कला

फ्लास ब्याकमा जिन्दगी’ शिक्षा, विसङ्गति र मनोविज्ञान

समालोचना

डा. दुर्गाप्रसाद दाहाल

 

विसं २०१५ मा ताप्लेजुङमा जन्मिएकी लक्ष्मी उप्रेती नेपाली बालसाहित्य, कविता सङ्ग्रह  र कथाका क्षेत्रमा सशक्त प्रतिभा हुन् । उनको  फ्लासब्याकमा जिन्दगी २०६९ मा प्रकाशित किशोर उपन्यास हो । यसले सर्वप्रथम गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको छ । यहाँ यस किशोर उपन्यासका शैक्षिक क्षेत्रका भाव, विसङ्गति, मनोविज्ञान, प्रेम, दर्शन, मित्रता, भौतिकवादी चिन्तन, परिवेश र भाषाशैलीका आधारमा संक्षेपमा प्रस्तुत गरिएको छ –

शैक्षिक क्षेत्रका भाव

शैक्षिक क्षेत्र यस्तो हुनुपर्छ भन्ने आदर्शको आवाज एकातिर छ । तर,  यथार्थमा शैक्षिक क्षेत्र कस्तो छ भन्ने अभिव्यक्ति यस उपन्यासमा पाइन्छ । यस उपन्यासमा अभिव्यक्त भएका शैक्षिक क्षेत्रका भावलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ – आजको युग विद्यार्थीमैत्री वातावरणमा शैक्षिक वातावरण अघि बढाउनु पर्छ भन्ने मान्यताले प्रश्रय पाएको युग हो तर विद्यालयमा प्रिन्सिपल विद्यार्थी मैत्री हुन नसकेको भाव यस उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ – झुमाले जवाफ दिन नभ्याउँदै प्रिन्सिपल सर र इन्द्रसर फुर्तीका साथ भित्र पस्न लागेको देखेर मुखामुख गर्दै  बूढो आयो बूढो आयो भन्दै साउती मारेर सबै चूपचाप भए । ( पृ.२१)

– विद्यालयमा विद्यार्थी र शिक्षक बीच आत्मीय र मैत्री वातावरणको अभाव छ । आज पनि सन्त्रस्त परिवेशमा सञ्चालन भइरहेका छन् भन्ने भाव उपन्यासमा यसरी अभिव्यक्त भएको छ – सरको आवाज सुन्नेबित्तिकै मुसाको चालमा विद्यार्थीहरू सरको छेउमा भेला भए । (पृ.२२)

–एसएलसीपछि विद्यार्थीहरूको अझ निश्चितता बढ्नुपर्ने हो। तर, नेपालको शैक्षिक अवस्था एसएलसीपछिको अनिश्चित रहेको भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ – एसएलसी सकेर यिनीहरू कहाँ जान्छन्, के पढ्छन् र कसरी आफ्नो भविष्यको बाटो तय गर्छन् भन्ने कुरा कसैलाई थाहा छैन । (पृ.१९)

– अभिभावक र शिक्षकले युग र किशोर मनोविज्ञान बुझ्न नसकेको भाव उपन्यासमा यसरी प्रस्तुत भएको छ –

लागुपदार्थ सेवन गरेर दुव्र्यसनी हुनु, यौन विकृत मानसिकतामा अग्रसर हुनु, लडाइँझगडामा फँसेर कतिकति युवाशक्तिहरू कुबाटामा लागेका छन् , घरपरिवार र देशकै समस्याका रूपमा रहेका छन् र असामाजिक भएका छन् । यो दोष युवायुवतीको मात्र होइन । कति अभिभावक र शिक्षकले उनीहरूको कुरा बुझ्ने कोसिस नगरी गाली गर्ने, हकार्ने गर्छन् । उनीहरूको अविवेकी व्यवहारका कारण र साथी सङ्गतबाट कोही र कोहीकोही भने आफ्नै स्वभावले गलत हुन सक्छन् । –पृ.७८)

– यस उपन्यासमा शैक्षिक क्षेत्रमा आजसम्म व्याप्त अन्धविश्वास र रुढिवादी भावको अभिव्यक्ति यसरी भएको पाइन्छ –आज सरस्वती पूजा, विद्यार्थीहरूको ठूलो उत्सव । ( पृ.२६)

