कला

बजारमा ‘छायाँको लस्कर’ आउँदै

काठमाडौं – झापा आन्दोलन ताका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ नामक पुस्तक लिएर आउँदै छन्।

नेपालयले सोमबार प्रेस विज्ञप्तिमार्फत उनीद्धारा लिखित पुस्तक ‘छायाँको लस्कर’ सार्वजनिक हुन लागेका जानकारी गराएको थियो। पब्लिकेसन्स नेपालयबाट प्रकाशित हुन लागेको प्राध्यापक केआरको आत्मकथामा वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनैतिक परिवेशको चित्रण समेटिने छ।

राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी शर्मा ओली, मदन भण्डारी, माधव नेपाल र गोविन्द न्यौपानेहरूसँगै उनको राजनैतिक यात्रन अघि बढेको थियो।

उनले स्कुले जीवनदेखि तत्कालिन भूमिगत पार्टी नेकपा मालेको निकट रहेर राजनीति सुरु गरेका थिए। हाल मेची क्याम्पसमा प्राध्यापन गरिरहेका उनी पाठकसामु पुस्तक आउन लागेकोमा उत्साहित छन्। ‘पुस्तक सार्वजनिक हुने खबरले म रोमाञ्चक भएको छु।

आफ्नो जीवनको कथामार्फत मैले मेरो परिवेश र उतिबेलाको समयको कथा बुनेको हुँ। आफ्नो कथा भन्दै गर्दा मेरा अगुवा र दौतरीहरूको समय र कथा पनि जोडिएर आएका छन्। एउटा सामान्य मान्छेको संघर्षको कथालाई पाठकहरूले रुचाइदिनु होला भन्ने आशा छ,’ उनले भने। दसै अगाडि बजारमा आउन लागेको पुस्तकको मूल्य पाँच सय ४५ रूपैयाँ राखिएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०४:५२ मंगलबार

झापा_आन्दोलन छायाँको_लस्कर