भावना र संवेदनालाई सदुपयोग गर्न नसक्ने मानिस सिर्जनशील हुन सक्दैन। सिर्जनशील नहुने मानिस साहित्यमा आउन सक्दैन र आए पनि टिक्न सक्दैन। यसको अर्थ सबै स्रष्टा भावनात्मक र संवेदनात्मक हुन्छन् त ? धेरै होलान् र थोरै नहुन पनि सक्लान् तर निर्मोही व्यासको हकमा भने यो प्रश्न बन्नै सक्दैन। नामले निर्मोही भए पनि उनी जतिको भावनात्मक र संवेदनशील लेखक धेरै कम होलान्।
साहित्य लेख्ने धेरै छन्। पत्रिकामा प्रकाशन गर्ने र पुस्तक निकाल्ने पनि धेरै छन्। लेख्ने स्रष्टा आफ्नो सिर्जनामा गम्भीर सबै हुन्छन्। तर सबै स्रष्टा निर्मोही व्यास जतिको सिर्जनामा गहिरो संवेदना राख्ने नहुन पनि सक्छन्। उनी आफ्ना सिर्जनाका प्रत्येक वाक्यमा मात्र होइन, प्रत्येक अक्षरमा हृदयलाई जोड्छन्। उनी आफ्ना सिर्जनामा कति समय लगाउँछन्, त्यो उनकै कुरा हो। लेखेपछि कतिपटक परिमार्जन गर्छन्, त्यो पनि उनकै कुरा हो, तर पत्रिकामा प्रकाशनका लागि पठाइसकेपछि पनि पटकपटक परिमार्जन गरिरहन्छन्। मधुपर्कमा काम गर्दा उनीसँगका यस्ता अनुभव धेरै छन्। यसरी आफ्नो सिर्जनामा हदैसम्मको मोह राख्ने स्रष्टा पनि सायदै हुन सक्लान्।
कतिपय स्रष्टा यस्ता छन्, जो लेखिसकेपछि दोहो¥याएर हेर्दैनन्। पत्रिकामा प्रकाशित भइसकेपछि पनि पढ्दैनन्। व्यास भने पत्रिकामा प्रकाशित भइसकेपछि पनि अक्षर–अक्षरलाई ध्यान दिएर पढ्छन्। केही गल्ती भएका भए वा केही छुटेका भए चिनो लगाएर सम्बन्धितलाई देखाउँछन्।
निर्मोही व्यास गुरु नै हुन्, तर मेरा होइनन्। विद्यालय, विश्वविद्यालय कतै पनि पढ्ने अवसर पाइनँ मैले उनीसँग। संस्कृत विद्यालयदेखि विश्वविद्यालयसम्म उनका असंख्य चेलाचेली छन्। म भने उनीबाट नपढाइएको विद्यार्थी हुँ। अनौपचारिक र व्यावहारिक धेरै कक्षा लिएको छु मैले उनीसँग। साहित्यको यात्रामा धेरै ठाउँमा ज्ञानले, अनुभवले, व्यवहारले डो-याएका छन् मलाई। के पढाइने भनेको स्कुल र क्याम्पसमा पाठ्यपुस्तक मात्रै हो र ? होइन, त्यो त निश्चित समयका लागि हुन्छ। त्यसपछि त झन् सिङ्गो समाज र व्यवहार पढ्नुपर्छ। के त्यसका गुरु हुँदैनन् र ?
