एउटा चिया दोकान थियो । केही मान्छे लेखककै कुरा गरिरहेका थिए । अर्को टेबुलमा एउटा लेखक ध्यानपूर्वक कुरा सुनिरहेको थियो । ती यसरी कुरा गर्दै थिए –
– कथाकार विम्बिकाले एक जना आमा परपुरुषसित लागेर छ महिने नानी खोल्सीमा फालेको कथा लेखेकी रहिछिन् । उनले आफूलाई आकाशबाट बर्सेका बस्र्यौली ठान्दी रहेछिन् कि क्या हो ! उनी आमाको अपमान गर्ने बैगुनी हुन् !
– विम्बिकाले बाबुबाटै विरामी छोरी बलात्कृत भनेर दुई पृष्ठे आलेखै लेखेकी रहिछ । हाम्रो बाबा जातिको त बेइज्जतै गरिछ । उनको जीवनमा बाबुको देनै छैन जस्तो !
– कस्तो सन्काहा लेखक ! मैले उतिभाँती आउनुपर्छ है भनेको थिएँ तर उनले नाकमुखै देखाएनन् । आफूलाई खूब माहिर मान्दो रहेछ ।
– उँभो हेर्दा आकाशै छोला जस्तो घर छ । बल्लतल्ल ससुराली आएको जुवाइँलाई जस्तो गरेर कुकुर पालेका छन् । तर मृगौला पीडितको नाउँमा सहयोग माग्दा एक सुको चुहाएनन् । यस्ता निर्दयीहरू पनि हुन्छन् भनेर एउटाको व्यथा लेखेका रहेछन् ।
– समाजका घुसखोर तत्त्व संसारमा कारागार र प्रहरी नभइदिए हुन्थ्यो भन्दै सधैं प्रार्थना गर्छन् !
यति सुनेपछि लेखकले मुख खोल्यो, ‘के लेखकले पनि उनीहरूकै तबला बजाउनुपर्छ त ?’
यसपछि एकजना त्यही समूहबाट बोल्यो, ‘जताततै लेखकहरूले अरूको बेइज्जतै मात्रै गर्छन् भन्ने असन्तुष्टि त भइहाल्छ नि । तर बुझ्नुभो लेखकले कहिल्यै लेख्न छोड्नु हुँदैन। नत्र त संसारमा नै अन्यायको राज हुन्छ ।’
प्रकाशित: २ श्रावण २०७७ ०७:१६ शुक्रबार