कला

बुद्ध मूर्तिको गेटमा ठूलो ताल्चा

नियात्रा आफ्नै परिवेश

गीता रेग्मी

कोरोना भाइरसको महामारीले घरभित्र बसेको आज पचास दिन भयो ! वसन्त ऋतुको समय । जाडोले छोडेर समय रापिन थालेको छ । फूलहरू मुस्कुराइरहेछन ! चराचुरुङ्गी चिरबिरचिरबिर गरिरहेछन् तर मान्छे डरले घरभित्रै छ । उफ मृत्युको डर ! मृत्युदेखि नडराउने म पनि घरै छु । घरभित्रै ! यस्ले समात्यो भने मलाई मात्रै होइन मसँगसँगै मेरा उनी र छोरीलाई पनि लग्छ । मसँगै हिँड्ने सँगीलाई पनि लग्छ । यसैले म पनि घरभित्रै भए !

हिंड्ने मान्छेको भाग्य हिँडिरहन्छ बस्नेको भाग्य पनि बस्छ झन् सुत्नेको भाग्य त सुतिरहन्छ भनेर भाग्य उठाउन र हिँडाउन हिँड्न थालेको म फेरि यो नाथे भाइरसले घरभित्रै थुनेर मेरो भाग्य थुन्दैछ ! यो भाइरससँग झोक चल्छ ! मलाई जस्तै झोक त अरूलाई पनि उठेको हुँदो हो तर त्यो अदृश्य जीवसँग रिसाउनु भनेको टाउको भित्तामा ठोक्नुजस्तै त हो !

दुईतीन हप्ता घरै बसेपछि मलाई औडाहा भयो । वर्षाैवर्ष नजरबन्दमा कसरी बसे बर्माकी आङसाङ सुकी ? मेरो बेचैनी देखेर उहाँले नजिकैको मन्दिरसम्म हामीलाई लग्ने हुनुभयो । एकदम स्कटिङ गरेको जस्तै गरेर ! कुकुर, विरालो र मान्छे कोही देखिए हैट भन्दै घरबाट दुईतीन सय मिटरको मन्दिर पुग्न भित्री बाटो प्रयोग हुन्थ्यो । मलाई मान्छे देख्दा पनि रमाइलो लाग्ने । यतिका दिन देख्न नपाएको मान्छे देख्दा झ्याप्पै अंगालो हालौजस्तो हुने । उहाँ कसैसँग बोल्यो कि ठूला आँखा पारेर हेर्ने । आफ्नै घर वरिपरि निस्ँकदा पनि भिपिआइपीको सवारी जस्तो पो भयो ? ओहो स्कटिङमा हिँड्न कति कठिन हुँदो रहेछ । लकडाउनले यो पनि अनुभूत गरायो । तर पनि बाहिरको हावा मीठोमीठो लाग्यो !

एकचालीस दिनदेखि सहकारी खुल्न निर्देशन आयो भने सरकारी अफिस खुल्न अठचालीस दिन लाग्यो । उहाँ अफिस जान थाल्नुभयो । शहर शिरीष फूलले हराभरा भएको फोटो फेसबुकका भित्तामा छाउन थाले । मन उतै पुगेको छ । सुन्दरताको खोजीमा कताकता भौतारिने म दैलैअगाडि भनौ वा एक घण्टाको पैदल दूरीमा प्यारिस गेट बिर्साउने दृष्य देख्दा मुखबाट र्याल निस्केको छ । अफिस जाँदा मलाई बाटोमा छोडिदिनु न भन्दा उहाँले बुझे पो । उहाँ अफिस जानपर्याे भनेर पीर मानिरहनुभएको छ । म उहाँले मात्र हेर्न पाउनु हुने भयो भनेर ईरष्या गरिरहेको छु । हामी दुई बीच कस्तो भिन्नता छ ?

काठमाडौंमा लकडाउन अलि खुकुलो थियो । उहाँ अफिस जानु भएपछि म रत्नपार्क जान्छु मनमा कुरा खेलाउन थाले । साथी कस्लाई लग्ने ? ऊ हिँड्न सक्ला कि नाई ! मसँग जाला कि नाई ? उहाँ निस्किनेबित्तिकै निस्कन्छु भन्दाभन्दै एघार बज्यो । फर्कदा ढिलो भयो भने ? खाजा बनाएर जान्छु भनेर खाजा बनाउन थाले ! खाजा पाक्दा एक बज्यो । दुई बजे औषधि खानु छ । यही बेलामा दाँत दुखेर एन्टिबायोटिक खानु परेको छ । हया, त्यति जाबो एक दुई घण्टा हिँड्न कत्रो तारतम्य । दिक्क लाग्ने । जे होस् दुई नबज्दै औषधि खाएर म निस्किएँ । सहकारी बन्द गर्न ठिक्क हो रहेछ । गोमा म्याडमसँग सञ्चाविसञ्चोेका कुरा भएर उहाँ घर जानुभयो । उमा ढकाल सहकारीको व्यवस्थापकलाई स्वयम्भू जाऊँ भने । रत्नपार्क जान त समय घर्कदै थियो ।

उमाले सहमति जनाएपछि हामी निस्कियौ !