जुनसुकै कार्यको थालनीमा शुभ लक्षणको मुहूर्त बनेर मुस्कुराउने शुभ साइतको बिम्ब सरस्वती मातालाई पुज्ने विशेष पर्व । (पृ.२६)

विसंगतिको भाव

आजभोलिका किशोरकिशोरीमा फेसनका रूपमा देखिने प्रेम, लागु पदार्थको सेवन, विलासिता, मनोरञ्जन र कर्तव्यको विस्मरणको  विसङ्गतिको भाव यस उपन्यासमा यसरी चित्रित भएको पाइन्छ – अचानक एक दिन आफैँसँग पढ्ने एउटा केटाले उसलाई आई लभ यु भन्यो । (पृ.३८)

– शैक्षिक क्षेत्रमा व्याप्त आजका विसङ्गतिको भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ – मेरो र सलिनीको लभ छ अरू साथीहरूबिच भए नभएको हल्ला फिजाउँदै गजक्क पर्न थाल्यो । (पृ. ३९), स्कुल छाडेर समूहमा हिँड्ने, हल्ला गर्ने, घरमा अबेला आउने उसको बानी भयो । उसले पानपराग, खैनी, चुरोट पनि सेवन गर्न थाल्यो ।  (पृ.५५)

– आधुनिक सुविधालाई सदुपयोग नगरी दुरुपयोग गर्नाले देखिने विसंगतिको अभिव्यक्ति यस उपन्यासमा यसरी प्रस्तुत भएको पाइन्छ –मोटरसाइकल, मोबाइल, इन्टरनेट, फेसन, भिडियो गेम, मनोरञ्जन र विलासिताका लागि रेस्टुरेन्टमा जानु धीरजको समूहका पैसावाल र व्यस्त बाबुआमाका छोराछोरीको दिनचर्या नै भयो । ब्वायफ्रेन्ड र गर्लफ्रेन्डका नाममा किशोर किशोर आकर्षित हुँदै गए ।... यिनीहरूका समूहमा कुलत, लागू पदार्थ, ग्याङ फाइट, हिंसा र आत्महत्या अनि यौनजन्य क्रियाकलापजस्तो विकृत मानसिकतामा प्रभावित भएर आपराधिक गतिविधि पनि सुरु भयो । (पृ.५७)

– छात्रावासका विद्यार्थीहरूलाई विद्यालय प्रशासनले उचित हेरचाह गर्न सकेन भने त्यहाँ भित्रिने विसङ्गतिको भाव यस उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ – बाकस हेर्छु भनेपछि सातोपुत्लो उड्यो सुषमाको । पानपारग, गाँजा, सुर्ती, भाङ, र नसालु ट्याबलेटहरू यही बाकसमा राखेर ऊ हरेक दिन साँचो लगाउन भुल्दिनथी । (पृ.८५)

– देशको राजनीतिक विसङ्गतिको भाव उपन्यासमा यसरी अभिव्यक्त भएको छ – देशको राजनीतिक अस्थिरताका कारण बन्द, हडताल, चक्काजाम कुन बेला हुन्छ कसैलाई थाहा हुँदैन । (पृ.९६)

–नेपालका शैक्षिक क्षेत्रको विसंगतिको भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ –

कलेजमा पढ्ने मात्र होइन, स्कुलमा पढ्ने केटाकेटीहरूले पनि सानासाना समूह बनाएर भाषण गर्नु, जिन्दावाद र मुर्दावादको नारा लगाउँदै हिँड्नु, अर्को स्कुल र कलेजका विद्यार्थीहरू उकास्नु र पढ्न चाहने तथा राजनीति मन नपराउने, राजनीति नबुझ्ने विद्यार्थीहरूलाई पनि आफ्नो ढाल बनाएर जबर्जस्ती हिँडाउनु र त्यस्तैलाई लाठीचार्ज, गोली फायरिङ, टियर ग्याँस अगाडि उभ्याउनु, राजनीति गर्नेहरुको धर्म भएको छ । (पृ.९७)

 

