कला

गीतमार्फत भक्तपुरको प्रवर्द्धन

भक्तपुर – गायक कपिल कस्पालको एल्बम ‘महसुस’ सार्वजनिक भएको छ। रागरागिनी इन्टरटेन्टमेन्टले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भ्रमण वर्ष २०२० को सन्देश समेटिएको ‘नेपाली शीरको कालो टोपी’ गीत सार्वजनिक गरिएको थियो।

कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले लेखेको सो गीतमा भक्तपुरको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समावेश गरिएको छ। सो गीतमा बिबी अनुरागीले संगीत दिएका छन्। कार्यक्रममा बोल्दै गायक प्रेमध्वज प्रधानले सो गीतले भक्तपुरको प्रवद्र्धन गर्न सहयोग गरेको बताए। ‘यस गीतले भक्तपुरलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सहयोग गर्ने अपेक्षा लिएको छु,’ उनले भने, ‘सो गीतले भक्तपुरको संस्कृति पक्ष झल्काएको छ।’

गायक कस्पालको स्वर र संगीतमा रहेको एल्बममा ‘मायाको चेक’, ‘मेरो राजा’, ‘आयो दसैं’ र ‘ती यादहरू’ लगायत गीतहरू समेटिएका छन्। एल्बममा गायिका अन्जु पन्त, सन्ध्या बुढा, अधिश्री कस्पाल र गगन सरगमले स्वर दिएका छन्। त्यस्तै संगीतकार हरि लम्साल, बुद्ध सायमी, निम संगीत, बद्रिनारायण ताम्रकारले संगीत दिएका छन्।

प्रकाशित: २५ पुस २०७६ ०४:२० शुक्रबार

भक्तपुर प्रवर्द्धन