कला

जात भनेको के हो ?

बालकथा

गीता अधिकारी

 

मनिष र आशिष दुवै स्कुलमा एकदम मिल्ने साथी हुन् । स्कुलमा सँगै बस्ने र सँगै पढ्ने दुवै पढाइमा पनि उत्तिकै अब्बल थिए । उनीहरू अतिरिक्त क्रियाकलापमा पनि उतिकै अग्रसर हुन्छन । जसले गर्दा सरम्यामको नजरमा राम्रा विद्यार्थीका रूपमा उनीहरू पर्दै आएका छन् । स्कुलमा अन्य साथीहरूसँग पनि उनीहरू उतिकै घुलमिल हुन्थे । दुवै जना अन्य साथीहरूका समस्यामा एक भएर समाधान गर्नेतर्फ लाग्छन् । उनीहरू यति धेरै मिल्थे कि स्कुल टिफिनमा खाजा सँगै खान्थे । घरबाट ल्याएको खाजा होस् वा कहिले स्कुलकै टिफिनमा तयार भएको खाजा होस् सधैँ बाँडीचुँडी खान्थे । सबैसँगको राम्रो व्यवहार गर्ने उनीहरू कसैलाई नराम्रो गर्दैनथे भने कक्षामा कमजोर साथीहरूलाई सिकाउन सहयोग गर्थे ।

दुर्गम जिल्लाकै सदरमुकाममा रहेको स्कुलमा पाँच कक्षामा अध्यनरत उनीहरूको व्यवहार निकै राम्रो थियो । आफ्नो सरसफाइ उनीहरू सचेत देखिन्थे भने स्कुलको सरसफाइमा पनि उतिकै चाखपूर्वक लाग्ने गर्थे । स्कुलमा र अन्तरस्कुलमा हुने खेलकुद, हाजीरी जवाफ, वक्तृत्वकला प्रतियोगिता लगायतकामा उनीहरूको प्रतिस्पर्धा हुने भए पनि प्रतियोगिता पछि दुवैले एक अर्कालाई बधाई दिने गर्दथे ।

एकदिन मनिषले आशिषलाई आफ्नो दिदीको विहेमा बोलायो । उनीहरू एकदम मिल्ने भए पनि एक अर्काको घर परिवारसँग भने चिरपरिचित थिएनन् । मनिषको बाबाआमा कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । मनिषको दिदी, दाइ पनि बाहिर नै बसेर पढिरहेका थिए भने मनिष हजुरबुबाआमासँग बसेको थियो । विहेको दिन घरमा एकदम रमाइलो भएको थियो । सबै जना हासीखुसी देखिन्थे । कोही कता कोही कता काममा दौडिरहेको थियो । मनिष पनि नयाँ कपडामा राम्रो देखिएको थियो । यसै पनि ऊ गोरो राम्रो थियो ।

दिदीको बिहेमा घरको माहोल रमाइलो थियो । जन्ती आउने  समय भइसकेको थिएन । घरपक्षमा मानिसहरूको उपस्थिति बाक्लो थियो । मनिषले आशिष कतिबेला आउँछ भनेर ऊ आउने बाटो हेरिरहेको थियो । यतिकैमा अलिक ढिलो गरी आशिष आफ्नो दाइसँग आयो । आशिषले त्यहाँ आफ्ना बाबा र अंकलहरूलाई पनि देख्यो । उसका बाबा र अंकलहरू बिहेमा बाजा बजाउन आएका रहेछन् । आशिषलाई थाह थिएन । आशिष आएको देखेपछि मनिष दौडेर लिन गयो । आशिषले आफ्ना बाबा र अंकलहरूतिर लगेर मनिषलाई परिचय गरायो । मनिषले पनि नमस्कार ग¥यो । मनिषले हातमा समातेर आशिषलाई घरतर्फ लग्यो । यतिकैमा मनिषका हजुरबाबाले उसलाई कहाँ जान लागेको मनिष भन्दै रोक्नुभयो । मनिषले ऊ मेरो साथी आशिष भन्दै हजुरबाबासँग परिचय गरायो र घरभित्र लान खोज्यो । हजुरबाबाले फेरि मनिषलाई कहाँ जान लागेको, जान मिल्दैन भन्दै रोक्नुभयो । मनिषले ‘किन र हजुरबा ?’ भन्दै प्रश्न ग¥यो । हजुरबाले मनिषलाई कुनातिर लगेर ‘ऊ तल्लो जातको हो क्या’ भन्नुभयो । मनिषले बुझेन उसले भन्यो यो ‘जात भनेको के हो ? ऊ त मेरो स्कुलको सबैभन्दा प्यारो साथी हो । हामी त घरभित्र जान्छौ भन्दै जिद्धी ग¥यो । मनिषको जिद्धीले सबै उनीहरूतर्फ आए । मनिषको बाबाआमा पनि आउनुभयो । मनिषले बाबाआमालाई सोध्यो, ‘यो जात भनेको के हो ? मेरो साथीलाई किन घरमा नदिनुभएको ?’

मनिषको बाबाले भन्नुभयो, ‘यो पहिलाको कुरा हो । हामी सबै एकै हौ । हुन्छ ।  साथीलाई भित्र लिएर जाऊ ।’

मनिष खुशी हुँदै आशिषलाई लिएर भित्र गयो । अहिले पनि गाउँघरमा जातपातका कुरा भए पनि उनीहरूलाई त्यसको कुनै मतलव थिएन । आशिषका बुबा र अंकलहरू पनि खुशी भए । मनिषको व्यवहारले एउटा क्रान्ति नै ल्यायो भनेर सबैले प्रशंसा गरे ।  

प्रकाशित: २६ भाद्र २०७७ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App