सुनसान भित्री बाटो हुँदै स्वयम्भूतर्फ लाग्यौं । ओहो रिङरोडमा त धूलो उडिरहेको छ । सामाजिक सञ्जालमा सुन्दर फोटो राख्नेहरूप्रति झोक चल्यो । प्रहरी दुवैतिर बाक्लै थिए । साधन धूलो उडाउँदै कुदिरहेका थिए ! स्वयम्भूनेर पुग्दा त बुद्ध मूर्तिका गेटमा ठूलो ताला झुन्डिएको छ । के गर्ने अन्योल भयो । फर्कने कि जाने ! होस् जाऊँ भन्दै गयौ । जताको गेटमा पनि ताला लरक्क लर्काेको छ ।

प्रहरी झुरुप्पै थिए । तिनको पछाडिबाट दक्षिणतिर लाग्यौं । उतातिर लागेपछि बल्ल बाटो सफा देखियो । सल्लाका रूखहरू हरिया देखिए । मन शीतल भयो । यहीनजिकै थियो डा.रविन्द्र समिरको घर । भुईचालो जाँदा होस् कि डेन्गु लाग्दा वा अहिले कोरोना भाइरसको महामारी आउँदा सबैलाई सुसूचित गरिरहनुभएको छ । सबैतिर ताला लागेको देख्दा त्यतै लागौ कि मनमा एक झोक्का उठ्यो र सेलायो ।

अगाडि केही मान्छे स्वयम्भूको डाँडातिर देखिए । जंगलै सही हामीमाथि उक्लन थाल्यौं । चामलका बोरा र सानो पोको बोकेका मान्छेहरू झर्न थाले । राहत बाँड्दै गरेको अड्कल काट्न गाह्रो भएन ! सल्लाका अग्लाअग्ला हरिया रूख नुहाएर घाम ताप्न बसे जस्तै लाग्दथ्यो । गीता माताको मन्दिर देखियो स्वयम्भू जान नपाए पनि आफ्नै नाम गरेको मन्दिर जाऊँ उमालाई भने । हुन्छ जता गए पनि मेरो पाँच बजेसम्मलाई घरबाट छुट्टी लिएको छु क्यार ! नजिकै पुगेपछि त त्यहाँ पनि ताला नै लर्केर बसेको थियो । निरुद्देश्य हामीमाथि नै उक्लियौ । अब मान्छेभन्दा बाँदरको संख्या बाक्लिन थाल्यो । भोकै छन् कि ? भोक मेट्न हामीलाई झम्टन्छन् कि । डर जस्तो पनि छ जाबो बाँदरसँग । के गर्नु यस्ले टोक्यो भने रेविजको सुई लगाउन टेकु अस्पताल पुग्नुपर्छ । टेकु भन्नु सबै सरुवा रोगको इपिसेन्टर हो ! त्यो २ भन्दा बढी त यहाँका बाँदरमा एचआइभी एड्स छ भनेको झलक्क सम्झना आयो । हामी सतर्क भयौ ।

माथि पिच रोड भेटियो । हाउ कति शान्त । कति सफा । बाँदर र कुकुरको रजाइँ छ बाटाभरि । लकडाउन भएको पचासौ दिनमा रिङ्ग रोड क्रस गरेर यति पर आएका छौ । फोटो त हान्नै पर्याे । पचासौं वर्षको होइन पचासौं दिनको सेलिब्रेसन त गर्नै पर्याे । बाँदरका क्रीडा अनेक छन् । तिनको त भिडियो नै खिचे हाम्रो फोटो खिच्यो र अगाडि बढ्यौं । आनन्द कुटी स्कुल सुनसान थियो । स्कुलमा लागेको तालासँगै लाखौ लाख विद्यार्थीको भविष्य अन्योल थियो ।

तलमाथितिर सल्लाका अग्ला रूख। पर कंक्रिटको घना जंगल । त्यहीँ कंक्रिटको जङ्गल भित्र बन्दी बनेका लाखौ काठमाडौँबासीको अनुहार आँखाभरि नाच्न थाल्यो । फाट्टफुट्ट राहात लिएर आउँदै गरेका मान्छेहरू । केहीमाथि गएपछि मान्छेको कल्याङमल्याङ बाक्लियो । राहत बोकेका महिला सानो भ्यानमा राहतका बोरा राख्दै मान्छे कोको बस्ने खल्लबल्ल गर्दै थिए । यस्त राम्रा लुगा लगाएका मान्छे नि राहत लिन आउने उमा प्रतिवाद गर्नै खोजे जस्तो गर्नुहुन्छ । नाङ्गै आउनु त म उनका कुरा काट्न खोज्छु  । भूकम्पमा सभासदले नै पाल बोकेको सम्झन्छु । लुगा त के घरै भए पनि ईटा र सिमेन्ट खानु मिल्दैन के रे । मनमनै गम्छु म ।