निबन्ध र नियात्रासङ्ग्रह प्रकाशनपूर्व झम्सिखेलको कौसीको घाममा धेरै समय बिताएका छौँ हामीले। म पढ्थेँ, उनी ध्यान दिएर सुन्थे। केही सन्दर्भ र शिल्पमा प्रश्न गर्थेे। म आफ्नो अनुभूति सुनाउँथे र सच्याउँथे। पचासको दशकमा मेरो कौसीको घामसँगै निर्मोही व्याससँग धेरै पढेको छु र धेरै सिकेको छु।
आफूले लेखेका कतिपय सन्दर्भमा अनभिज्ञ भएर जिज्ञासा राख्थेँ म। उनी गुरु नबनेर मलाई बुझाउँथे। म पनि विद्यार्थी नभएजस्तो गरेर बुझ्थेँ। त्यसै पनि व्यास सर बोल्न थालेपछि छिटै टुङ्ग्याउन जान्दैनन्। कुनै सन्दर्भ आउनासाथ त्यसको एकइन्ची पनि नबिराईकन सविस्तार सम्झेर व्याख्या गर्न सक्छन्। वर्षौंअघिका कुनै घटनालाई पनि बित्तो नबिराईकन चित्रजस्तो गरेर व्याख्या गर्न र लेख्न सक्छन्। संस्कृत, हिन्दी र भोजपुरीका सन्दर्र्भमा उनी श्लोकहरू कण्ठ गरेजस्तै गरेर व्यक्त गर्छन्।
निर्मोही व्यास अरु कसैका लागि निर्मोही बन्न सके होलान् जस्तो लाग्दैन मलाई। उनको जीवनशैली, व्यवहार र विगतले पनि त्यस्तै अनुभव गराउँछ। तर मानिस नै हुन् पूरै चिन्न त कसले कसलाई पो सक्छ र ? यो ब्रह्माण्डमा देखिएजस्तो बन्न सक्ने मानिसभन्दा अरु केही छैन। अरुको के कुरा ? आफैँले आफैँलाई त चिन्न सक्दैनन्। त्यसरी चिन्न नसक्नेहरू त हुन् नि आत्महत्या गर्नेहरू। यसो भनेर पनि कहाँ चल्छ र, जीवन अनि समाज। विश्वास त गर्नैपर्छ आखिर। विश्वासले नै चलेको छ घर–परिवार, समाज र संसार पनि। विश्वासले नै त अस्तित्वमा रहेका छन्, मठ–मन्दिर, परम्परा र रीतिरिवाजहरू।
साहित्य लेख्ने धेरै छन्। पत्रिकामा प्रकाशन गर्ने र पुस्तक निकाल्ने पनि धेरै छन्। लेख्ने स्रष्टा आफ्नो सिर्जनामा गम्भीर सबै हुन्छन्। तर सबै स्रष्टा निर्मोही व्यास जतिको सिर्जनामा गहिरो संवेदना राख्ने नहुन पनि सक्छन्। उनी आफ्ना सिर्जनाका प्रत्येक वाक्यमा मात्र होइन, प्रत्येक अक्षरमा हृदयलाई जोड्छन्।
निर्मोही व्यास सबैका लागि प्रिय छन्, मायालु छन् तर आफ्ना लागि क्रूर र निर्मोही नै छन्। विश्वविद्यालयमा पढाइरहेकाहरू पिएचडी दर्ता गर्नासाथ नामको अगाडि डाक्टर लेख्न हतारिन्छन्। कतिपयले कुनै संस्थाबाट मानार्थ पाउनासाथ गौरवका साथ डाक्टर राख्छन्। नामको अघिल्तिर डाक्टर राख्न हतारिनेहरूको भीडमा निर्मोही भने निर्मोही नै बनेका छन्।
‘निर्मोही व्यास सर्जक मात्र हो, पिएचडी गर्ने वेदव्यास उपाध्याय हो। एउटाले गरेको कामको जस अर्कोले किन लिने ?’ उनी नै गर्छन् प्रश्न।
‘वेदव्यास मेरो नागरिकताको नाम हो। त्यही नामले पढ्यो, त्यही नामले जागिर खायो र त्यही नामले पिएचडी ग¥यो।’
