कला

दोषी को ?

लघुकथा

प्रकाश खड्का अभियान  

सबै चूपचाप थिए। ऋतु जेठी बुहारी । ऊ बुबा भन्थी। मैले आफ्नै छोरी मान्थे। उनलाई माग्न रघु र उसका परिवार आएका थिए। लगन जुरे अर्को महिना बिहे गर्ने पक्का भयो। कान्छा छोराले घोसे मुन्टो लगाएथ्यो। बुहारी र बूढी भने क्रोधको अग्निमा जलेथे। ऋतु भने शान्त घरधन्दामा व्यस्त थिइन्।

– हैन ए बूढा, तिम्रो मति भ्रष्ट भयो कि के हो ?  त्यस्ती सुनको अन्डा दिने ज्यामी विधुवैको बिहे गर्छु भनेर कस्या छौ ।  ऊ गएपछि तिम्लाई खुवाउन तिम्रा मरेका बाउआमा आउँछन् । कान्छा छोरा हल्लेर हिँड्दैमा ठिक्क, अर्की नक्कल पार्नमै, हैन यो बुढ्यौलीमा मेरो मासु खान पल्क्या असत्ती बूढो । बूढीले घर रणभूमि बनाएकी थिइन्। उनको तिखो वचनले मुटु चस्स घोच्थ्यो।

बेलुकी सुत्ने तरखर गर्दै थिए। छोरा र बुहारी कस्सिएर मेरो कोठामा आए। बूढी ओछ्यान मिलाए जस्तो गर्दै थिइन्।

कान्छाले तीतो पोखेथ्यो,   ‘हैन के आमा,  यी बाउले के नाप्न खोज्या हुन् के ? जोरीपारीले के भन्लान् ? छिमेकीले भोलि थुक्लान् । चोकमा विधुवाको बिहे भनेर बिल्ला गर्दैथे।’ 

मैले भनेथे, ‘अरूले के भञ्छन् भनेर कानै नछामी कागको पछि लाग्नु पनि भएन। फेरि विधुवा बुहारीको बिहे गरिदियौ भने यज्ञ गरेजस्तो पुण्य मिल्नेछ। चिन्ता गर्नुपर्ने जस्तो केही देख्दिनँ। ’ 

– के देख्थेउ त बूढा, गाउँमा बुहारीसँग तिम्रो लसपस छ भनेर गाइँगुइँ सुनेथे। पाप लुकाउन बिहे गर्दिन लाग्या भन्थे। बूढीले आगाको लाप्का बोलेथिन्।

मन भक्कानियो तैपनि बोले, ‘हो, मैले उनलाई छोरीजस्तै माया गरे। तिमेर्ले जस्तो झर्कोफर्को कहिले गरिनँ । चाडपर्वमा खर्चबर्च उपहार दिएँ। इज्जत दिएँ। यही मेरो गल्ती हो भने मेरो भन्नु केही छैन।’

– तिस वर्ष भएछ हाम्रो बिहे भएको। सम्झ त ती कालो दिन ।  समाजले लोग्ने टोकुवा भनेको, शुभकार्यमा निषेध गरेको, घृणा र तिरस्कारले आर्तनाद भएर नदीमा हामफालेको। मैले बगरमा बेहोस भेटेथे। उपचारको क्रममा माया पलायो। म कुमार केटाले विधुवा भए पनि तिमेरका आमालाई बिहे गरे। आज ऊजस्तै भाग्यले ठगेकी नारीको बिहे गर्दिन खोज्दा मिथ्या दोष लाग्यो ।  आत्मा साक्षी राखेर भन त दोषी को हो ?     

प्रकाशित: २ श्रावण २०७७ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App