कला

ट्रम्पेरिकाबाट मुक्ति खोज्दै अमेरिका

प्रदीप भट्टराई 

अमेरिका यतिबेला मूलतः दुई रङमा रंगिएको छ, रातो र नीलो। यिनै दुई रङमा रंगिएर कि रातो क्रमशः गाढा रातो बन्दैछ कि नीलो क्रमशः गाढा नीलो। कि रातो क्रमशः फिक्का रातो हुँदै नीलो हुँदैछ। सम्भावना नीलो क्रमशः फिक्का नीलो हुँदै रातो पनि हुने हुन्छ। विगतमा यस्तो भएको पनि हो। तर, यसपटक त्यस्तो भएको छैन। अमेरिकाको नक्साबाट रातो रङ घट्दै जाँदा नीलो रङ थपिँदैछ।

नीलो र रातो रङको यो जोड घटाउले बनाएको ’स्टार्स एन्ड स्ट्राइप्स’ क्यानभासमा नीलो गधा र रातो हात्ती दौडिरहेका छन्। नीलो गधामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडन सवार छन् भने रातो गधामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्प। यी दुईको नेतृत्वमा लगभग सिंगो चिरामा बाँडिएर अमेरिकी जनता यो दौडको साक्षी किनारामा बसेका छन्।

हरेक चार वर्षमा आयोजना हुने यो दौडमा सवार व्यक्तित्व फेरिए पनि लक्ष्य भने एउटै हुन्छ, २७० इलेक्ट्रोल कलेज मत। अमेरिकामा बहुमत ल्याएर हुँदैन, अजबको गजबको त्यही जादुगरी संख्या ल्याउनुपर्छ लक्ष्य भेट्नलाई। जसले त्यो लक्ष्य हासिल गर्छ, उसले चार वर्षका लागि ह्वाइट हाउस पाउँछ। सेतो रङको यो घर संसारकै एक मात्र महाशक्ति राष्ट्र भनिने अमेरिकाका राष्ट्रपतिको कार्यालय र निवास हो। यो घरमा ४६औँ रोल क्रममा बस्ने को हुन्छ ? हात्तीवाला ट्रम्प या गधावाला बाइडन ? आगामी नोभेम्बर ३ मा त्यसैको छिनोफानो हुँदैछ।  

यतिबेला अमेरिका त्यही पात्र छिनोफानो गर्ने पूर्वसन्ध्यामा छ। त्यसका लागि अमेरिकाभित्र र बाहिर रहेका लाखौँ अमेरिकी मतदाताले मतदान गरिसकेका छन्। मेल ब्यालेट र एब्सेन्टी ब्यालेट भनिने त्यो मतपत्र सिलबन्दी भएर मेलबक्समा खसिसकेको छ। यो क्रम लगभग अक्टोबरको अन्तिम समयसम्मै जारी रहनेछ। कतिसम्म जारी राख्ने ? त्योचाहिँ सम्बन्धित राज्य सरकारले निर्धारण गर्छ। सामान्यतः रातो रङका राज्यले कम राख्छन्, नीलो रङका राज्यले बढी।  

चिर प्रतीक्षित नोभेम्बर ३ आउन केही दिन बाँकी छ। अहिलेको अवस्थामा १६ राज्य गाढा नीलो भएर गधाका लागि १९५ इलेक्ट्रोल कलेज मत १९५ सुरक्षित देखिएको छ भने २२ गाढा राता राज्यले हात्तीका लागि १७९ इलेक्ट्रोल कलेज मत मात्र सुरक्षित गरेको छ। १६४ इलेक्ट्रोल कलेज मत अमेरिकी चुनावी भाषामा स्विङ स्टेट्स वा ब्याटल ग्राउन्ड स्टेट भनिने नौ राज्यमा रहेको छ। रङ फेरिरहने यी राज्यले नै नीलो गधा चम्काउने कि रातो हात्ती लम्काउने निर्णय गर्ने हुन्।  

