कला

उषाको ‘आधि’ बजारमा

काठमाडौ – मानसिक द्वन्द्वका विभिन्न पक्षहरुलाई केन्द्र गरेर साहित्यकार उषा शेरचनले लेखेको ‘आधि’ नामक उपन्यास बजारमा आएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार चेतन कार्की, कुमारी लामा र पद्यमावती सिंहले पुस्तक विमोचन गरेका थिए।

कार्यक्रममा साहित्यकार कार्कीले पुस्तकमा आफन्तबाट हुने बलात्कारको घटनाले समाजमा पु¥याउने असरबारे बोलेका थिए। ‘नेपाली साहित्यमा कवि र गीतकारको रूपमा उदाएकी साहित्यकार शेरचनको उपन्यासले समाजभित्रको कथा समेटेको छ। आफन्तबाट बलात्कृत हुँदाका घटना र मार्मिक पीडालाई पुस्तकमा समावेश गरिएको रहेछ,’ उनले भने, ‘महिलाले भोग्ने पीडामाथि लेखिएको यो पुस्तकले नेपाली समाज अवस्थाको चित्रण गरिएको छ।’

पुस्तकमाथि बोल्दै समीक्षक कुमारी लामाले यस उपन्यासले महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था चित्रण गरेको दाबी गरेकी थिइन्। पुस्तकमा सत्य घटनामा आधारित बलात्कृत महिलाको कथा समावेश गरिएको छ। साहित्यकार शेरचनको यसअघि ‘नजन्मेका आस्थाहरु’, ‘सर्वकालीन पीडा र जागृतिका शंखघोष’, ‘अक्षरहरुका शिविरबाट’, ‘तेस्रो रंग’ र ‘संवेदन’ लगायत कृतिहरू प्रकाशित भएका छन्। यस पुस्तकलाई बुक हिल पब्लिकेसन बजारमा ल्याएको छ।

प्रकाशित: ३० श्रावण २०७६ ०३:१९ बिहीबार

मानसिक_द्वन्द्व आधि