कला

दिन नसकेको पहेँलो सारी

संस्मरण

खेमराज पोखरेल

 

मान्छेका जीवनमा धेरै ससाना घटनाहरू हुन्छन्, जसले निजी जीवनभरि ठूलो स्तब्धता ल्याउँछ । बनाउँछ । महत्त्व राख्छ । थक्कथक्क बनाउँछ । सेन्टिमेन्टल बनाउँछ ।

यो कथा मेरो र मेरी हजुरआमाको हो । निजी हो । निजी सेन्टिमेनट हो । यो बुँदामा म भावविह्वल हुन्छु । यसो भन्दैमा यहाँहरूले भने मेरा गन्थने कुरा पढेर विह्वल हुनु पर्दैन ।  रमाउनु मात्रै हो  ।

विसं. १९५६ मा भोजपुरको भुल्के भट्टराई परिवारमा जन्मनुभएकी मेरी हजुरआमा २०३७ सालमा कात्तिकमा बित्नुभयो । उहाँ बाँचुञ्जेल जब प्रसङ्ग आउँथ्यो, भन्ने गर्नुहुन्थ्यो ‘बुझ्यौ, म भुल्केका पण्डित कर्नाखर भट्टराईकी छोरी हुँ ।’  

यसो भनिरहँदा उहाँको अनुहार खानदानको दीप्तिले धपक्क बल्थ्यो । एकदम घागडान ज्योतिषी हुनुहुन्थ्यो रे मेरी हजुरआमाका पिता कर्नाखर भट्टराई । हजुरआमाका भाइ पनि निकै नामुद ज्योतिषी हुनुहुन्थ्यो । उहाँ हाम्रो घरमा आइरहनुहुन्थ्यो । महिनौँ बसेर चिना बनाउनुहुन्थ्यो । चिना बनाउने पहाडे कागजलाई माड बनाएर दह्रो र लामो लमतन्न बनाउनुहुन्थ्यो । त्यो प्रविधिले बनाएको कागजमा माउ लाग्दैन भन्नुहुन्थ्यो । मेरो जन्म चिना उहाँले नै बनाउनुभएथ्यो । मेरो चिना करीब ८ इन्च जति चौडा र ६ फिट जति लामो थियो, अझै छ । 

तिनताक नेपाली समाजमा खानदानको निकै महत्त्व थियो । बिहेबारी गर्दा खान्दान मिलाउने चलन थियो । ‘पानी खानु मूलको, छोरी ल्याउनु कुलको’ भन्ने आहान नै थियो । त्यसकारण पूर्वी पहाडमा असाध्य खान्दानी ठानिएका भोजपुर जिल्लाको भुल्केका भट्टराईकी निरक्षर छोरी मेरी हजुरआमा र खोटाङ जिल्लाको सिम्पानीका पोखरेल परिवारको सामान्य साक्षर छोरा मेरा हजुरबासँगको बिहे यो खान्दानकै संगम थियो । रङमा हजुरआमा कालीकाली हुनुहुन्थ्यो । हजुरबा भने विशुद्ध पिठागोरे हुनुहुन्थ्यो । बिहेभन्दा पहिले केटाकेटीले आफूले हेर्न पाउने चलन थिएन । यसै मान्यताअन्तर्गत उहाँहरूको बिहे भएको थियो ।

मेरो हजुरबा र हजुरआमाको एक मात्र बुढेसकालको छोरा हुनुहुन्थ्यो मेरा पिताजी । उहाँहरूले मेरा पिताजीलाई बोलाउने नाम ‘नानी’ थियो । यद्यपि नेपाली समाजमा छोरालाई बाबु र छोरीलाई नानी भनिने गरिन्छ । तर पूर्वी पहाडमा छोरालाई पनि नानी भनिन्छ । नानी भनिने कारणले नै बुझिन्छ कि छोरालाई याने मेरा पिताजीलाई कहिल्यै गाली गर्नु हुन्नथ्यो । अनि पहिलो बुहारी खसेपछि दोस्रो बुहारीले पाएको पहिलो ‘छोरो’ सन्तान थिएँ म । नेपाली मान्यतामा घिउको लड्डु थिएँ म । हजुरबाहजुरआमाको आँखाको नानी थिएँ म । याने कि म स्पेसलमा पनि स्पेसल थिएँ । त्यसकारण हजुरआमा र मेरो सम्बन्ध संवेगात्मक थियो ।