बाल÷ किशोर मनोविज्ञानको भाव

–केटाकेटीहरू आफ्ना गल्ती ढाकछोप गर्नाका लागि रुने गर्दछन् भन्ने बालमनोविज्ञानको भाव पनि यस उपन्यासमा यसरी अभिव्यक्त भएको देखिन्छ –केटाकेटीहरूको गल्ती ढाकछोप गरेर जितने अस्त्र नै रुनु हो । (पृ.४४)

– किशोरहरू आफ्ना समस्यालाई अभिभावकका सामु राख्न चाहँदैनन्, त्यसलाई लुकाएर राख्न चाहन्छन् । समस्यालाई अभिभावकका सामु लुकाएर होइन, त्यसलाई अभिभावकका माझ प्रस्तुत गरेर समाधान गर्न सकिन्छ भन्ने भाव यस उपन्यासमा यसरी प्रस्तुत गरिएको छ – यस्ता कुरा पहिले नै बाबाममीलाई भनेकी भए तँलाई टेन्सन हुँदैनथ्यो । अनाहकमा तैँले सत्य लुकाइस् र पीर बोकिस् । ममीले सहानुभूति दिइन् उसलाई । (पृ.४१)

–किशोर –किशोरीहरू विपरीत लिङ्गीप्रति तुरुन्त आकर्षित हुन्छन् भन्ने भाव उपन्यासमा यसरी प्रस्तुत भएको छ –  

विपरीत लिङ्गप्रतिको आकर्षणमा छिट्टै आकर्षित हुन सक्ने र हरेक कुराको जिज्ञासा आफैमा अनुभव गरेर मेटाउन चाहने हुन्छ यो उमेर । (पृ.३४)

प्रेमको भाव

यस उपन्यासमा प्रेमप्रतिको भाव विभिन्न किसिमले अभिव्यक्त भएको छ ।  

– प्रेमले सबैलाई आकर्षण गर्छ भन्ने भाव यसरी अभिव्यक्त भएको पाइन्छ – यो मानव मनको रङ सौन्दर्यप्रतिको आकर्षण हो र सायद प्रेम पनि जुन दृश्यले सबैलाई आकर्षित गरेको छ । (पृ.२९)

– यस उपन्यासमा प्रेममा मौन भाषा हुने आदर्श प्रेमको अभिव्यक्ति पाइन्छ – उनीहरूका आँखाले मौन भाषामा गरेको कुरा कतिका लागि अविस्मरणीय हुन सक्छ र कतिका लागि जीवन घातक पनि हुन सक्छ भन्ने कुरो कसलाई थाहा र ? (पृ.३३)

–प्रेम आयोजित विषय होइन दुर्घटना हो भन्ने भाव यसरी अभिव्यक्त भएको पाइन्छ – यो कुरा सुषमाले थाहा पाउनै सकिन । त्यस दिन धीरजसँग भएको भेटमा उसले आफूलाई नियन्त्रण गर्न सकिन सायद । ( पृ.३५)

–प्रेमका सुरु दिनमा देखिने भाव उपन्यासमा यसरी प्रस्तुत भएको पाइन्छ – सुषमा र अरू साथीहरू बाह्र बजे बालसिर्जनालयबाट निस्किए तर सुषमाले आफ्नो मुटुको केही भाग त्यहीँ कतै छुटेको अनुभूत गरी । ऊ एउटा खाली र शून्य मन लिएर साथीहरुको पछि लागी । (पृ.३५)

–प्रेम गर्ने मानिसको विरोध गरेका कुराहरू पे्रमीप्रेमिका सुन्न सक्दैनन् । प्रेमले मानिसलाई अन्धो बनाउने भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ –

–धीरजको जालमा साथी फसेको शंका गर्दै“ धिरज बदमास केटो हो , उसले तँलाई फँसायो” भनेर सम्झाउँदा सुषमा रिसाउँथी । धीरजका बारेमा नराम्रो कुरो केही सुन्न नै चाहँदिनथी । बरु साथीलाई नै “तिमीहरूले मेरो र धीरजको रिस गयौ” भनेर उल्टै दोषरोपण गर्थी । धीरजलाई सम्झदा मात्र पनि रोमाञ्चको अनुभूति गर्ने सुषमालाई कसैको कुरा राम्रो लागेन । (पृ.६५)

