अवतार ढकाल
राजबहादुर खत्री क्याम्पसबाट कोठातर्फ फर्किरहेको थियो । पहाडी जिल्लाको दुर्गम गाउँबाट भविष्य खोज्न राजधानी आएको थियो । बिहान गुन्द्रुकको झोलसँग खाएको भातले छाडिसकेको थियो ।
दायाँबायाँका खाजाघरहरूबाट आइरहेको बास्नाले उसको भोक बढाइरहेको थियो । केही समय खुट्टा घिसार्यो । भोक खप्न नसकेपछि एउटा खुद्रा पसलको बाहिर बेन्चमा बसेर दस रुपैयाँको नरिवल बिस्कुट चपाउन थाल्यो ।
‘ओ बैनी, मेरो कुकुरलाई खुवाउने गरेको एक प्याकेट नरिवल बिस्कुट देऊ त ।’ एउटी अधबैंसे महिलाले पसलमा बसेकी महिलालाई भनी ।
उसले चपाउँदै गरेको बिस्कुट मुखमै थियो । न ओकल्न सक्यो न निल्न । पहिले कहिल्यै महसुस नगरेको गरीब हुनुको पीडाले मर्माहत भयो ।
त्यसको पर्सीपल्ट गुमनाम राजबहादुर राजधानीबाट स्वनिर्वा्सित भइसकेको थियो । अब कमरेड राजले मध्यपश्चिमको कुनै अज्ञात घना जङलमा मुठ्ठी कसेर सलाम गर्न, परेड खेल्न, हाते बम खेलाउन र बन्दुक पडकाउन सिकिसकेको थियो ।’
शान्ति सम्झौतापस्चात उसले बन्दुक बिसायो अरूसँगै । अब ऊ एक प्रभावशाली नेता कमरेड राज थियो । राजधानीमा आफ्नै घर थियो । महंगो गाडी थियो । जर्मन कुकुर थियो । एउटा समृद्ध सँसारको मालिक बनेको थियो विगतको राजबहादुर खत्री ।
ऊ पुरानो सम्झनाले उही पुरानो खुद्रा दोकानमा गयो र कुकुरलाई नरिवल बिस्कुट किन्यो ।
खुद्रा पसल बाहिरको टुलमा बसेर एउटा भर्खरै गाउँबाट आएकोजस्तो देखिने नवयुबक त्यही बिस्कुट चपाइरहेको थियो । टाउकोमा बाँधेको रुमालले थाहा हुन्थ्यो कि ऊ कमरेड राजकै पार्टीको कार्यकर्ता थियो ।
प्रकाशित: २३ कार्तिक २०७७ १०:३३ आइतबार