कला

सेल्फी

लघुकथा

लक्ष्मी उप्रेती

 

  विकट गाउँमा वर्षैदेखि आमाबुबाको सेवा गरेर बसेकी सन्तुमाया निकै बिरामी भन्ने सुनेपछि मुनाले उपचार गर्न ल्याइन्। त्यसबेला सन्तमायाकी  बैनीलाई बुबाआमाको रेखदेख गर्ने वातावरण मिलाइन्। केही दिनको उपचारपछि सन्तुमाया तङ्ग्रिन्। पूरै ठिक भएपछि उनी गाउँ जाने तयार भइन्।  

गाउँ जानु पाँच दिनअघि मुनाले भनिन्,  ‘ए दिदी, सेल्फी खिचौ, आउनुस्  न।’    

‘बहिनी सेल्फी भनेको के हो नि।’  सन्तुमायाले सोधिन् ।  

– सेल्फी भनेको आफ्नो फोटो आफै खिच्ने नि।

– ए, कसरी खिच्नु आफ्नो फोटो आफैले अनि क्यामरा खै त !  

– क्यामरा पर्दैन नि दिदी। मोवाइलले खिच्ने । यी हेर्नु त यसरी !

बैनीले मोवाइल आफूअगाडि पारेर ल्किक गरिन्।  

– ए साँच्चै पो खिच्दो रैछ त। यसो सन्याकसुनुक पनि पार्न नपाई खिचिन् यिनले त ।

– पार्नु न त सन्याकसुनुक्क। फेरि खिच्दा भैहाल्छ नि।  

– आ हुन्देऊ । फोटो खिच्ने रिललाई पनि पैसा नै लाग्छ। कति खर्च गछर्यौ !  

– जति खिचे पनि पैसा लाग्दैन दिदी। क्यामराको रिल जस्तो हैन नि क्या ।

– ए हो र ! त्यसो भए त एकछिन है त।  

चटक्क परेर फोटो खिच्न उभिन्छिन् सन्तुमाया।

कटट तीन चारवटा फोटो उनको खिचिन् अनि सेल्फी खिच्न सँगै उभिए। पोजपोजको सेल्फी खिचे।  

दुई दिनपछि बैनी म पर्सि गाउँ जान्छु। अस्ति खिचेका , तीनवटा फोटा गाउँ लैजान पाए हुन्थ्यो। धोएर ल्याउनु न ल । धुनलाई चै पैसा लाग्ला कि नलाग्ला !  

– अलिअलि लाग्छ।

– पैसा लाग्छ भनेपछि सन्तुमायाले अँध्यारो मुख लगाएर भनिन्, ‘हुन्दिनु त नानी फोटोसोटो पर्दैन धुनु।!

मुनाले केरिन्, ‘किन नि !’

‘फोटो धुने पैसाले त बैनी र छोरीलाई चुरा लगिदिन्छु।’ आफ्नो लाचारी देखाइन्।  

त्यसबेला मुना मुसुक्क हाँसिन् र अफिस गइन्।  

साँझ घर फर्किदा सन्तुमाया भएका सबै फोटा बनाइदिइन् अनि उनलाई साडी सेट र उनकी बैनी र  छोरीलाई चुरा टिका र राम्रो एक एकजोर कुर्तासरवाल किनेर ल्याइन् र लु दिदी तपाईँका फोटा अनि तपाईँहरूको  समान भनेर दिइन्। झोला खोलेर सरर फोटो हेरिन्, मुस्कुराइन्। छोरीका समान हेरिन् ।  लामो स्वास लिदै झन् मुस्कुराइन् र बैनीका पनि हेरिन् र अहा बैनी कति खुसी हुन्छे भनेर रमाइन् अनि आफ्नो साडी सेट हेरेर त बरर रून पो थालिन्।

 ऊ रोएको देखेर मुनाले दिदी  तपाईँलाई यी लुगा मन परेन भने भोलि तपाईँलाई नै रोजाएर किन्दिन्छु नि भनिन्। उनको कुरा सुनेर बैनी मैले यति राम्रो लुगा आजसम्म लाउन पाएको थिएन किन मन नपर्नु। मलाई त खुसीले पो यसरी रुन आएको त भनेर आँसु  लतपतिएको अनुहारमा फेरि मुस्कुराइन् ।

प्रकाशित: २१ कार्तिक २०७७ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App