कला

न्युयोर्क र लस एन्जल्सका हल बन्द गर्न आदेश

न्युयोर्क (एजेन्सी) – संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि अमेरिकाका न्युयोर्क र लस एन्जल्सका मेयरहरूले फिल्म हलहरू बन्द गर्न आदेश दिएका छन्। न्युयोर्कका मेयर बिल डि ब्लासियो र लस एन्जल्सका ऐरिक गार्सेटीले दुवै सहरका सम्पूर्ण फिल्म हलहरू मार्च १७ देखि लागू हुने गरी बन्द गर्न आदेश दिएका हुन्।

फिल्म विश्लेषकहरूका अनुसार मनोरञ्जन क्षेत्रका लागि चर्चित अमेरिकाको सबैभन्दा ठूला सहरहरूका लागि यो आश्चर्यजनक कदम हो। मेयरहरूले फिल्म हलसँगै नाइट क्ल्ब, कन्सर्ट स्थल, क्याफे, साना थिएटरलगायत स्थान समेत बन्द गर्न आदेश दिएका थिए। लस एन्जल्सका मेयर गार्सेटीले बैंक र फर्मेसीलगायत अत्यावश्यक सेवा सुचारु रहने जानकारी गराएका थिए। बजार बन्द नहुने भएकाले उनले मानिसहरूलाई अग्रिम किनमेल गरेर खानेकुरा स्टोर नगर्न समेत आग्रह गरेका छन्।

न्युयोर्कका मेयर ब्लासियोले वक्तव्य जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको संकटकालमा सबैले सतर्कता अपनाउनु जरुरी छ,’ उनले भनेका थिए।

न्युयोर्क र लस एन्जल्सपछि पेन्सिल्भेनिया र न्युजर्सीका स्थानीय अधिकारीहरूले समेत फिल्म हलहरू बन्द गर्न आदेश दिएका छन्। अमेरिकाको सर्वाधिक बक्स–अफिस कलेक्सन गर्ने न्युजर्सीस्थित एएमसी गार्डेन समेत बन्द हुने भएको छ।
कोरोना भाइरसका कारण अमेरिकामा सञ्चालित हजारौ फिल्महरू प्रभावित हुने भएका छन्। एएमसी, सिनेमार्क र रिगललगायत लोकप्रिय फिल्म हलहरूले आदेशबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरस संक्रमण नभएको ह्वाइट हाउसका चिकित्सकले बताएका थिए। ‘यो साँझ मैले कोरोनाभाइरस परीक्षण नकारात्मक रहेको पुष्टि भएको पाएँ,’ सन कन्लीले एउटा वक्तव्यमा भनेका थिए।

फ्लोरिडास्थित आफ्नो रिसोर्टमा ब्रजिलबाट आएको प्रतिनिधि मण्डलसँग भेटघाट गरेपछि ट्रम्पले कोभिड–१९ को परीक्षण गराएका थिए। सो भेटमा सहभागी केही प्रतिनिधिलाई कोरोनाभाइरस संक्रमण भेटिएको थियो।

अमेरिकामा हालसम्म २७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने ५४ जनाको मृत्यु भएको छ। गत साता राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्दै कोरोना भाइरस महामारीसँग लड्न ५० अर्ब डलर भएको कोष स्थापना गरेका थिए। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ लाई विश्वव्यापी महामरीको संज्ञा दिएको छ। गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ।

प्रकाशित: ४ चैत्र २०७६ ०३:५९ मंगलबार

फिल्म_हल न्युयोर्क लस_एन्जल्स