हजुरआमा घरव्यवहारमा सरदरभन्दा दक्ष हुनुहुन्थ्यो । हजुरआमा निकै संघर्षशील हुनुहुन्थ्यो । खोटाङको सिम्पानीबाट बसाइँ सरेर सप्तरीको दौलतपुर मौजामा आउँदा जमिनदारलाई केही पैसा मालपोत बुझाएर जंगल फँडानी गर्न पाइने व्यवस्था थियो । त्यसकारण जंगल फँडानी गरेर झुप्रो हाली बस्नुभयो । जति  जग्गा फाँडे पनि हुन्थ्यो  तर बाघ लाग्ने, भालु लाग्ने, औलो लाग्ने र मान्छे सोत्तर हुने समय थियो त्यो । औलोले अहिले नै मरिन्छ, भरे नै मरिन्छ भन्ने त्रासमा बाँच्नुभएको थियो । त्यसकारण धेरै जग्गा नजोडी आफूलाई खान पुग्ने जग्गा मात्र जोडेर बस्नुभएको थियो ।

मेरी हजुरआमा घरभित्र मात्र होइन, आफ्नो खेतीपाती मात्र पनि होइन सारा समाजको काम गर्नुहुन्थ्यो । समाजसेवी हुनुहुन्थ्यो । प्रखर हुनुहुन्थ्यो । हाटबजार आफैँ गर्नुहुन्थ्यो । परिपाठ निकै जान्नुभएको थियो । एकदम हकी हुनुहुन्थ्यो । इष्टमित्र, छिमेकी खुसाउने काममा सिपालु हुनुहुन्थ्यो । गाउँघरको पन्चेतीमा सरिक हुनुहुन्थ्यो । गाउँघरमा पुरुषका हुलमा पसेर न्याय सम्पादन गर्नुहुन्थ्यो । गाउँको अग्रणी हुनुहुन्थ्यो । 

हजुरआमाका यादहरू आइरहँदा उहाँ अग्ली र ठमठम हिँडेको सम्झन्छु तर पछि उहाँ खोच्याएर हिँडेको सम्झन्छु । किनभने बजार जाँदा चिप्लिएर लडेर गोली गाँठो मर्केको थियो । त्यो जमानामा पायक पर्ने ठाउँमा डाक्टर थिएनन् । वैद्य पनि थिएनन् । गाउँभन्दा पर सहर गएर डाक्टर देखाउने चेत पनि थिएन । परिवेश पनि थिएन । घरेलु औषधि हाड्जोरा, गाईको घ्यू, रातो सिम्रिक, तातो दूध, बेसार, बोझो, भलायो आदि लगाउनुहुन्थ्यो । खानुहुन्थ्यो । प्रायः तारपिनको तेलले मालिस गरिरहनुहुन्थ्यो । समयको क्रममा त्यो गोली गाँठोको दुखाइ र सुन्निएको ठाउँ अलि विसेक भयो । अनि आफ्नो सुसेधन्दामा खोच्याङखोच्याङ गर्दै हिँड्नुहुन्थ्यो । दुखेका बेला भलायोको चोप पनि लगाउनुहुन्थ्यो । लसुन थेप्च्याएर लगाउनुहुन्थ्यो । तातोले सेक्नुहुन्थ्यो । दुखेर कटकटी भयो भने धामी देखाउनुहुन्थ्यो । मलाई प्रष्ट थाहा छ कि धामीले बोक्सी लागेको भन्थे । वायु लागेको भन्थे । वनस्खण्डी लागेको भन्थे र हामी सबै अलि पर घर भएका असहाय वृद्धाहरूलाई बोक्सी लगाउँथ्यौँ । विचरा । ती बोक्सी लागेका भनिएकामा सबै महिला थिए । वृद्ध थिए । गरीब थिए । रोगी थिए । अपहेलित थिए । असहाय थिए । अहिलेको जमानामा कथितपठित भनिएको बेलामा तथा परिवारमा पनि अझै धामी र बोक्सीका प्रयोगहरू पाइन्छन् भने तिनताकको त्यो सामाजिक चेतमा त्यो कुरा स्वाभाविक नै थियो ।

