कला

नेपाली समाजमाथि व्यंग्य गर्दै ‘बिइङ टुगेदर’

काठमाडौं– प्रविधिको विकाससँगै युवा पुस्ताले सामाजिक सञ्जालमा सक्रिय भइरहेका छन्। युवा पुस्ता सामाजिक सञ्जालमा व्यस्त हुँदा उनीहरू सिर्जनशील दिमाग प्रयोगबिहीन जस्तै भएको छ। पारिवारिक महोलमा रमाउन छाडेर सामाजिक सञ्जालमा सक्रिय हुँदा उनीहरूले आफन्तहरूसँग घुलमिल गर्न छाडेका छन्। युवा पुस्ताको यो प्रवृतिलाई व्यंग्य गर्दै चित्रकार सुरेश बस्नेतले वर्तमान नेपाली समाजको वास्तविकतामाथि तयार गरेको चित्रकला पाटनढोकास्थित क्लासिक ग्यालरीको आयोजना भइरहेको ‘बिइङ टुगेदर २०१९’ नामक प्रदर्शनीमा राखिएको छ।

गत साउन २४ देखि सुरू भएको ‘बिइङ टुगेदर २०१९’ नामक कला प्रदर्शनीमा पाँच जना चित्रकारका ३५ वटा कलाहरू समावेश भएका छन्। वर्तमान नेपाली समाजको वास्तविकतालाई व्यंग्य गर्दै कलाकारले अनुभव गरेका अनुभूतिलाई क्यानभासमा उतारेका छन्।

महंगीको मारलाई व्यंग्य गदै चित्रकार बस्नेतले तरकारीको मूल्य गर–गहनाजति हुन पुगेको वास्तविकता चित्रमा देखाएका छन्। मोबाइलमा रमाउने युवा पुस्ता समाजमा भइरहेको विकासबारे अनविज्ञ रहेको यथार्थ क्यानभासमा उतारिएको छ। विसं. २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त संरचनालाई उनले कलात्मक रूपमा प्रस्तुत गरेका छन्। नेपाली समाजमा रहेको भोलिवादको चित्रण गरेर उनले भूकम्पबाट ध्वस्त संरचना बन्न नसक्नुमाथिको यथार्थलाई व्यंग्यात्मक शैलीले प्रस्तुत गरेका छन्। ‘नेपाली समाजमा रहेको भोलिवाद प्रवृति र युवा पुस्तामा हाबी रहेको सामाजिक सञ्जालप्रतिको मोहमाथि व्यंग्य गर्दै चित्रकला तयार गरेको छु,’ उनले भने।

चित्रकार लियो झन्कारले नेपाली संस्कृति र पर्यायवरणीय पक्षलाई तुलना गरेर चित्रकला कोरेका छन्। वनविनाशले वातावरणमा पारेको प्रभाव र नेपाली संस्कृतिमा पार्न सक्ने चुनौतीका विषयमा चित्रमार्फत विचार पोखेका छन्। ‘वातावरणमा विभिन्न कारणले गरेको प्रभावका कारण हाम्रो संस्कृतिमाथि असर गर्दै गरेको भाव मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने। नेवारी समुदायमा प्रचलित आँखीझ्यालको कलात्मक शैलीलाई उनले कलामार्फत प्रस्तुत गरेका छन्।

चित्रकार सरिता डंगोलका अनुसार सिर्जनशील युवाको प्रतिभालाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको हो। ‘रमाइलो गर्न रूचाउने युवा पुस्ताहरू समाजप्रति जिम्मेवार हुन आवश्यक छ। उनीहरूको सिर्जनशील प्रतिभालाई कलाको माध्यममार्फत प्रदर्शनीमा समेट्ने प्रयास गरेका छौं,’ उनले भनिन्।

चित्रकार विनोद गिरीले विभिन्न विम्वहरूलाई पाटन दरबार क्षेत्र गेटवे र मन्दिर नामक कलामा समावेश गरेका छन्। विभिन्न रंग र रेखाको गहिराईलाई कलात्मक शैलीमा क्यानभासमा उतारेका चित्रकार गिरी भन्छन्, ‘मानिसको मनोभावनाले अँध्यारो र उज्यालोमा जीवन खोजिरहेको हुँदा भेटिन्टजस्तो लाग्छ।’

चित्रकार दिपक थामीको ‘स्पेस’ नामक चित्रकलामा मानिसको भाव र आत्माको कुरा समेटिएको छ। मानिसको व्यक्तिगत, भावनात्मक र शारिरीक स्पेसलाई तुलनात्मक रूपमा क्यानभासमा उतारिएको छ। ‘मानिसले विभिन्न स्पेसको खोजीलाई बुझ्ने शैली फरक भएपनि समाजले एक अर्काको भावनाको कदर गर्नुपर्छ भन्ने भाव चित्रकलामा समावेश गरेको छु, ’उनले भने। उनले हिमाली भेगमा लामाको छोर्तेन (अस्तु राख्ने संस्कार)लाई पनि समेटेका छन्। 

मंगलबजारको रहनसहनदेखि ढुगेंधाराको भित्तामा रहेको विभिन्न जनावरको आकृतिलाई क्यानभासमा समेटेका चित्रकार अमन मर्हजनले विभिन्न किवदन्तींमा आधारित चित्रकला प्रदर्शनीमा समावेश गरेका छन्। प्रदर्शनी आगामी भदौ २४ सम्म चल्नेछ। 

 

 

 

 

प्रकाशित: २ भाद्र २०७६ ०९:०५ सोमबार

प्रविधिको_विकास सामाजिक_सञ्जाल व्यंग्य नेपाली_समाज