कला

कालीप्रसाद–सन्तोषको ‘उदास जवानी’ सार्वजनिक

काठमाडौं – वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो।

एल्वमको विमोचनमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए। वरिष्ठ संगीतकार दीपक जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए। ‘अहिलेको समयमा लोभलाग्दो काम भएको छ’, उनले भने, ‘मैले गर्न नसकेको काम भएको छ।

मैले पनि यो काम गर्ने सोँच बनाएको छु।’ वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए। उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा गरेका थिए। वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए।

‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन्। ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै...’लाई कार्यक्रममा देखाइएको थियो। यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन्।

छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन्। ‘एक्लो उदास जवानी...’मा मनोज राजले स्वर दिएका छन्। म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन्।

‘मै छोरीलाई गर्भमा नै...’मा निशा देशारको स्वर रहेको छ। श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन्।

एल्वममा पाँच वटा गीत समावेश छन्। शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन्। एल्वममा ‘एक्लो उदास जवानी’, ‘मै छोरीलाई गर्भमा नै...’, ‘बाँच्दै नबाँचे पनि...’, ‘मिसिएर दुइटा खोला...’ र ‘सामुन्नेमा उसलाई देख्दा...’ राखिएको छ।

प्रकाशित: १ मंसिर २०७६ ०५:४१ आइतबार

कालीप्रसाद_रिजाल उदास_जवानी सार्वजनिक