कला

साना गुरुहरू

एकांकी

नन्दलाल आचार्य

 

पात्रहरू  (१) अशोक, (२) राधा, (३) ज्ञानिता, (४) मनोज र (५) हरिश

(मञ्च दुई भागमा विभाजित छ । एक भागमा केही रुख र बुटाबुटी छन् । मौरीको घार छ । चराहरू स्वतन्त्र रूपले रूखका हाँगामा रमाइरहेका छन् । छत्तिस वर्ष उमेरको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने उद्देश्यले यताउति गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दसबार वर्षका केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केहीबेरमै उनीहरू कोलाहल गर्दै लुकामारी खेल्न थाल्छन् । त्यतिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई गाली गर्न थाल्छ ।)

अशोक – तिमीहरू अरूका पेटमारा रहेछौ । तिमीहरूको हल्लाले मेरा सिकार उडे ।

राधा – (रुन्चे मुहार पार्दै) हामीले खेलेका मात्र हौँ । झगडा गरेका छैनौँ । बिराउनु केही छैन । तपाईंले हामीलाई किन गाली गर्नुभएको ?

ज्ञानिता – नबिराउनु,नडराउनु । हामीले कसैको पेट मारेका छैनौँ ।

मनोज –(खिन्न हुँदै) यो एकान्त ठाउँमा खेल्दा पनि गाली खानु हामीमाथिको अत्याचार हो ।

अशोक – (कुट्न झम्टिँदै) हकारपकारले पुगेन ? कुट्नैपर्ने हो कि क्या हो ? हल्ला गर्छौ ? सबैका मुखमा ताला लगाइदिन्छु । बातले नमाने लातको प्रयोग गर्नुपर्छ भन्ने मलाई थाहा छ । बिनाकुटाइले शान्ति आउँदैन ?

हरिश – हामीले कुटाइ खाँदाचाहिँ कसरी शान्ति आउँछ त ?

अशोक – तिमीहरू मूर्ख हौ । जे गर्दा पनि भएन । बोल्दै नबोल । शान्ति आफै आउँछ । शान्तिले चरा डाक्छ । मेरो यो गुलेलीले चरा खसाल्छ । चराले यो झोला भरिन्छ । त्यही भरिएको झोलाले म र मेरो परिवारको पेट भरिन्छ । (चारै जना हाँस्छन् । अशोक अझ रिसाउँछ ।)

ज्ञानिता – न त कुटाइले शान्ति आउँछ न त चराको मासुले पेट भरिन्छ ।

अशोक – उपद्रो र झगडा गर्नेलाई शान्त पार्ने ओखती कि पिटाइ हो कि गाली हो ।

हरिश – हामीले गल्ती गरयौं । खेल्ने ठाउँमा अलि बढी हल्ला भएछ । झगडा गरे जस्तो पनि गरेछौँ । त्यस्तो नगरेको भए गाली खानु पर्दैनथ्यो । अबदेखि हामी त्यसो गर्दैनौं ।

अशोक – भोलिको कुरा नगर । म आजका लागि मात्र हुँ । भोलि जस्तो आउला त्यस्तै टर्ला ।

राधा – त्यसो भनेर कहाँ हुन्छ ? हामीले भोलिका लागि आज बाँच्नुपरेको छ । आज मात्र होइन, भोलि पनि बाँच्नुपरेको छ ।

ज्ञानिता – हो त, भोलि बाँच्न सकियो भने पो सच्चा बँचाइ हो ।

अशोक – उमेरले काँचा छौ, कुराले पाका जस्ता छौ । कहाँ सिक्यौ यी कुरा ? आफूले त समयमा आँखा देखिएन । बाबुआमाको कुरा मानिएन, स्कुलको मुख देखिएन । जे गरे पनि म लायककै छु । तिमीहरू जस्तो अर्काको भाग खोस्दै र झगडा गर्दै हिँड्ने काम मबाट कहिल्यै भएन ।

राधा – लायक त मान्छे त्यति खेर हुन्छ जब उसले सिर्जनात्मक तवरले जिउन सिक्छ ।

अशोक – म त आफ्नै पाखुरीले बाँचेको छु । चरा मार्छु । झोला भर्छु । बजार लगेर बेच्छु । चामल तरकारी किन्छु र पुनः झोला भर्छु । त्यही झोला लगेर श्रीमतीलाई दिन्छु ।

राधा –उसो भए चराले ज्यान दिनाले तपाईं र तपाईंको परिवारको पेट भरिँदो रहेछ । होइन ?