–प्रेम धनका आधारमा निर्धारित हुनु हुँदैन। तर, यस उपन्यासमा प्रेमलाई धनबाट प्रभावित  भएको भौतिकवादी प्रेमको अभिव्यक्ति पनि पाइन्छ – धनी बाउकी एउटै छोरी रैछे । अब त उसलाई छाड्नै भएन नि साथी हो । (पृ.६४)

– प्रेम अभिव्यक्त गर्ने अवस्थामा निकै परिवर्तन आएको अभिव्यक्ति उपन्यासमा यसरी गरिएको छ – पहिलापहिला मायाप्रेमका लागि तपस्या गरेर प्रेम अभिव्यक्त गर्न कति आँट गर्नुपथ्र्यो । चिठीपत्र साटासाट गर्न नै कति समय लाग्थ्यो तर अहिले कति फरक छ, भेट भएकै दिन आई लभ यु भन्न र गलत कदम चाल्न पनि पछि हट्दैनन् र मन नमिलेका दिन टाढिन पनि बेर लाग्दैन । (पृ.६५)

 

दार्शनिक अभिव्यक्ति

 

–जीवन रहस्यपूर्ण हुन्छ भन्ने भाव उपन्यासमा यसरी अभिव्यक्त भएको छ –जीवन नजानिने माकुराको जालजस्तो रहेछ । एउटै स्कुलको एउटै छात्रावासमा बसेर एउटै कक्षामा त्यत्रो समयसम्म पढे । तर, कहिल्यै प्रेमको आभास भएन उनीहरूमा । संयोग नै रहेछ यो पनि, कलेज जीवनको पहिलो वर्ष नै उनीहरुका प्रेमिल दिनहरूले हार्दिकताका साथ सुरु भएर प्रगाढ रुप लिन थाले । ( पृ. १४०)

–भोकले विकृत मानसिकता निर्माण गर्छ भन्ने दार्शनिक अभिव्यक्ति यसरी प्रस्तुत भएको छ उपन्यासमा –

भोक विकृत मानसिकताले ग्रस्त भएपछि कस्तो कुरुप हुन्छ, कल्पना पनि गर्न सकिँदैन । (पृ.७५)

–जीवन भावनामा होइन, कल्पनामा होइन यथार्थमा अघि बढ्छ भन्ने भाव उपन्यासमा यसरी अभिव्यक्त भएको छ – जीवन कुनै चलचित्रको भावनात्मक दृश्य होइन । (पृ. १५९)

– त्याग र समर्पणबिना मानिसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन भन्ने दार्शनिक अभिव्यक्ति उपन्यासमा यसरी अभिव्यक्त भएको देखिन्छ – आफूमाथि आउने समस्याको समाधान प्रत्येक मान्छेले गर्नुपर्छ । केही पाउन केही गुमाउनुपर्छ । केही त्याग र केही समर्पण गरेपछि मात्र लक्ष्यमा पुग्न सकिन्छ । (पृ. १५९)

–जीवनमा खुसी र दुःख एक साथ रहेको हुन्छ भन्ने दार्शनिक अभिव्यक्ति उपन्यासमा यसरी प्रस्तुत भएको पाइन्छ –फूलमा काँडा हुन्छ ओम । काँडाबिनाको फूल अझ सुन्दर हुन्छ । जीवन पनि त्यस्तै हो । (पृ. १६०)

–मानिस भविष्यप्रति निराश होइन आशावादी बन्नुपर्छ भन्ने दार्शनिक अभिव्यक्ति उपन्यासमा यसरी अभिव्यक्त भएको देखिन्छ – उनीहरू विश्वस्त छन् उनीहरूको जीवन आकाशमा अहिले पीरको अविरल झरी परिरहे पनि भोलि खुसीको घाम लाग्ने छ । (पृ . १६०)

–मानिसहरू जस्तो सङ्गत गर्छन् त्यस्तै बन्छन् भन्ने भाव उपन्यासमा यसरी अभिव्यक्त भएको छ –बितेका यी चार दिनमा ऊभित्र अरू खराब बानी पनि थपियो । उसले लागु औषधी पनि सेवन गर्न थाली । धीरजसँगको सङ्गतले ऊ अझ नराम्रो लतमा फसी । (पृ.७६)

