कि हाम्रो सल्तनत चाहे रोममा होस् या इरानमा, त्यो अरबी कबीलाको सादगी–समानता सहित हुनुपर्छ । अलीको आवाज अरण्य रोदन थियो । सफल शासक म्वावियाको विरुद्ध खलीफा उस्मान रिसाउनु पर्ने कुनै आवश्यकता थिएन ।

म्वाविया र अलीमा स्थायी वैमनस्य हुन गयो । तर, यो वैमनस्य दुई व्यक्ति बीचको मात्र वैमनस्य थिएन, बरु यसको पछाडि त विकासमा अगाडि बढेको र पछाडि रहेको दुई सामाजिक व्यवस्थाहरू सामन्त शाही र कबीला शाहीको अस्तित्वको प्रश्न थियो । अली (६५६–६१) पैगम्बरका आफ्नै काकाका छोरा तथा एक मात्र छोरी–ज्वाइ थिए । आफ्नो गुणको कारणले पनि उनी उनका स्नेहपात्र थिए । यसकारण केही मानिसको सोचाइ थियो कि पैगम्बरपछि खिलाफत (शासन) उनैले पाउनुपर्छ । तर, अर्को शक्तिशाली भएको हुँदा अबूबकर, उमर र उस्मान मरेपछि मात्रै अलीले खिलाफात पाए । दमिश्कको जबर्जस्त गवर्नर म्वावियासँग उनको मनमुटाव थियो नै, तर कबीलाको बनावटले गर्दा मदिनामा बसेको खलीफा अलीले म्वावीयालाई गर्भरनरीबाट हटाएर बनी उम्मैया खानदानलाई आफ्नो दुश्मन बनाएर गृहकलहमा इस्लामलाई होम्न चाहेन । अलीको शासन— म्वावियाको अर्ध–प्रकट षडयन्त्र तथा बाहिरी सभ्यताबाट इस्लाम प्रभावित हुने समय थियो ।

यद्यपि अलीले म्वावीयाको केही बिगार्न सकेनन् । तर, म्वावियालाई भने अली र उनका सन्तानको सबभन्दा ठूलो डर थियो । अलीको मृत्युपछि म्वाविया खिलाफत (शासन) को बागडोर आफ्नो हातमा लिन सफल भयो। तर, पैगम्बरकी एक मात्र छोरी फातमा तथा अलीका दुई छोरा हसन र हुसेन जीवित हुँदाहुँदै ऊ कहाँ आनन्दसँग निदाउन सक्थ्यो र ? यसै हुँदा म्वावियाले हसनलाई उसैकी स्वास्नीद्वारा विष खुवाउन लगाएर बाटाको काडा पन्छायो, हुसेनरूपी खतरा पन्छाउन म्वावियाको छोरा यजिदले षड्यन्त्र रच्यो । यजीदले हुसैनलाई समाचार पठाए— ‘यदि तपाई कूफा (वस्राको सुवेदार यजीदको त्यसबेलाको राजधानी) मा आउनुहुन्छ भने हामी तपाईलाई खलीफा मान्न तयार छौं ।’

यजीदले अधीनता स्वीकार्न र झगडा खतम पार्न निकै आग्रहपूर्वक कुफामा बोलाएको हुँदा विश्वासमा परी लामो यात्रा पार गरी हुसैन जब कुफामा पुगे त्यहाँ यजीदको अनुचरले उनीहरूलाई घेरे । हुसैनका साथमा जम्मा ६९ साथी मात्र थिए । यजीदका समर्थकहरूले घेरामा पारेका ती मानिसहरूलाई अनेक प्रकारले दुःख दिए।

कहिले पिउने पानीको मूल थुनिदिन्थे जसले गर्दा केटाकेटी र आइमाईहरू भोकप्यासले छटपटिन्थे । यति मात्र होइन कर्वलाको त्यस रेगिस्तानमा निर्दयतापूर्वक तडपाईतडपाई यजीदका सेनाध्यक्ष शिम्रले सपरिवार हुसैनलाई मारे । हुसैनको शहादत दर्दनाक छ । प्रत्येक सहृदयी मानिसको सहानुभूति हुसैन तथा उनका ६९ साथीप्रति हुनु आवश्यक छ । यजीदको सरकारी दबदबा हुँदा हुँदै पनि जब कर्वलाका शहीदहरूका सत्तरीवटा काटिएका टाउका कूफामा यजीदको अगाडि राखिए र निर्दयी यजीदले हुसैनको टाउकालाई लठ्ठीले हटाए तब एक जना वृद्ध व्यक्तिको मुखबाट एकाएक शब्द निक्ल्यो— “आहा बिस्तारै । यी पैगम्वरका नाति हुन् । अल्लाह कसम स्वयं हजरतले यही ओठलाई चुमेको मैले आफै देखेको छु ।”

कर्वलामा भएको शहादतको सम्झनाका लागि इस्लाम धर्म मान्नेहरूले मुहर्रमको पहिलो तारीखदेखि दश तारीख— दश दिनसम्म मातम (शोक) मनाउँछन् । यस अवसरमा सिपल (ढोल), डुलडुल (घोडा), पचम (पताका) र ताजिया निकाल्दछन् । यी सब त्यही भयानक युद्धका स्मारक हुन् । मुहर्रमको दश तारीखमा धेरै मुसलमानहरू रोजा रहन्छन् र अत्यन्त पीडित स्वरमा ‘या हुसैन, या हुसैन’ भन्ने गर्छन् । हुसैन एकदम थोरै मानिसका साथ कर्वलाको मैदानमा घेरिएका थिए र उनीसँग एकदम थोरै हतियार थियो, साथै खानपिनको राम्रो प्रबन्ध थिएन। त्यस्तो दयनीय अवस्थामा पनि यजीदको अधीनता स्वीकार नगरी अन्तसम्म लड्दै रहे । यसैकारण मुसलमानहरूले कर्वलाको शहीदहरूको सम्झनामा मोहर्रम दश तारीखलाई शोक पर्वको रूपमा मनाउँदै आएका छन् । मानवताको न्यायालयमा हामी यजीदलाई ठूलो अपराधी ठहराउन सक्छौं। तर प्रकृति यस्तो मानवताको पक्षपाती छैन, प्रकृतिको प्रत्येक अधिल्लो पाइलाले पछिल्लोलाई निषेध गरेर नै बढेको हुन्छ । अन्तमा अली, हुसैन या उसका अनुयायी समाज विकासलाई सामन्तशाहीभन्दा अगाडि होइन पछिल्तिर घचेटी कवीलाशाहीतिर पु¥याउँन चाहन्थे, यदि यसमा सफल भैदिएको भए इस्लामले त्यो कला, साहित्य र दर्शनको निर्माण गर्न सक्ने थिएन— जस्मा इस्लामको गर्व छ ।

सन्दर्भ सामग्री

(१) कुरान शरिफ (हिन्दी अनुवाद)

(२) राहुल सांस्कृत्यायन – “इसलाम धर्म की रूपरेखा”

(३) राहुल सांस्कृत्यायन – “दर्शन दिग्दर्शन”

प्रकाशित: २२ पुस २०७७ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App