कला

भूगोल यात्रामा कोरोना

उ सरल छ, अत्यान्तै शिष्ट छ

धनी र गरिब चिन्दैन उ

ठूला र साना छुट्याउदैन उ

भुपडीहरुलाई हेप्दैन पनि

अनि महल र दरबारहरुसंग किन्चित डराउदैन पनि

सपनाको लौरी टेकेर भूगोल यात्रामा निस्कन्छ

निश्छल अनि निष्पक्ष कोरना

हाकिम र पियन चिन्दैन उ

नेता र कार्यकर्ता पनि छुट्याँउदैन

निर्मला र रोसनी पनि भन्दैन

विल्कुल विभेद गर्दैन उ

छिन छिनमा कुरा फेर्दैन

न तेत्तीस किलोमा लोभिन्छ?

न वाइड वडिमा झोक्किन्छ?

उसका लागी न गोकुल, न वालुवाटार!

विल्कुल भेदभाव गर्दैन ।

खोले र सिस्नु खानेलाई हेप्दैन उ

मार्सी भातवालासंग डराउँदैन पनि

उसका अगाडि लापर्वाही गर्नेहरू

कसैलाई छोड्दैन उ

सपनाको लौरी टेकेर भूगोल यात्रामा निस्कन्छ

निश्छल अनि निष्पक्ष कोरना

उ निरन्तर यात्रामा छ

सपनामा भूगोल चियाउँछ

उसलाइ के यूरोप,के एशिया?

उसलाइ के अमेरीका,के अफ्रिका?

पानामाले छेक्दैन उसलाई,

ग्रेटवाल र जङ्गे पिल्लर सजिलै फड्कन्छ उ

बन्दुक र बारुदसंग डराउँदैन

तोप र मिसाइल त उसका लागि निम्छरा हुन

विश्व मेरै अधिनमा हुनु पर्छ भन्ने दादागीरी पनि

उसका सामु नतमस्तक भए

मात्र उ, सपनाको लौरी टेकेर भूगोल यात्रामा छ

निश्छल अनि निष्पक्ष कोरना

ओसामा र अल जवाहीरीले झैँ,

अलकायदा खोल्दैन उ

सन २००१ मा झैँ टुइन टावर हान्दैन

पाकिस्तान जस्तो तालीवान पनि जन्माउँदैन

काश्मीरी हिजवुल्ह मुजाहिदि्न जस्तो

निर्दयी र निर्मम पनि छैन उ

न नाइजेरीयाको बोको हराम जस्तो उद्दण्ड छ?

मात्र उ, सपनाको लौरी टेकेर भूगोल यात्रामा छ

निश्छल अनि निष्पक्ष कोरना

शान्त छ अनि सरल छ उ

भूकम्प जस्तो रेक्टरमा जोखिदैन उ

क्षण भरमै विशाल मानव वस्ती खण्डहर बनाउँदैन

बाढी र पहिरो झैँ बस्ती बस्तीमा चिहिलबिहिल पार्दैन

साइक्लोन र सुनामी जस्तो क्रुर पनि छैन उ

टोरनाडो र हुरीक्यान जस्तो सिङ्गै शहर बढार्दैन

मात्र उ, सपनाको लौरी टेकेर भूगोल यात्रामा छ

निश्छल अनि निष्पक्ष कोरना

मस्जिद मै जाउ र सला गर भन्दैन उ

कतुल स्तीमातेम बाटै अल्हाह सम्झे पुग्छ

चर्चमै गएर बाइवल रट भन्दैन उ

जँहा छौ त्यहीबाट जीससको नाम सम्झे हुन्छ

महादेव र वुद्ध त झन तिम्रै बुँइगलमै छन्

किन धाउँछौ तिमी पशुपति र लम्बिनी ?

किन धाउँछौ तिमी मक्का र मदिना?

कण कणमा छ इश्वर,

कण कणमा छ कोरना,

भनिन्छ कोरना, चाइनामा जन्माइयो

दाबी गर्दछ चाइना,

अमेरीकामा जन्माइयो र वुहानमा मुकर्रर गरियो

न हिमाल दोषी छ न तराई?

न मरुभुमी दोषी त न समुन्द्र?

एक अर्कामा दोषारोपण मात्र तिम्रो दिग्भ्रम हो

जन जनमा छ कोरना

कण कणमा छ कोरना

सर्वव्यापी छ कोरना,

सपनाको लौरी टेकेर भूगोल यात्रामा निस्कन्छ

निश्छल अनि निष्पक्ष कोरना

उ आफ्नो लक्षमा अडिग छ

आफ्नो यात्रामा अविछिन्न छ

न बमसंग बम्कीन्छ कोरना?

न तरवारसंग तर्सीन्छ कोरना?

न देवी देउराली भाकेर जान्छ?

न फूल अक्षेता चढाएर मान्छ?

बरु एकान्त बास बस्नु,

अलिकति साबुनको "भोग" दिनु

अलिकति "पानी" चढाउनु,

आफ्नो ठाँउमा आफै जान्छ कोरना

अनायसै आत्तिन्छ मान्छे,

कुरै नबुझी डराउँछ मान्छे

सपनाको लौरी त उसको एक मात्र सहारा हो,

जब रात ढल्दै जान्छ,

उसको सपनाको लौरी भाँचिन्छ

अनि,

बिहानीपख सूर्यको निर्मल किरणसँगै,

मुस्कुराउछ मान्छे

त्यतिन्जेल,

वैकुण्ठमा निराकार भैसकेको हुन्छ कोरना

निश्छल अनि निश्पक्ष कोरना

 

प्रकाशित: १७ चैत्र २०७६ ०४:१८ सोमबार

कोरोना कोभिड_१९ साहित्य कविता