हजुरआमा तमाखु खानुहुन्थ्यो । हजुरबा र हजुरआमा माया यस्तो गर्नुहुन्थ्यो कि दुवै पालैपालो तमाखु चिलिममा हालेर तान्नुहुन्थ्यो । कैयौँ पटक आगाको फिलुङ्गा मैले पनि चिलिममा हालिदिएको छु । बिहानै ४ बजेतिर उठेर अगेनामा आगो बाल्नुहुन्थ्यो र तमाखु चिलिममा फिलिङ्गो हालेर धुवाँ उडाउनुहुन्थ्यो । हजुरआमा लहरे खोकी जस्तो खोक्न थाल्नुभएको थियो । अनि सबैजना मिलेर तमाखु खान छुटाएका थियौँ । उहाँलाई तलतल निकै लागिरहन्थ्यो । तलतलले छटपटिनुहुन्थ्यो । हामीले जतिसुकै उहाँको जीवन भइसकेको लत छुटाए पनि आखिर उहाँको मृत्यु भइछाड्यो । यो वुँदामा आइपुग्दा म जीवनलाई अचम्मको बोधका कारणले ट्वाल्ल परेर हेरिरहन्छु । मृत्यु र तलतलका पीडाको औचित्य केलाउन नसकेर लखतरान परेको हुन्छु । यसैबेला कतिपयका श्रीमान् –श्रीमतीले यो वा त्यो खान नहुने भनेर झगडा गरेको परिवेशमा म मेरी हजुरआमाको सँगै तमाखु खाने चेतलाई सम्झन्छु ।

हजुरआमासँग जोडिएका कैयौँ घटना दिमागमा आइरहन्छन् । एकदिनको कुरा हो, मेरो काम गोबर सोहोर्नु थियो । पानी सिमसिम परिरहेको थियो । म भकारो सोहोर्नुको साटो डगरमा गएर तित्री गाछीको तल साथी बोलाएर कबड्डी खेल्न थालेँ । चिप्लो थियो भुइँ । म पछारिएँ । मेरो दाहिने गोडा गोलीगाँठो मास्तिर पिँडुलामा फ्रयाक्चर भयो । बुवाको गाली त खानु नै थियो । तर हजुरआमाले मलाई आडभरोस दिएर यति चाकर गर्नुभयो कि मलाई अहिले सम्झेर आँसु आउँछ । धामीलाई फुकाउन लैजानुहुन्थ्यो । तारपिन तेलले मेरो खुट्टाको मालिस गरिदिनुहुन्थ्योे । रातो सिम्रिकलाई गाईको तातो दूधमा हालेर सधैँ खान दिनुहुन्थ्यो । म समयकालमा ठिक भएँ । 

