कला

‘नो टाइम टु डाई’ को प्रिमियर रद्द

बेइजिङ (एजेन्सी) – कोरोना भाइरसका कारण चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको छ। आगामी अप्रिलमा बेइजिङमा हुने भनिएको प्रिमियर रद्द भएको जानकारी फिल्मको निर्माता बारबरा ब्रोकोलीले गराएकी छन्।

अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्स–अफिस बजार मानिने चीन कोरोना भाइरसका कारण प्रभावित भएको छ। सन् २०१५ मा रिलिज भएको जेम्स बोन्डको ‘स्पेक्टर’ फिल्मले चीनको बक्स–अफिसमा सर्वाधिक ८३ दशमलव ५१ मिलियन अमेरिकी डलर कमाई गरेको थियो।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आगामी साताहरूमा कोरोना भाइरसको प्रभाव घटेपनि जेम्स बोन्डको ‘नो टाइम टु डाई’ का अभिनेता डेनियल क्रेग र फिल्मसम्बन्धी कलाकार चीन नजाने भएका छन्।

कोरोना भाइरसको संक्रमण संसारभर फैलिरहेको अवस्थामा ‘नो टाइम टु डाई’ फिल्मले प्रवद्धन रोकेको छ। ‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ आगामी अप्रिलको पहिलो साता रिलिज हुँदैछ। अभिनेता डेनियल क्रेगको ‘जेम्स बोन्ड’ संस्करणको यो पाँचौं र अन्तिम फिल्म हो। क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाई’ मा अभिनेता डेनियलबाहेक अना दे अर्मस र रामी मालेकलगायत कलाकारले अभिनय गरेका छन्। ‘जेम्स बन्ड’ को शीर्ष गीतमा पहिलो पटक बिली इलिसले स्वर दिएकी छन्।

यसअघि कोरोना भाइरसका कारण चीन सरकारले ७० हजारभन्दा बढी फिल्म हल बन्द गराएको थियो। राष्ट्रिय बक्स–अफिसको मुख्य दिन मानिने चिनियाँ नयाँ वर्षसँग हजारौं फिल्म हल बन्द गरिएका थिए।

हाल चीनमा वान्डा, दादी, बोना र सिजिभीलगायत लोकप्रिय फिल्म हलहरूका शाखा बन्द छन्। वितरकहरूले चिनियाँ नयाँ वर्षलाई केन्द्रित गरेर सात वटा ब्लाकबस्टरको रिलिज रोकेका थिए। फिल्म हलहरू बन्दका कारण ठूलो बजेटका फिल्महरू प्रभावित भएका छन्। चीनको अर्थतन्त्रमा यहाँको फिल्म उद्योगले महत्वपूर्ण भूमिका निवार्ह गर्दछ।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:४२ बिहीबार

कोरोना_भाइरस फिल्म प्रिमियर रद्द