अशोक – हो, ठिक भन्यौ । मेरो कामै यही हो । आफ्नै श्रमले जीवन चलाएको छु ।

राधा – अहँ, मेरो बुझाइमा त्यो श्रम होइन, हत्या हो हत्या । तपाईं हत्यारा हुनुहुँदो रहेछ ।

अशोक – जाबो दुई वचन गाली के गरेथेँ । म हत्यारा भइहालेँ ? मैले तिमीहरूको ज्यान त लिएको छैन नि ?

ज्ञानिता – अहिले भर्खरै भन्नुभएको होइन ? चराले झोला भर्छु, चरा नै म र मेरो परिवारको चारो हो ।

मनोज – दाइले बुझ्नुभएको रहेनछ । चरा मार्नु पनि हत्या हो । हत्या गरेर बाँच्नु कायरता हो ।

अशोक – यी वनका चराको वकालत नगर । यी अबुझ प्राणी मार्नु हत्या होइन ।

हरिश – हो, हत्या हो । प्राणी मार्नु हत्या हो ।  

राधा – तपाईंलाई काटे खुन आउँछ र पिटे दुख्छ । त्यस्तै यी वनका चरालाई पनि हुन्छ ।

ज्ञानिता – तपाईंको घरमा श्रीमती र छोराछोरी होलान् । त्यस्तै यिनका पनि हुन्छन् ।

मनोज – अझ तपाईं नभए परिवारको बिचल्ली हुन्छ । त्यस्तै यिनको पनि हुन्छ ।

हरिश – हो, तपाईंको गुलेलीले खसाएका कतिपय चराका बचेराहरू बाबुआमाको बाटो हेरेर गुँडमा नै भोक र तिर्खाले छटपटाई–छटपटाई मरे होलान् ।

अशोक – भो, धेरै भाषण नछाँट । आदर्शको खेती गर्ने जमाना होइन यो ।

राधा – आदर्श हाम्रो गहना हो । हामी मानव हाँै । दानव होइनौँ । मानवले मासु होइन अन्न र सागसब्जी खानुपर्छ । हामी दानवको श्रेणीमा खसिसक्याँै ।

ज्ञानिता – मलाई पनि त्यस्तै लाग्छ। हाम्रो पेट मुर्दाघर भइसक्यो । अमृतको घडामा दुई बिर्को विष हालिदिए अमृत पनि विषै बन्छ । त्यस्तै अरू प्राणीको मासु खाएर हाम्रो शरीर अपवित्र भइसक्यो ।

मनोज – साँच्चै मुर्दाघर शरीरमै भएको कारणले होला, हामी दिनानुदिन विवेक शून्य भइरहेका छौँ ।

अशोक  – तिमीहरू पढेलेखेका मान्छे भएर आफूलाई विवेकहीन ठान्छौ ? लाज लाग्दैन ?

हरिश – केको लाज ? सत्य बक्न लाज हुँदैन । गल्ती गर्ने र पश्चात्ताप नगर्ने आजका मान्छेको यही काइदाले त मानवता धरापमा परेको छ ।

राधा – हो त नि जस्तो कर्म त्यस्तै फल । विवेकहीन कर्म विवेक शून्य फल ।

ज्ञानिता – हामी विवेकी नहुँदा हौँ त यत्रो वैज्ञानिक सफलता र चमत्कार कहाँ पाइन्थ्यो ?

मनोज – त्यही वैज्ञानिक सफलता र चमत्कारको दुरुपयोग गर्दा त हामी मानव, मानव हुनबाट वञ्चित छाँै । आफू आफैबाट त्रसित छौँ । त्रासको साम्राज्यभित्र त्राहिमाम बाँचेका छौँ ।

हरिश – अझ हामी पलपल मरिरहेका छौँ । पलपल मृत्युपीडा भोगिरहेका छौँ ।

अशोक – (हाँस्दै) खै त, सारसौँदै छौ त ? कहाँ म¥यौै ?

राधा – जमिनमा ढल्नु र श्वास नफेर्नु मात्र मर्नु होइन । मान्छे भएर बाँच्न नसक्नु पनि मर्नु हो । भोलिका लागि जिउँदो रहने काम नगर्नु पनि एक प्रकारको मरण हो ।

अशोक – भोलि किन बाँच्नुपरयो ? आज छौँ, मोजमस्तीका साथ बाँचौँ । भोलि हाम्रो साथमा छैन । त्यसका लागि दिमाग नचाउनु व्यर्थ हो ।

ज्ञानिता – तपाईं संकुचित घेरामा अल्झन खोज्नु हुँदो रहेछ । के तपाईंलाई भौतिक रूपले हामीसामु नभएका तर काम र नामले कहिल्यै नमर्ने मान्छेको नाम आउँछ ?