– मानिसले अरूलाई छले भनेर जतिसुकै खुसी भए पनि आफूलाई छलिरहेको हुन्छ भन्ने दार्शनिक भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ – अरूलाई छल्ने प्रयासमा आपूलाई छल्न खोज्नेहरूमध्ये कति जना जटिल जीवन बाँच्न बाध्य हुन्छन् भने कति जना बाँच्न नसकेर आत्महत्या समेत गर्न पुग्छन् भने कोहीकोही त मानसिक सन्तुलन गुमाई अर्को जीवन बाँचिरहन्छन् सबैको बोझ बनेर । (पृ. ९१)

– पीडाका बेला मानिसले भोक र रोग सबै बिर्सिन्छ भन्ने दार्शनिक अभिव्यक्ति उपन्यासमा यसरी पाइन्छ –

भोकाएर पेट खालि भए पनि मनमस्तिष्कमा परेको चोटले भोक हराउँदो रहेछ । –पृ. ९१)

–अज्ञानताले मानिसलाई छटपटी सिर्जना गर्दछ भन्ने भाव यसरी अभिव्यक्त भएको छ उपन्यासमा –

आफ्नो अभिभावकत्वमा बस्दै आएकी आफ्नै स्कुलकी छात्राले यस्तो काम कहाँबाट, कहिलेदेखि र कसरी सुरु गरी भन्ने कुरो थाहा नपाउनुको पीडाले मर्माहत हुनुभएको छ प्रिन्सिपल सर । (पृ.९२)

 

मित्रताको भाव

–साथीसाथीको नातासम्बन्ध केही नभएर पनि सबभन्दा आत्मीय हुन्छ । साथीलाई जतिको विश्वास अरू कसैलाई गर्न सकिँदैन । आफू कमजोर भएको अवस्थामा साथीभाइले नै साथ दिन्छन् । (पृ.११०)

–मेरो आफ्नै समस्या छ सर, मैले  यतिसम्मको पढाइका लागि कहिले बुबाको वचन सुन्नुपरयो, कहिले आमाको । बुबा पनि अर्की आइमाईसँग बिहे गरेर अर्कोतिर घरजम गरेर बस्नुभएको छ । बुबाले बिहे गरेपछि आमाले पनि अर्को बिहे गरेर अर्कैसँग घरजम गर्नुभयो । तर, म त पेन्डुलम छु, यताको न उताको । न आमाकी छोरी हुन सकेँ, न त बुबाकी । (पृ. ११७)

–आज छोरालाई मतलब गर्नु भएन, महत्व दिनु भएन भने भोलि तपाईँले जति सम्पत्ति कमाए पनि केही काम लाग्दैन नानी । त्यसैले पैसाको पछि लाग्नुभन्दा अब छोराको पछि लाग्नु उचित होला । (पृ. १२६)

–अहँ, यी साथीहरूलाई छाडेर म कहीँ जान्नँ । के जन्म दिएर मात्र बुबाआमा भइन्छ ? तपार्इँहरूले कुन दिन मलाई जान्नेबुझ्ने कोसिस गर्नुभयो ? सञ्चो नहुँदा एक दिन मलाई सुम्सुम्याउने फुर्सद भयो तपाईँहरूलाई ? पैसा भए पुग्ने तपाईँहरूको छोरो पैसाले किन्न सक्नुहुन्न अब । (पृ. १२९)

–मिलनले ल्याउने खुसीको भाव उपन्यासमा यसरी अभिव्यक्त भएको देखिन्छ – पाँच वर्षपछि आमाछोरीको मिलन भएको यस क्षणमा आमाछोरीले नै संसार जितेको अनुभव गर्छन् ।  (पृ. १३२)

– मन खुसी र पीडामा दुवैमा अशान्त हुन्छ भन्ने भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ –

आमाको काखमा छे र पनि उसको मन अशान्त छ । यो मन भन्ने चीज यस्तै हो, खुसीमा पनि छटपटिन्छ, पीडामा पनि । (पृ.१३३)

भौतिकवादी चिन्तन

–पैसालाई नै सर्वस्व ठान्ने र पैसा भएपछि संसारका जुनसुकै वस्तुसँग सम्झौता गर्न सक्ने मानसिकता भएका सुषमाका बुबालाई सधैँझैँ यसपटक पनि फुर्सद भएन भनेर स्कुल आएनन् । (पृ. ८८)