सबै सत्य नै हुन् तर वेदव्यास उपाध्याय भनेकै निर्मोही व्यास हुन् भन्नेचाहिँ कतिलाई थाहा होला र ? हुन् त नामै ठूलो कुरो होइन। नामै मात्रले के पो गरेको छ र ? नेपालमा नै तीन करोड नामहरू छन्। विश्वमा सात अर्बभन्दा बढी नामहरू छन्। नाम मात्रको अर्थ नै के हुन्छ र ? आफ्नैे लागि मात्र हुनुको के पो अर्थ र। समाजका लागि अर्थ राख्छ कि राख्दैन भन्ने पो अर्थ त। नामले गर्ने कामले नै नामको अर्थ राखेको हुन्छ।
नाम राख्न गाह्रो छैन तर नाम चलाउन र टिकाउन पटक्कै सजिलो छैन। व्यास सरले नेपाली साहित्यमा धेरै काम गररै नाम बनाएका छन्। पाठकका मनमा गहिरिएर बस्न सक्ने राम्रा सिर्जनाले नाम बनाएका छन्। नाम त्यसै चिनिदै चिनिदैन। नियात्रा लेखेर, कविता, गीत र उपन्यास लेखेर बनेको नाम हो निर्मोही व्यासको। लाखौँ अक्षरमा प्राण भरेर बनेको नाम हो। वर्षौंवर्षको साधनाले बनेको नाम हो। यही नामले धेरैलाई कलम समाउन उत्प्रेरित गरेको छ। सिर्जनामा उपस्थित गराएको छ। परिमार्जनलाई प्रोत्साहित गरेको छ। अध्ययनका लागि हौसाएको छ। ढुंगाको जस्तो अक्षर बनेको त्यत्तिकै होइन यो नाम।
०५४ माघ महिनाको वीरगन्जका दिन सम्झन्छु। हुस्सु लागेको थियो त्यतिबेला। वीरगञ्ज साहित्य परिषद्को कार्यक्रममा देशभरिका स्रष्टाको जमघट भएको थियो। कवि तुलसी दिवस कार्यक्रममा प्रमुख अतिथि थिए। उनीसँगै प्रकाश सायमी र म काठमाडौंदेखि गएका थियौँ। दुईदिने कार्यक्रम सकिएपछि व्यास सरले आफ्नो घर कलैयामा आउन बल गरे, हामी पुग्यौँ पनि। केहीबेरको कुराकानीपछि उनले दिवङ्गत पत्नीको सन्दर्भ उठाए। कोठा र कोठामा झुन्ड्याएको धर्मपत्नीको तस्बिर देखाए। अनि धर्मपत्नीको सलमा भेटिएको भनेर एउटा बट्टा खोलेर लामो कपाल देखाए। त्यसपछि भावुक भएर भक्कानिन थाले। हामी अवाक् भएर सुनी मात्र रह्यौँ। विगतका दिन सम्झँदै उनी झन् रुन थालेपछि तुलसी दाइले पहिला बिस्तारै सम्झाए तर उनमा कुनै परिवर्तन नआएपछि केही कडा आवाज गरेरै बोलेका थिए। त्यसपछि उनी आँसु पुछ्दै चुप लागेका थिए। फर्कनलाई हामी कारमा बसिसक्दा पनि उनी अझै केही बताउन खोजिरहेका देखिन्थे।
निकै दुःखी भएर हामी कलैयाबाट फर्केको त्यो दिन पनि बिसर्न सकेको छैन मैले।
२०५५ फागुनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महेन्द्रनगरमा निबन्ध गोष्ठीको आयोजना गरेको थियो। जानेमा एक बस निबन्धकारहरू थियौँ हामी। बसमा भीष्मजी र म सँगै थियौँ। बस गुडिरहेको थियो। पछाडितिर बसेका व्यास सर हामी भएको ठाउँमा आए। म सानो मान्छे तपाईंहरूको बीचमा अडिहाल्छु भन्दै बसे। अनेक सन्दर्भका कुरा गर्दै फेरि दिवङ्गत पत्नीको स्मरण गरे। मैले पनि कलैया जाँदाको सन्दर्भ उठाइदिएँ। त्यसपछि उनी फेरि भक्कानिँदै रुन थाले। भीष्मजी र मैले धेरै बेर सम्झाएपछि रुन छाडेर उनी पछाडिको आफ्नै सिटमा गएर निदाए। खाना खानलाई बस रोकिँदा हामी सबै झ-यौँ तर व्यास सर देखिनुभएन। बसमा हेर्न जाँदा उनी मस्तले निदाइरहेका थिए, झकझकाएर उठायौँ। उनी त ज्वरोले शिथिल भएका थिए।