अशोक – त्यत्ति पनि नजान्ने हरिलट्ठक नै सम्झ्यौ कि क्या हो मलाई । पढेर नजाने पनि परेर जानेको छु नि । राइट दाजुभाइ, सेक्सपियर, आइन्सटाइन, लक्ष्मीप्रसाद, पारिजात, विपी कोइराला, मदन भण्डारी, कृष्ण सेन ‘इच्छुक’ ... ।

राधा – जान्नु नै भएको रहेछ त । फेरि किन यस्तो बाटो प्यारो भएको त ? थाहा छ ? अब ती मान्छे कहिल्यै मर्दैनन् नि !

ज्ञानिता – हो त, चन्द्रसूर्य रहुन्जेल र मानव अस्तित्व छउँन्जेल उनीहरू बाँचिरहन्छन् ।

मनोज – अझ उनीहरूले लगाएको ऋणतल हामी थिचिइरहेका छौँ । त्यो चुक्ता गर्नुको साटो हामी कृतघ्न भएका छौँ ।

अशोक – कुरो र कुलो जता लग्यो उतै जान्छ । तिमीहरूको गफले पेट भरिन्न । म त हिँडे । (ऊ जान्छ । केटाकेटीहरू पुनः खेल्न थाल्छन् । अशोक घुम्दैफिर्दै अर्को मञ्चमा पुग्छ । गुलेलीले चरा मार्न खोज्छ । सफलता प्राप्त गर्न सक्तैन । त्यतिकैमा उसको आँखा मौरीको घारमा पर्छ ।) (मनमनै) ओहो ! महले भरिएको चाका रहेछ । मह काढ्न पाए त बेचेर मनग्य पैसा पाइन्थ्यो । गर्जो टथ्र्यो । (हातले टाउको समाउँछ र एकक्षण घोरिन्छ ।) गुड आइडिया । (गोजीबाट प्लास्टिक निकाल्छ र घारको ठिक तल पर्ने गरी ओछ्याउँछ । अनि गुलेलीले ताकेर चाकाको फेदमा हान्छ । चाकाबाट मह चुहुन थाल्छ । खुसी हुँदै चाट्न थाल्छ । त्यसै बखत एक गोलो मौरी आउँछन् र उसलाई चिल्न थाल्छन् । ऊ ‘बाफ रे बाफ !’ भन्दै भाग्न थाल्छ । भाग्दाभाग्दै अर्को मञ्चमा पुग्छ । केटाकेटीलाई आनन्दले खेलिरहेको भेटाउँछ ।)

अशोक   – बाफ रे बाफ ! मलाई बचाओ ! बचाओ !!

राधा  – (खेल्न छाडेर) के भो दाइ ? तपाईंलाई के भो ?

अशोक  – चिल्यो, बेस्कन चिल्यो ।

ज्ञानिता   – ए मौरीले पो चिलेछ । हेर, मुख सुन्निन थालेछ ।

अशोक  – गुलेलीले घारमा तिनचार पटक के हानेको थिएँ, मेरो बाउको बिहे पो देखाइदिए ।

मनोज  – त्यही त, अरू प्राणीमाथि गिद्धेदृष्टि लगाउन छाड्नूस् भनेको ।

हरिश  – हामी सानाका राम्रा कुरा मान्दा फाइदै हुन्छ । सानाले भनेको भए पनि त्यसमा रहस्य लुकेको हुन सक्छ ।

अशोक  – भो, अब अरू लज्जित नपार । मेल मिलापमा दम हुँदो रहेछ । एक एक गरेर ती आएका भए म किचिमिची पार्दिन्थेँ । एक हुल भएर टोके ।

ज्ञानिता – ए, चेत्नुभो ? अनि झोला र गुलेली खै त ?

अशोक – झोला र गुलेली दुवै कहाँ पुगे पत्तो छैन । मलाई अब ती चाहिन्नन् । ज्यान बच्यो, यो नै ठूलो कुरा भो ।

हरिश – तपाईंको सुखका लागि अरूले दुःख पाउँदा उनीहरूलाई कस्तो महसुस भयो होला ?

अशोक –अब म छातीमा हात राखेर भन्छु । सुख खोज्छु तर त्यसमा कसैको दुःखभोगाइ हुन्न । म विवेकको मद्दत र पाखुरीको सामथ्र्यले नयाँ जीवन सुरु गर्छु । तिमीहरू र मौरी सानै भए पनि मेरा गुरु हौ । तिमीहरूले मेरो आँखा खोलिदियौ । अब यी आँखा कहिल्यै बन्द हुँदैनन् । (केटाकेटी पनि खुसी हुन्छन् । अशोक पनि जोसिलो देखिन्छ ।) (पर्दा बिस्तारै खस्दै जान्छ ।) 

प्रकाशित: २० पुस २०७७ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App