कला

संस्कृति आदानप्रदानमा जोड

काठमाडौं – चीनको ७० औं गणतन्त्र दिवसको अवसर पारेर राजधानीमा ‘चिनियाँ चलचित्र महोत्सव’ सुरु भएको छ। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, जिओ जियांग र हरिवंश आचार्यले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सांस्कृतिक आदानप्रदानको निम्ति महोत्सवले महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताए। ‘महोत्सवले नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निवार्ह गरेको छ। फिल्मको माध्यमबाट देशको पर्यटन र आर्थिक विकासमा टेवा पु-याउनेमा आशा गरेका छौं,’उनले भने। महोत्सवको आयोजना चिनियाँ सांस्कृतिक केन्द्रले गरेको छ।

महोत्सवमा चिनियाँ संस्कृति, विकास र रहनसहन समेटिएका कथामा आधारित ६ वटा फिल्म प्रदर्शन भइरहेको जानकारी आयोजकले गराएको थियो। ‘चीनका केही फिल्महरू नेपालमा खिचिएका छन्। त्यो फिल्महरूमा देखाइएका दृश्यहरूले नेपालमा चिनियाँ पर्यटनको सम्भावनालाई देखाइएको छ। फिल्ममार्फत नेपाल र चीनको सांस्कृतिक आदनप्रदानलाई थप प्रगाढ पार्न सकिने सम्भावना छ,’ पेकिङ विश्वविद्यालयका प्राध्यापक चेन श्वांगले भने।

महोत्सवको पहिलो दिन दाँते लामको ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौदको ‘वुल्फ टोटेम’ फिल्म प्रदर्शन गरिएको थियो। महोत्सवमा निर्देशक वंग्कार वाईको ‘द ग्राण्डमास्टर’, लेस्त चेनको ‘ब्याटल अफ मेमोरिज’, हान यानको ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङको ‘रनिङ लाईक विन्ड’ फिल्म प्रदर्शन गरिनेछ। तीन दिन चल्ने महोत्सवअन्तर्गत ­­­हरेक दिन दुई वटा फिल्म प्रदर्शन भइरहेका छन्। ‘महोत्सवले नेपाली चलचित्रकर्मीहरूलाई चिनियाँ कला र चलचित्रको बारेमा बुभ्mन सजिलो हुने र चलचित्रका माध्यमबाट दुई देशबीचको नागरिकलाई एकआपसको संस्कृतिको बारेमा जानकारी दिएर सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्नेछ,’ महोत्सवका कार्यक्रम संयोजक राजेन्द्र रिमालले भने। उनका अनुसार नेपालमा चिनियाँ फिल्म हेर्ने दर्शकको संख्या बढ्दै गएको छ। ‘युवा पुस्तामा चिनियाँ फिल्मप्रतिको मोह देखिन्छ। नेपालमा चिनियाँ फिल्म सुटिङ हुने हुँदा नेपालसम्बन्धी दृश्य हेर्नका निम्ति चिनियाँ फिल्म हेर्ने दर्शकपनि छन्,’ उनले भने।

कोटेश्वरकी संगीता सिलवाल चिनियाँ फिल्म हेर्नको निम्ति महोत्सवमा सहभागी भएकी छिन्। चिनियाँ फिल्मप्रति रुचि राख्ने उनी भन्छिन्,‘मार्सल आर्टलाई केन्द्रित गरेर विभिन्न कथावस्तुमा चिनियाँ फिल्म बन्ने हुँदा प्राय हेर्ने गर्दछु। महोत्सवमा चिनियाँ संस्कृति, विकास र रहनसहनमा आधारित फिल्महरू समावेश भएकाले हेरिसकेपनि फेरि हेर्न आएको हुँ।’ महोत्सवको पहिलो दिन दाँते लामको ‘अपरेसन मेकङ’ फिल्म हेरिसकेपछि चाबहिलकी समिरा डंगोलले कथावस्तुबाट प्रभावित भएको प्रतिक्रिया दिइन्। महोत्सव आगामी असोज २ सम्म चल्नेछ।

प्रकाशित: १ आश्विन २०७६ ०४:०६ बुधबार

संस्कृति आदानप्रदान चिनियाँ_फिल्म महोत्सव