कति भावुक मान्छे हेर्नुस् न। दिवगंत पत्नीलाई सम्झ्यो कि रोइहाल्ने, रोयो कि ज्वरो आइहाल्ने।
छिटै भावनामा बहकिइहाल्ने। यस्तो कमजोर हृदयको तर प्रेमिल मान्छेको नाम भने निर्मोही छ।
साहित्य भनेपछि भुतुक्क हुन्छन्। अग्रजलाई असाध्य सम्मान गर्छन्, अनुजलाई माया गर्छन्। उनको भावना कति छ भन्ने कुरा सङ्गत नगर्नेले अनुमान पनि गर्न सक्दैनन्।
पचासको दशकको प्रारम्भताका नै हो जस्तो लाग्छ। उनी कलैयाबाट काठमाडौं आएको बेला कहिलेकाहीँ घण्टाघर नजिकै कवि बलराम बन्जाराको डेरामा बास हुन्थ्यो। बास बसेका बेला रातभरिजस्तै उनी आफ्नो रचना सुनाउँथे र हामी सुन्थ्यौँ। कहिलेकाहीँ टेलिफोनबाट पनि घन्टौँ रचना सुनाउँथे र म सुन्थे।
महेन्द्रनगरको निबन्ध गोष्ठीमा जाँदा महाकाली नदीको ड्याम हेर्न गयौँ हामी। भारतीय प्रहरीले निश्चित ठाउँभन्दा उता जान दिएन। हामीले हाम्रो भूमिमा जान पाउनुपर्छ भनेर अनुरोध ग¥यौँ तर प्रहरीहरू उपरका आदेशमा तल–माथि भएनन्। आफ्नो मुलुकमा हामी आफैँ पराया हुनुको विडम्बनाप्रति निकै आक्रोश पोख्यौँ हामीले। तर गर्नु के ? हामीले नै भोट हालेर बनाएका प्रतिनिधिले हामीलाई नै देशभित्रै प्रतिबन्ध लगाएका हुन्। गराउने पो दोषी, गर्न लगाउने के दोषी ?
व्यास सर भने कतिखेर नदीमा गएर महाकालीको पानी र अलिकति माटो लिएर आएछन्। बोतलको पानी देखाउँदै उनले भनेका थिए, मैले मेची नदीको पानी पनि घरमा ल्याएर राखेको छु। अहिले महाकालीको पानी र माटो पनि ल्याएँ, अब कसले लैजान सक्छ मेरो मातृभूमिलाई ? हामीले आक्रोश पोखेर चित्त बुझायौँ तर उनले पानी र माटोलाई घरमा लिएर गए। यस्तो भावुक, संवेदनशील, शालीन र सहयोगी मान्छे निर्मोही भएर नाम कमाएका छन्।
मुलुकमा माओवादी जनयुद्धको घाउ बिसेक नहुँदै तराईमा मधेस आन्दोलन सुरु भयो, ०६३ को माघमा। मधेस आन्दोलनले तराईमा बस्ने पहाडियालाई निकै पीडित बनायो। पहाडिया देख्नासाथ अपमान गर्ने, टाउकामा लगाएको टोपी खोसेर फयाँकिदिने, सार्वजनिक रूपमा विभेद गर्ने भएपछि मधेसमा बस्नै नसक्ने अवस्था थियो। व्यास सरजस्तो संवेदन र स्वाभिमान मान्छेलाई निकै उकुसमुकुस बनाएको थियो। आन्दोलनका क्रममा भानुभक्त, महाकवि देवकोटा, बिपीजस्ता स्रष्टाको विभिन्न ठाउँका सालिक तोडफोड भएको समाचार आइरहेको थियो। कलैयामा भएका सालिकहरूलाई कसरी जोगाउने भन्ने छलफल चलिरहेको थियो, माघ १३ गते स्रष्टा दम्पती अमर त्यागी र जुनू क्षेत्रीको घरमा। त्यही बेला कलैया चोकको महाकवि देवकोटाको सालिक तोडियो भन्ने खबर आयो। सबै दुःखी हुँदै हेर्न गए। नभन्दै हो रहेछ।
