कला

मेरो उद्देश्य

कविता

रामविक्रम थापा

 

आकाशमा तारो छ

पुग्न निकै गाह्रो छ

उमेर चौधपन्ध्रमा

छुनै पर्ने चन्द्रमा

 

पखेटा नि आए त

चरी बन्न पाए त

उड्न पाए भुरुरु

पुग्थेँ होला खुरुरु

 

अक्षरका बलले

झुक्छ वृक्ष फलले

आत्मबल बढ्दै छ

उद्देश्यमा चढ्दै छ

 

सिक्नु , बुझ्नु धेरै छ

पालो अब मेरै छ

सुमार्गको मतिमा

वायुपङ्खी गतिमा

 

फुल्न अनि फलेर

बस्नु छैन गलेर

श्रम रोप्ने असार

गन्तव्यमा हतार ।

प्रकाशित: २२ भाद्र २०७७ ०९:५३ सोमबार

जुनकिरी