काठमाडौं - साहित्यकार विज्ञता कार्कीको ‘आँचलको आँगन’ निबन्ध संग्रह सार्वजनिक भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए।
लेखक कार्कीले आफ्नो १८ औं जन्मदिनको अवसर पारेर पाँचौ कृति सार्वजनिक गरेकी थिइन्। ‘आँचलको आँगन’ मा विद्रोहको भाव र सामाजिक न्यायको चर्चा गरिएको छ। कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘कला, संस्कृति र साहित्यिक क्षेत्रबाट अनेक जातजाति, भाषा, धर्म एकतामा बाँध्नुपर्छ। लेखक कार्कीजस्ता साहित्यिक व्यक्तिले साहित्यमार्फत एकताको सन्देश दिनुपर्दछ।’ उनले सो कार्यक्रममा बोल्दै २० बर्ष मुनिका किशोर लेखकहरुलाई ध्यानमा राखेर संस्कृति मन्त्रालयले पुरस्कार राख्ने घोषणा समेत गरे।
कार्यक्रममा बोल्दै लेखक कार्कीले महिला र समाजलाई तुलना गरेर लेखिएका विभिन्न विषयका निबन्धलाई पुस्तकमा समेटेका बताइन्। ‘नेपाली समाज र महिलाको विभिन्न विषयमाथि लेखिएका निबन्धहरू पुस्तकमा समावेश गरिएको छ,’ उनले भनिन्।
पुस्तकमा ‘जटिल जन्म’, ‘प्रश्नको पर्खाल’, ‘आँसुको आक्रोश’ र ‘चिन्ताको चिता’ लगायतका १८ वटा विषयका निबन्ध समेटिएको छ। कार्यक्रममा मशी सिर्जना पुरस्कार बालचन्द्र श्रेष्ठ, आमाश्री पुरस्कार सुलोचना मानन्धर र तरेली सम्मान पुरस्कार बुद्धि कार्कीलाई प्रदान गरिएको थियो। कार्यक्रममा डा. सरोज धिताल, खगेन्द्र राई विज्ञताका बाबु एवं साहित्यकार विनोद मञ्जनले पनि आफ्नो धारणा राखेका थिए। पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको छ।
प्रकाशित: १ भाद्र २०७६ ०७:३९ आइतबार