कला

लागूऔषधविरुद्ध तिहारमा कभवेभ ब्यान्डको कन्सर्ट

काठमाडौं– ‘से नो टु ड्रग्स’ मुल नारासहित झापाको झिलझिलेमा बृहत सांगीतिक कन्सर्टको आयोजना हुने भएको छ। समाजसेवी क्लबको आयोजनामा आगामी कात्तिक ८ गते तिहारको अवसर पारेर कन्सर्ट आयोजना हुने भएको हो। 

शुक्रबार झिलझिलेमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कन्सर्टबारे जानकारी दिएको हो। लागुऔषध दुर्व्यसन न्यूनिकण अभियान संचालनमा सहयोगार्थ कन्सर्ट आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक दिपेन लिम्वुले जानकारी दिए।

कन्सर्टमा नेपालको लोकप्रिय ब्यान्ड कभवेभ, धरानको आउटसाइडर ब्यान्ड र स्थानीय दि लिजार्ड ब्यान्डले प्रस्तुति दिनेछन्। 
झिलझिलेमा प्रत्येक वर्ष कन्सर्ट आयोजना हुँदै आएको छ। यो सांगीतिक कार्यक्रमको ११ औं संस्करण हो। शिवसताक्षीमा नगरमा आयोजना हुने यो कन्सर्टले यही नगरमा अवस्थित सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्याउने आयोजकको विश्वास छ। 

कन्सर्टबाट संकलित गरेको रकमले लागुऔषधविरुद्धको अभियानमा खर्च गरिने आयोजक समितिका ब्रिजेश गिरीले बताए।

प्रकाशित: १७ आश्विन २०७६ १४:१४ शुक्रबार

कन्सर्ट कभवेभ_ब्यान्ड तिहार लागूऔषध झापा