कला

मान्छेको अस्तित्व

कविता

सुशीला खड्का ‘हसिना’

आकाशमा बादलको झुण्डाले

संकेत  गर्दै छ  विपतको

घरछेउमा कराउने कागले

सूचना दिदैछ संकटको

छिन्छिनमा बद्लिने मौसमले

प्रश्न उठाउदै छ मान्छेको अस्तित्वको

समय घडी स्तब्ध पार्दै

कोरोना महामारीले

विश्व आक्रान्त बनाएको बेला

भोकमरीको खबर घण्टी

बजाउदै छ सलह किराले

हजारौको सपना नदी

बग्दैछ लक्ष्यविहीन 

प्रत्येकको ढुकढुकी बतास

चल्दैछ गन्तव्यविहीन 

हरेकको आशाको घाम

झुल्किदैछ रोश्नीविहीन 

रातमा उद्देश्यको जून

डुब्दैछ अर्थविहीन

हरेक युग नियाल्दा–

संसारमा मान्छे नै सर्वश्रेष्ठ

मान्छे नै शक्तिशाली

विचारको यन्त्र चलाउने ‘मान्छे’

विकासको रथ हाँक्ने ‘मान्छे’

नीतिनियमको मालिक ‘मान्छे’

यान आविष्कार गर्ने ‘मान्छे’

जगतमै बुद्घिमानी प्राणी ‘मान्छे’

मान्छेको गुणगाण गाउदै गर्दा

मान्छेकै विरुद्घमा उभिएको छ प्रकृति

प्रकृतिको चुनौतीमा  –

व्यस्त हुँदै दौडिएका मान्छेहरू

रोकिएका छन् एकाएक  

पर्दा जन्ती र मर्दा मलामीसम्म

जान नभ्याउनेहरू

चारहाते कोठामा कैद बनेर

हेर्दैछन् मृत्युकोे ऐनामा

जिन्दगीको प्रतिविम्ब

यतिबेला मान्छे हिँड्ने–

आकाशको बाटो शुन्य छ

खाली छन् सडकहरू

रित्ता छन् गोरेटाहरू

सडकछेउमा ठिङ्ग उभिएका  

बिजुलीका खम्बाहरू र

आँखा अघिल्तिर ठडिएका घरहरूले

मान्छेलाई विचरा भनेझैं लाग्छ

कुनै दिन,

अस्तव्यस्त मान्छेको भीडमा

आफैं हराएको कविता लेख्ने ‘म’

आज सुनसानमा मान्छे खोज्दैछु

मान्छेसँगै मान्छेको अस्तित्व खोज्दैछु 

प्रकाशित: १८ श्रावण २०७७ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App