– पढाइ कमजोर भए पनि होस्टलमै राखेर बोर्डिङमा पढाइएको छ, एसएलसी त पास भइहाल्छे । डोनेसन दिएर भए पनि राम्रो प्राइभेट कलेजबाट बाह्र कक्षा पास गराउने अनि त तिस चालिस लाखले जहाँ लगेर  भए पनि छोरीलाई डाक्टर बनाउन सक्छौँ भन्ने उनीहरूको दम्भ थियो । तर पैसाले मात्र सबै कुरो हुन नसक्ने रहेछ भनेर सुषमाकी आमाले यसपल्ट बुझिन् । (पृ. ९१)

परिवेश

– यस उपन्यासमा आधुनिक सामाजिक परिवेशको चित्र यसरी प्रस्तुत भएको पाइन्छ – अमनकी आमा सधैँ पार्लरको काममा व्यस्त हुन्थिन् । पार्लर बाहेक साथीहरुसँग तास खेल्न र बुबासँग पार्टीमा जान मन पराउँथिन् । (पृ.३७)

– नेपालका शैक्षिक छात्रवासको अवस्था चित्तबुझ्दो छैन । यसमा एकै प्रकृतिका विद्यार्थीहरू छैनन् । यसको चित्रण यस उपन्यासमा यसरी गरिएको छ – कोही बाटो बिराएका र तह लगाउन नसक्दा सुध्रन्छ कि भन्ने आशाले छात्रावासमा राख्न बाध्य भएका बुबाआमाका छोराछोरीहरू छन् भने कोही काममा व्यस्त बाबुआमाका छोराछोरी । (पृ.१७)

भाषाशैली

यस उपन्यासमा किशोरहरूले प्रयोग गर्ने भाषाको प्रशस्त प्रयोग भएको पाइन्छ –अपुई, कुसुम त कस्तो सेन्टी भएकी, हेर न सुषमा ! (पृ. १५)

– यसमा अंग्रेजी भाषाको कोडमिश्रित भाषाको प्रयोग भएको पाइन्छ –बूढो त क्या हेनसम छ, हो कि ? (पृ.३०), अमनका बुबा ए ग्रेडका ठेकेदार । (पृ.३७),

–यसमा हिन्दी भाषाको कोडमिश्रित भाषाको प्रयोग भएको पाइन्छ – दिलमा कुछ कुछ भइरहेको छैन । (पृ.५३)

–यसमा अनुकरणात्मक शब्दको पनि प्रयोग भएको पाइन्छ – सिरसिर, चिटिक्क (पृ.३१), गुडुडु (पृ.३२)

–यसमा उखान टुक्काको पनि प्रयोग भएको पाइन्छ – बैँसमा स्याल  त घोर्ले हुन्छ । (पृ.३२), दालमा कुछ काला है, एक कान दुई कान मैदान (पृ.५१)

 – यसमा चित्रात्मक भाषाको प्रयोग भएको पाइन्छ – श्यामल वर्णकी भएर पनि कस्तो हिस्सी परेको अनुहार छ उसको । टपक्क मिलेको गोलो नाक, मृगनयनी आँखा, मुस्कुराउँदा गालाको माझमा खोबिल्टा पर्दा झन राम्री हुन्छे । (पृ. २८), रातो वर्ण भएको उसको सफा लाम्चो अनुहारमा ठुल्ठुला आँखा, आँखामाथि बाक्लो रौँले मिलेको आँखीभुइँ, सानो उठेको निधार, अलि चुच्चो नाक भएको उसको अनुहार चटक्क मिलेको छ । (पृ.९८)

यसरी यस उपन्यासले किशोरको मनोविज्ञान मात्र होइन अभिभावकको कर्तव्य पनि देखाएको छ । शिक्षाका क्षेत्रका थुप्रै समस्या, यथार्थलाई समेटेको छ  । यो किशोर साहित्यका रुपमा प्रस्तुत भएपछि लक्ष्मी उप्रेती सशक्त किशोर उपन्यासकारका रुपमा हाम्रासामु छन् । आगामी दिनमा पनि लक्ष्मी उप्रेतीका कलमले सफतलता प्राप्त गरोस् । उत्तरोत्तर प्रगतिको कामना सहित ।  

प्रकाशित: २२ पुस २०७७ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App