धातुले बनाएको देवकोटाको सालिकको टाउको तोडेर नालीमा फालिएको रहेछ। निकै आक्रोशित भए, भावुक बने व्यास सर। बगलीको रुमाल झिकेर देवकोटाको टाउकोलाई पोको पारेर घरमा ल्याए र त्यसै दिन आफू जन्मे–हुर्केको कलैया नबस्ने निर्णय गरे। दुई रोपनी जग्गा र घर कौडीको दाममा बेचेर काठमाडौं आए। कुनै घटनाले दुःखी हुनु एउटा कुरा तर थातथलो नै छाड्नु अर्को कुरा। यसले पनि देखाउँछ व्यास सरको भावुकतालाई।
काठमाडौं आइसकेपछि पनि मधेसी नेताले पैसा मागेर फोनमा धम्की दिइरहन्थे उनलाई। दुई–तीनपटक फोनबाट धम्की आइसकेकाले उनी निकै तनावमा थिए। ०६४ सालको एक दिन उनी मधुपर्कमा आएका थिए, साथमा स्रष्टा दम्पती अमर र जुनू पनि। त्यहीबेला मधेस आफूलाई आन्दोलनको नेता बताउनेले फोन ग¥यो।
त्यही धम्कीको फोन हो भन्नासाथ मैले लिएँ र भनेँ, ‘यो फोन मैले लिइसकेको छु। तँ को होस् र कहाँबाट फोन गरिरहेको छस् भन्ने मलाई थाहा छ। फेरि फोन गरिस् भने म तेरै घरमा आएर तँलाई ठीक पार्नेछु। त्यसपछि थाहा पाउनेछस्, म को हुँ भन्ने।’ उसको केही कुरा नसुनेर मैले कडा आवाजमा बोलेर फोन काटिदिएँ। नभन्दै त्यसपछि कहिले फोन आएन छ व्यास सरलाई।
व्यास सर आफूभन्दा अग्रजलाई सम्मान गर्छन्। सानालाई माया र सम्मान पनि गर्छन्। २०७१ सालमा चितवन गीतानगरका उनका दिवङ्गत मित्र चिरञ्जीवी नेपालीका तीन पुस्तकको विमोचनका लागि मलाई प्रमुख अतिथिका लागि अनुरोध गरे। अप्ठेरो मानेर मैले अनकनाएँ। तर उनले बल गरेर भनेपछि चिरञ्जीवी नेपालीका आख्यान, निबन्ध र कविताका तीन पुस्तकको विमोचनको दिन पनि म सम्झिरहेको छु।
२०५९ मा वीरगन्जको साहित्यिक कार्यक्रममा जाँदा उनले मलाई सपेराहरूको गाउँ घुमाउन लगेको थिए, त्यो दिन पनि झलझली सम्झिरहेको छु। मधुपर्कको नियात्रा विशेषाङ्क २०६१ को सन्दर्भ होस् वा मधुपर्कका प्रतिनिधि नियात्रा २०६७ को पुस्तक प्रकाशनमा पनि हामीले जमेर सहकार्य गरेका थियौँ। २०६१ मा एनजे भिजनबाट गढीमाई मेलाको वृत्तचित्र निर्माणका लागि जाँदा पनि उनले गरेको सहयोग बिर्सेको छैन। सानो कद, उत्साही आँखाहरू, चटक्क मिलाएर कोरिएको कपालले मात्रै व्यास सरलाई चिन्न सकिन्न।
अहिले धेरै मानिस देखेजस्तो नहुन सक्छन् तर व्यास जे देखिन्छन् त्यही हुन् भन्ने लाग्छ। उनी भित्रबाट आफू जे हुन् त्यही व्यक्त गर्छन्। मान्छेअनुसारको व्यवहार गर्दैनन्। लोभ, स्वार्थमा लागेको देखिएको छैन। कुनै कुरामा पनि बेइमानी गरेको सुनिएको छैन।
साहित्य नै कर्म, साहित्य नै धर्म र साहित्य नै मर्म मान्ने व्यासको परिचय र प्रतिष्ठा पनि निर्मोही व्यास नै हो, वेदव्यास होइन।
प्रकाशित: २० मंसिर २०७७ ०५:५८ शनिबार