कला

बाल नाटक महोत्सवका लागि आवेदन खुला

काठमाडौं – शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सव माघको तेस्रो साता हुने भएको छ। रसियन कल्चरल सेन्टरको सहकार्यमा शैली थिएटरले आयोजना गर्दै आएको महोत्सवको निम्ति आवेदन खुला गरिएको छ। हालसम्म ४० वटा नाटक मन्चन गरिसकेको शैली थिएटरले बालबालिकालाई रंगमञ्च, कला र साहित्यमा प्रोत्साहन गर्न आयोजना गरिएको राष्ट्रिय बाल नाटक महोत्सवको यो ११ औं संस्करण हो। महोत्सवमा सहभागी चाहने नाट्य समूह, स्कुल, संस्था र व्यक्तिहरुले आगामी पुस २० सम्म नाटकको स्क्रिप्ट बुझाउन आव्हान गरिएको छ।

‘सहभागी हुन इच्छुकहरुले आ–आफ्नो नाटक मञ्चनको अविधमा निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याकंन गरेर ६ वटालाई पुरस्कृत गरिनेछ,’ महोत्सव व्यवस्थापक सुबास सुवेदीले भने। उनका अनुसार उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाई १० हजार रुपैयाँ, उत्कृष्ट निर्देशकलाई सात हजार रुपैयाँ र नाटकलाई पुरस्कार प्रदान गरिनेछ। प्रोत्साहन र पब्लिक च्वाईस् पुरस्कार दुई जनालाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।

शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार सहभागी हुन इच्छुक स्कुलका निम्ति आयोजकले मापदण्ड तोकेको छ। ‘बालबालिकामा केन्द्रित नाटक महोत्सवमा सहभागी हुन चाहने स्कुलको नाटकको कथावस्तु बालबालिकासँग जोडिएको हुनु पर्नेछ। नाटकले बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन। राष्ट्रिय अखण्डतामा असर पार्ने तथा राज्यको नियम विपरीतको स्क्रिप्ट स्वीकार्य हुने छैन,’ उनले भने।

महोत्सवमा सहभागी नाटकमध्ये उत्कृष्ट अभिनय गर्ने दुई जनालाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट निर्देशन र नाटकलाई पुरस्कार स्वरुप ७ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रोत्साहन र पब्लिक च्वाइस पुरस्कार स्वरुप दुई जनालाई पाँच हजार रुपैयाँ दिइनेछ। आयोजकका अनुसार महोत्सवका लागि छानिएको नाटकहरूको सूची पुस २५ मा सार्वजनिक गरिनेछ।

 

प्रकाशित: ४ पुस २०७६ ०२:०९ शुक्रबार

बाल_नाटक महोत्सव