स्वाभाविक थियो कि हजुरआमामा अनेकौँ प्रकृतिका अन्धविश्वासहरू थिए । एउटा उरन्ठ्यौलो घटना सम्झिन्छु । तिनताक मुलाको सिन्की र सागको गुन्द्रुक राख्ने चलन थियो । वर्षदिनभरिलाई आकलझुकल तिहुन त्यही नै थियो । चारछ डोको मुला ओइल्याइएको थियो । हजुरआमासँग मिलेर सिन्की हाल्ने काम मेरो थियो । सिन्की हाल्ने खाल्डो जितबहादुर र मैले खन्थ्यौँ । अनि त्यसमा केराका दाप्चा छापेर सिन्की हाल्ने काम सुरु भएको थियो । खाल्डामा पसेर सिन्कीलाई खुट्टाले थिच्नुपथ्र्यो । त्यो काम मेरो थियो । हजुरआमा मलाई त्यो बेला निबुवा कागती खान दिनुहुन्थ्यो । बोल्दा पनि अमिलो कुरा मात्रै बोल्नु  भन्नुहुन्थ्यो । यसको आसय सिन्की – गुन्द्रुक जोड अमिलो होस् भन्ने नै थियो । तर मचाहिँ चिनी, सक्खर, आँप, भन्थेँ । मेरा बालमनमा लाग्दथ्यो कि कसरी खाल्डामा राखेको सिन्की मैले चिनी भनेकै कारणले गुलियो होला त । सायद बालसुलभ विद्रोह नै थियो मेरो । पछि सिन्की निकाल्दा अमिलो नै हुन्थ्यो । तर फेरि पनि अर्कोपल्ट सिन्की खाँद्दा कागती नै भन्न लगाउनु हुन्थ्यो । अन्धविश्वास नै त होला । सिन्कीको प्रसङ्ग आउँदा पाङ्लाङ अचारको ज्यादै धेरै सम्झना आउँछ । संसारका कुनै वैभवले त्यो पाङ्लाङ अचारलाई प्रतिस्थापन गर्न सक्ने कुरै होइन ।

हजुरआमा गीता मार्गी कर्म विषयवादी हुनुहुन्थ्यो । आफ्नो जीवनको अन्तिम समयसम्म पनि घर–व्यवहारका जञ्जालमा भुलिनुहुन्थ्यो । ‘गाईलाई खोले दियौ के ?, खोई आज घाँसका बिटा ?, तोरी छर्ने बेला भयो, पासाइ साग लाउने बेला भयो । यो गर, त्यो गर’ आदिआदि भनेर भनिरहनुहुन्थ्यो । उहाँले भनेको त्यो कुरा छोराबुहारी, नातिनतिनाले मान्छन् मान्दैनन् भन्ने कुरासँग पनि कुनै मतलब थिएन । उहाँ भनिरहनु हुन्थ्यो । सिकाइरहनु हुन्थ्यो । हजुरबा उहाँलाई परमार्थ र यो बेकारको विषयबन्धनका बारेमा सम्झाउनु हुन्थ्यो । उहाँ मन्त्र जस्तै चुपचाप सुन्नु हुन्थ्यो । तर भोलि फेरि आफ्ना सन्तानले माने पनि नमाने पनि भन्न छोड्नु हुन्थेन – यो गर, त्यो गर । यो बिग्य्रो, त्यो बिग्य्रो ।

मलाई थाहा छ, कि हजुरआमा मलाई कनिकाको चाम्रे खान दिनुहुन्नथ्यो । म भने आमासँग लागेर खाइहाल्थेँ । तर म तिनताक धानको चामल, मकैको चामलको भात मुख्य खान्गी थियो । धान कुटेपछि निस्कने कनिकाको चाम्रे पकाएर हजुरआमा र आमा खानुहुन्थ्यो । काम गर्ने मान्छेलाई दिनुहुन्थ्यो । यसबेला यो घटनामा दुईवटा कुरा मेरा दिमागमा आउँछन् । प्रथम त आफू कनिका खाने अनि नातिलाई धानको सग्लो भात दिने गर्नुमा नातिको माया कति धेरै भन्ने अर्थ लगाइरहेको छु । अर्को कुरा परिवारका पुरुष सदस्यले कनिका खानु नहुने र महिलाले मात्रै खानुपर्ने कुराले सायद त्यो परम्परागत रूपमा आएको महिलापुरुष बिचको विभेद थियो होला । जे भए पनि अज्ञान वा अनजानवश भएको थियो त्यो । तर म यसलाई अहिले नातिप्रति गरिएको मायाकै रूपमा बुझिरहेको छु ।  