बितेको चार वर्षमा ट्रम्पले अमेरिकालाई ट्रम्पेरिका बनाइदिए। अमेरिकीले संसारलाई पढाउने गरेका लोकतन्त्रका सारा पाठ उनले उल्ट्याइदिए। र, अमेरिका जे देखिन्छ, त्यो होइन भन्ने प्रमाणित गरिदिए। अमेरिकी समाजशास्त्री चिन्तक नोम चोम्स्कीले भनेकै छन्, ‘अमेरिकाको लोकतान्त्रिक रूप शक्तिशाली अमेरिकी मिडियाले बनाइदिएको हो भने सार चाहिँ फेरि पनि टु जी अर्थात् ‘गन’ र ‘गड’ले नै बनाइदिएको हो। ट्रम्प त्यही सिक्काको एक मोहरा हुन्।’

पछिल्ला समय गरिएका सबै राष्ट्रिय सर्वेक्षणले नीलो गधा चम्केको र रातो हात्ती थाकेको देखाएका छन्। अमेरिकी राजनीतिक पण्डितहरू पनि विभिन्न मोडलको सन्दर्भ दिँदै नीलो गधाको पक्षमा २९० कलेज इलेक्ट्रोल मत पुगिसकेको बताउन थालेका छन्। यद्यपि, रातो हात्तीमा सवार ट्रम्प र उनका अनुयायीहरू २०१६ को राष्ट्रपति चुनावमा मत सर्वेक्षण गर्नेहरू चक्मा खाएको बताउँदै यसपटक पनि त्यस्तै हुने बताइरहेका छन्। तर, उनीहरूको अनुहारले भने त्यस्तो बताइरहेको छैन। कलेटी परेका ओठबाट निस्किने शब्दले ओज हराउँदै गएको प्रस्ट देखिन्छ। अहिले उनीहरू भगवान्को शरणमा परेर भन्न थालेका छन्, ‘यसअघि जसरी नै यसपटक पनि भगवान्ले ट्रम्पलाई राष्ट्रपति बनाउनेछन्।’

यसपटक भगवान् पनि दाहिना छन् जस्तो देखिएको छैन। ट्रम्पका लागि एकपछि अर्को गरेर अशुभ समाचार आइरहेका छन्। त्यसमा पनि अहिले उनी स्वयं कोभिड–१९ बाट संक्रमित भएका छन्। प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसका उनका एकसे एक योद्धालाई कोरोनाले ढालिरहेको छ। चुनावको मुखमा ह्वाइट हाउस कोरोनाको हटस्पट भएको छ र रातो हात्तीसँगै यसमा सवार सेनापति ट्रम्प पनि ढलेका छन्।  

यो परिघटना जुन समयमा भएको छ, त्यो सामान्य छैन। जीवन र मरण प्रश्न बनेको राष्ट्रपति चुनाव लगभग तीन साता बाँकी रहँदा सिर्जना भएको यो अवस्था अमेरिकाको इतिहासमै एउटा अकल्पनीय अवस्था हो। त्यसमा पनि राष्ट्रपति ट्रम्प अमेरिकाका यसअघिका राष्ट्रपतिजस्ता छैनन्। उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसमा अमेरिकी मूल्य–मान्यताको नयाँ अध्याय लेखिरहेका छन्।

कोभिड–१९ बाट संक्रमित ट्रम्पले अस्पताल भर्ना भएपछि जे जस्ता क्रियाकलाप गरिरहेका छन्, ती आफैँमा अचम्मलाग्दा छन्। उनी कोभिड– १९ संक्रमित भएपछि पनि जानकारी नदिई सार्वजनिक कार्यक्रममा सहभागी भएको प्रमाण मिलेको छ। कोभिड– १९ संक्रमित भएको स्वीकार गरेर अस्पताल पुगेका उनी तीन दिनमै ह्वाइट हाउस फर्केर ओभल अफिस पुगेका छन्। १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने आफ्नै प्रशासनको सिडिसी गाइड लाइन्सलाई उनले ठाडै उल्लंघन गरेका छन्। यसले अमेरिकी राष्ट्रपतिलाई कुनै कानुन नै नलाग्ने जस्तो अवस्था देखिन पुगेको छ। यसले अमेरिकी सभ्यताको मानक खस्किएको र अमेरिकी प्रतिष्ठा दाउमा लागेको बहुमत अमेरिकी जनताले अनुभूति गरिरहेजस्तो देखिन्छ।  