स्वयम्भूतिर उक्लने ठाँउमा बाँसको तगारो छ । तगारोमाथि प्रहरी भाइको ड्युटी छ । देब्रेतिरबाट झरिरहेछन् केही थान राहत । हामी त्यतै लाग्यौं र उक्लियौ माथितिर । रत्नपार्कको निलो शिरीषको फूलले तानेको मन यता अल्झदै छ । फोटो पत्रकार पोज दिएर फोटो खिचिरहेका छन् । झपक्कै फूलेको बेगमबेलीले रेस्टरुम जाने बाटो देखाइरहेछ । तिन जना हल्लारे केटाकेटी हाम्रै अघिपछि छन् । हामी सुनसान स्वयम्भूको टाउकैमा पुग्यौं । भूकम्प आएदेखि आएको पनि थिएन । चार वर्ष पूरा हुँदा पनि जीर्णाेद्दार अझै सकिएको रहेनछ ।

ठूलो हुँदासम्म पनि नबोल्ने बच्चालाई यहीँ स्वयम्भूमा रहेको अजिमा मन्दिर ल्याइन्थ्यो त्यो मन्दिरमा ताला छ कति बाबू आमाको मन छटपट छ होला ? के गर्नु अन्धविश्वास जो जहाँसुकै छ ! त्यताबाट मूलगुम्बा भएतिर लाग्यौं कुकुरहरूको साम्राज्य छ । अलिपर काठे सत्तलमा थर्मसमा ल्याइएको चिया बाँडिरहेछन् । ती निर्माण कार्यका ज्यामी हुँदा हुन् । बोल्यो भने पनि कोरोना नै सर्छ जस्तो गरेर हामी नबोली अघि बढ्यौं ।

गुम्बा र स्तुपासँग केही थान गुनासो गरे । तिमी बूढो भएर हो कि किन हो देशमा भइरहेको न्याय र अन्याय छुट्टयाउन नसकेको ? देश लुटिइसक्यो तिमी त मकैवारीको बुख्याचा जस्तो पो भयौ नि ! बूढो नहुनु पनि त कसरी ? पाँचौ शताब्दीमा राजा मानदेवका नि हजुरवाले  भेट्टएका हुन् नि आफ्नै मनलाई सान्त्वना दिन्छु । प्रताप मल्लले बनाउन सुरु गरेर अझै बनिरहेको यो बौद्ध धर्म र हिन्दू धर्मको धरोहर कहिले चट्याङ र भूकम्प जस्ता प्रकृतिक प्रकोपको चपेटामा परिरहेको छ । यस्को पुर्ननिर्माणमा भएको ढिलासुस्ती र अनियमितताको कुरो खोतल्न खोजेर यात्रालाई बेरस बनाउनु हुँदैन भन्दै बारको माथि चढेर, ओढेको सल हावामा उडाएर पोजपोजका फोटो खिच्यौ । स्वतन्त्रता कस्तो खुशीको वस्तु रहेछ । मजाले खानबस्न पाएर कहाँ मन रमाउँदो रहेछ र ? रोकने र टोक्ने कोही छैन म एकैछिनमा बच्चाजस्तै बने ।

केही थान फोटो खिचेर हामी तल झरयौं । दुखेर रातभरि सुत्न नदिने घुँडा मलाई उकालो चढाएर झार्दै छ ओरोलो । सिधै ओरोला । बाँदरका बच्चा आमासँग झगडा गरिरहेछन् । भोकाएका हुँदा  हुन् । आमा पनि भोकै भएर दूधै सुकेको  हुँदो हो । कस्तो नमीठो लाग्यो आफूसँग दिनका लागि केही छैन । 

हरियो बन छ । बाँदरको रजाइँ छ । कोही लहरामा चचहुई गरिरहेछन । कोही रूखको हाँगै बोकेर हिँडिरहेछन् । तल बाँदरको ठूलोठूलो जत्था छ । बाँदरकै फोटो तिनकै लीलाको भिडियो खिच्दै तल भगवानपाउ आइपुग्यौ । त्यहाँ बाँदरहरू बिस्कुट खाँदै थिए । प्रहरीहरू केही बूढाबूढीलाई अब जानुस् भन्दै घरतिर पठाउँदै थिए । कस्ले दिँदो हो बाँदरलाई बिस्कुट खै सोध्न मन लागेर पनि सोधिएन । कतै नबस्ने, केही नखाने र कसैसँग नबोल्ने मौन सहमति थियो हाम्रो ।

त्यताबाट ढुङ्गेधारा हुँदै घरतिर आयौ । पचासौं दिनमा रिङ्ग रोड काटेर बाहिर जानू भनेको कति ठूलो कुरा भयो । लाङटाङ वा गोसाईकुण्ड गएजस्तै । हिजोभन्दा आज र आजभन्दा भोलिका दिन सरल र सहज हुन्छ भन्दा त झन् अवसरहरू वर्षाैपछाडि धकेलिएको देख्दा अजीव लागेको छ !

प्रकाशित: १३ श्रावण २०७७ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App