उहाँ जहिले पनि पेट दुख्यो भन्नुहुन्थ्यो । पेटमा गानो गोला छ भन्नुहुन्थ्यो । सेक्नुहुन्थ्यो । मसार्न लगाउनुहुन्थ्यो । सामान्य तथा विशेष दुखाइमा डाक्टरी औषधि गराइन्न थियो । त्यो बेलाको चेत नै त्यस्तै थियो । औषधि उपचारको सहज व्यवस्था पनि थिएन । डाक्टर देखाउन विराटनगर पुग्नुपथ्र्यो । उहाँलाई बेथाले च्यापेर ढलेपछि विराटनगर लगिएको थियो । तर दुर्भाग्य उहाँलाई फोक्सोको क्यान्सरले २०३७ सालमा लग्यो ।

मेरो उमेर १६ वर्षको भएपछि नै मलाई केटी दिन आउन थालेका थिए । जहिले पनि हजुरआमा मलाई भन्नुहुन्थ्यो – कृष्ण, तेरो बिहेमा म पहेँलोमा रातो पारी भएको सारी लगाउँछु है । छिट्टै बिहे गर न । म पनातिको मुख हेरेर मात्र मर्छु ।

तर मैले त्यतिबेला बिहे गर्न मानिनँ । आफू पढेर र आफ्नो खुट्टामा उभिएर मात्र बिहे गर्ने कुरा मेरा मनमा थियो । समाजले पनि त्यही सिकाएको थियो । अहिले पनि नेपालमा पहिले पढाइ सक्ने, जागिर खाने अनि मात्र बिहे गर्ने भन्ने दर्शन छ । यो कुरा करीब १० वर्षसम्म चल्यो । हजुरआमा पहेँलो सारीको पारीमा रातो रङ खोजिरहनुभयो । मैले टारिरहेँ । पढाइ सकेर आफ्ना खुट्टामा उभिएर मात्र बिहे गर्ने रटान लगाइरहेको थिएँ । किनभने मलाई मेरी हजुरआमा मर्नुहुन्छ जस्तो नै लाग्दैनथ्यो । दुईचार वर्ष पछिको त कुरा हो जस्तो लाग्थ्यो । त्यो बेला मैले मान्छेको जरामरणका बारेमा सिद्धान्त बुझेर पनि आफूले व्यवहारमा सम्झन सकिनँ । आखिर मृत्युले कसलाई छोड्छ र ! यसले मलाई एउटा पाठ दिएको छ कि जे गर्नु छ, आजै गर, भोलि जीवनमा नआउन सक्छ ।

यस सम्बन्धमा पूर्वीय दर्शनले पढाइ हुञ्जेल ब्रह्मचर्यको उपदेश दिन्छ । पूर्वीय दर्शनले मान्छेमा आउने यौनेच्छालाई प्रारम्भमा दमन गर्न सिकाउँछ । शिक्षा प्राप्त गरेपछि एउटा कामको सुरुवात भएपछि मात्र बिहे गर्ने अर्ती दिन्छ । यसै दर्शन अनुसार नेपालमा पढाइ, यौन र कमाइलाई पालैपालो समाधान गर्ने गरिन्छ । तर पश्चिमी दर्शनमा पढाइ, यौन र कमाइलाई सँगसँगै लान सिकाइन्छ । एउटा मान्छे आफ्नो यौनाभिमुख उमेर भएपछि यौन क्रियामा पनि संलग्न हुन्छ । पढाइ पनि गर्छ र सो धान्न कमाइ पनि गर्छ । यो कारणले पूर्वीय दर्शनमा मान्छे पराभिमुख बन्न पुग्छ भने पश्चिमी दर्शनमा आत्म निर्भरताको बाटोमा अगाडि बढ्छ ।