राष्ट्रपति ट्रम्प ओभल अफिस फर्केपछि उनले गरेका ट्विट र लिएका निर्णय हे-यो भने उनी सामान्य अवस्थामा छन् जस्तो देखिएको छैन। यसले यसअघि नै धेरै अप्ठेरोमा पु¥याएको उनको चुनावी क्याम्पेन थप अप्ठेरोमा पुगेको छ। हुँदाहुँदा उनी ठाडै भनिरहेका छन्, ‘यो चुनाव म जित्छु, मैले हार्नु भनेको धाँधली हुनु हो। त्यस्तो निर्णय मान्न म बाध्य छैन।’

उनको यो पछिल्लो भनाइ अमेरिकी प्रजातन्त्रसँग संगति मिल्ने कुरा मानिँदैन। तर, उनले त्यसो नगर्लान् भन्न सकिन्न। पछिल्लो समय अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको नियुक्ति गरेर बहुमत पु-याउने हतारो पनि यसैसँग जोडिएको छ। चुनावी नतिजालाई अदालतमा पु-याउने र आफ्नो पक्षमा निर्णय गराउन नै यो हतारो गरिएको ट्रम्प समर्थक सिनेटरहरू नै भनिरहेका छन्। स्वयं ट्रम्पले भनेका छन्, ‘चुनावपछिको अवस्थामा हामीलाई पूरै कोरम पुगेको नौ सदस्यीय सर्वोच्च अदालत चाहिन्छ।’  

यसैबीच ट्रम्पको स्वास्थ्य अवस्था र उनको उम्मेदवारीलाई लिएर अब के हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ। ट्रम्प उम्मेदवार भएको मतपत्रमा दशौँ लाख अमेरिकीले मतदान गरिसकेका छन्। उनी स्वस्थ भएर आफ्नो उम्मेदवारी कायम राख्न सके भने त समस्या भएन। अन्यथा भयो भने के हुन्छ ? अमेरिकाले यसअघि यस्तो प्रश्नको कहिल्यै सामना नगरेकाले यसको उत्तर ऊसँग छैन। त्यसमा पनि ट्रम्पले अमेरिकालाई ठाडै दुई चिरामा विभाजित गरेर अप्ठेरो अवस्थामा पु-याइदिएकाले पनि दुवै चिराका अमेरिकीलाई मान्य हुने समाधान खोज्न सहज छैन।  

राष्ट्रपति ट्रम्पलाई कोभिड–१९ भएपछिको चुनावी अंकगणितको आकलन सुरु भएको छ। उनका प्रतिपक्षीहरू यो घटनाले उनको दोस्रो कार्यकालको दाबी अरू फिक्का भएको बताइरहेका छन्। केही समयअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति, चीन सम्बन्ध, डेमोक्रेटलाई लगाइएको कम्युनिस्टको बिल्ला लगायतका मुद्दामा भड्किएको अमेरिकी चुनाव अब कोभिड–१९ माथिकै जनमत संग्रहका रूपमा फर्केको उनीहरूको विश्वास छ। कोभिड–१९ लाई होक्स भनेर ठाडै नकारिरहेका राष्ट्रपति ट्रम्प र उनको दक्षिणपन्थी किल्ला कोरोनाको इपिसेन्टर बनेपछि अमेरिकी जनतामा उनीमाथिको विश्वास पातलिनु स्वाभाविकै हो।  

अमेरिकामा राष्ट्रपतिको स्वास्थ्य अवस्थाको ठूलो अर्थ हुन्छ। उनीहरू शारीरिक र मानसिक दुवै कोणबाट एक स्वस्थ राष्ट्रपति चाहन्छन्। ट्रम्पको मानसिक स्वास्थ्यका बारेमा त यसै पनि प्रश्न छ नै, शारीरिक स्वास्थ्यका बारेमा पनि प्रश्नचिह्न लागेको छ। यो संक्रमणले उनलाई रोग प्रतिरोधात्मक क्षमता नभएको एक रोगी मानिसको रूपमा प्रस्तुत गरेको छ। यसअघिका दृष्टान्त हेर्दा के पाइन्छ भने अमेरिकी मतदाता एक रोगी उम्मेदवारलाई राष्ट्रपति छान्न तयार हुँदैनन्।