हजुरआमा २०३७ सालमा बित्नुभयो, मैले २०४० सालमा बिहे गरेँ । मेरो जीवनमा २०३६ सालमा बिहे गर्नु र २०४० सालमा बिहे गर्नुले खासै तात्त्विक असर परेन । २०४० सालमा बिहे गर्दा पनि मैले कुनै आकाशपाताल झारिनँ । उस्तै सरदर जिन्दगी बाँचे । त्यो परिवेश र कुरा सम्झँदा अहिले मेरो हृदय विदारक भएर आउँछ । आखिर मेरी हजुरआमाले पहेँलो सारी लाउन नपाइ जानुपर्यो । म अभागी र ग्लानि अनुभूत गर्छु यो क्षणमा ।

हजुरआमा थलिनुभएको थियो । ओछ्यानमा सुत्दासुत्दा पिठ्यूँमा घाउहरू आउन थालेका थिए । ऐयाऐया गर्नुहुन्थ्यो । छेउमा बसेर खोले जाउलो खुवाउनुपथ्र्यो । अनि मैले उहाँसँग त्यही अवस्थामा आफ्नो बिहे गर्ने कुरो रुँदै गरेको थिएँ । किनकि गाउँमै मलाई केटी दिँदै थिए । केटी पक्ष तयार थिए । तर हजुरआमा यति अशक्त हुनुहुन्थ्यो कि बोल्न सक्नु भएन । हजुरआमाका आँखाबाट आँसु तर्र झरे । हातका इशाराले ‘भो पर्दैन’ भन्नुभयो । मेरो जीवनभरि यो खुट्किलो रह्यो ।

त्यो बेला मैले शाखा अधिकृतको फाराम भरेको थिएँ । हजुरआमा अशक्त भएर खाटमा लेटिरहेको अवस्था थियो त्यो । विराटनगर अस्पतालले माया मारेर विदा दिएको अवस्था थियो त्यो । मैले शाखा अधिकृतको लोकसेवा दिन धनकुटा जानु थियो । तयारी पर्याप्त थिएन र पनि मलाई पठाइयो । म गएँ । तिनताक धरानबाट हिँडेर जानुपथ्र्यो धनकुटा । चारवटा पेपरको परीक्षा दिनु थियो । मलाई झण्डै १२ दिन त धनकुटामा नै लागि हाल्यो । घर फर्केर आउँदा कञ्चनपुरमै केदार निरौलाज्यूले मलाई हजुरआमा बितेको खवर भन्नुभयो । उहाँ तिनताक कञ्चनपुर हुलाकमा हुनुहुन्थ्यो । घर आउँदा त्यसैदिन १० दिन भएको रहेछ । यसरी मैले हजुरआमाको अन्तिम अनुहार पनि हेर्न पाइनँ । न त लोकसेवा नै पास गरेँ न त पहेँलो सारी नै दिन सकेँ । 

मलाई थाहा छ, मान्छे अजम्बरी छैन । जन्मेपछि मर्छ । तर जीवनमा गरिएका ससाना निर्णयहरूले जीवनभर पछ्याइरहन्छन् । अहिले पनि जब त्यो  दाहिने पिँडुलाको हड्डी दुख्छ, म हजुरआमालाई सम्झन्छु । अहिले पनि जब मेरो बिहेका फोटाहरू हेर्छु, मेरा आँखाले हजुरआमालाई पहेँलो सारीमा हेर्न खोज्छन्  र म त्यो मिठो मायालाई सम्झन्छु । मैले जानेर हजुरआमाको चित्त दुखाएको सम्झना छैन मलाई । तर दिन नसकेको पहेँलो सारी जीवनभरि आइरहन्छ । मेरो उटपटयाङ निर्णय देखापर्छ । अनि म अहिले पनि भावविह्वल हुन्छु ।

(नोबेम्बर ६, २०२०, सान एण्टोनियो, अमेरिका)

प्रकाशित: २४ कार्तिक २०७७ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App