तर, ट्रम्प समर्थकहरू उनका प्रतिस्पर्धीहरूको मतसँग सहमत छैनन्। उनीहरू आफ्ना नेता कोभिड–१९ लाई पराजित गरेको र एक योद्धाका रूपमा अमेरिकी मतदाताको भारी मतका साथ दोस्रो कार्यकालका लागि विजयी हुने विश्वास गर्छन्। उनीहरूलाई लागेको छ, भगवान्ले उनलाई नयाँ जीवन दिएर अमेरिकी जनताका लागि पठाउँछन्। यसअघि जसरी भगवान्को इच्छामा उनी राष्ट्रपति चुनिए, यसपटक पनि त्यही दोहोरिन्छ।  

यसरी ट्रम्पका समर्थक र विरोधीहरू परस्पर विरोधी आशा र विश्वासको आकलन गरिरहेका बेला केही राजनीतिक पण्डित भने ट्रम्पको स्वास्थ्यमा गम्भीर समस्या आएमा नोभेम्बर ३ मा चुनाव हुने कुरामै शंका व्यक्त गर्छन्। उनीहरूको मत छ, यस बारेमा अमेरिकी संविधान मौन छ। त्यही मौनताको आफू खुसी अर्थ लगाएर यहाँ के हुन्छ भन्दा पनि के हुँदैन भन्न सकिन्छ।  

राष्ट्रपति ट्रम्पलाई कोभिड–१९ संक्रमण भएको पछिल्लो परिघटनालाई लिएर अमेरिकामा केही कन्स्पिरेसी थ्यौरी पनि बाहिरिएका छन्। उनीहरूको मत छ, राष्ट्रपति ट्रम्पले हार्ने अवस्था सिर्जना भएकाले यो उनले जानी बुझीकन गरेको एक नाटक मात्र हो। उनलाई पहिल्यै कोभिड–१९ भइसकेको थियो, जित्ने अवस्था भएको भए उनले यसलाई अनेक उपाय लगाएर पनि बाहिर ल्याउँदैनथे। तर, जब त्यो सम्भावना रहेन, त्यसमा खेल्ने उनको यो दाउ हो। उनी चुनावलाई पर धकेल्न चाहन्छन्।  

झट्ट सुन्दा विश्वासै गर्न नसकिने जस्तो लाग्छ यो अनुमान। तर, राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने संकथन नै छ। त्यसमा पनि ट्रम्पले गर्ने राजनीतिमा त केही पनि नाजायज छैन भन्ने जस्तो स्थिति नै बनिसक्यो। हुँदाहुँदा उनले आफ्नो विश्वसनीयता यति धेरै गुमाएका छन् कि उनका आफ्नै समर्थक पनि भन्छन्, ‘हो ट्रम्पले ढाँट्छन् तर हामीलाई उनको त्यही ढाँट्ने बानी राम्रो लाग्छ।’  

बितेको चार वर्षमा ट्रम्पले अमेरिकालाई ट्रम्पेरिका बनाइदिए। अमेरिकीले संसारलाई पढाउने गरेका लोकतन्त्रका सारा पाठ उनले उल्ट्याइदिए। र, अमेरिका जे देखिन्छ, त्यो होइन भन्ने प्रमाणित गरिदिए। अमेरिकी समाजशास्त्री चिन्तक नोम चोम्स्कीले भनेकै छन्, ‘अमेरिकाको लोकतान्त्रिक रूप शक्तिशाली अमेरिकी मिडियाले बनाइदिएको हो भने सार चाहिँ फेरि पनि टु जी अर्थात् ‘गन’ र ‘गड’ले नै बनाइदिएको हो। ट्रम्प त्यही सिक्काको एक मोहरा हुन्।’  

अहिलेको अवस्थामा अमेरिकामा अब के हुन्छ ? यसको उत्तर कसैको पनि अधीनमा छैन। अहिलेलाई यति भन्न सकिन्छ, ‘भगवान्, अमेरिकालाई आशिष देऊ। तर, त्यसको परिणाम के हुन्छ, त्यो भगवान् छन् भने उनैलाई पनि थाहा छैन।’

प्रकाशित: २४ आश्विन २०७७ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App