कला

‘म कलाकार हो कि होइन ?’

काठमाडौं – आगामी जेठ २५ गते राजधानीमा हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएकी निवर्तमान महासचिव सरिता लामिछाने मंगलबार पत्रकारमाझ एजेन्डासँगै गुनासो लिएर प्रस्तुत भइन्। चुनावका लागि मतदातासमक्ष भोट माग्न जानुपर्ने बेलामा उनले आफूलाई आफ्नो पहिचानको विषयमा लिएर ‘ह्यारेसमेन्ट’ गरिएको जनाउँदै सञ्चारकर्मी, पत्रकार र अभिनेत्रीमाझ प्रस्तुत भइन्।

उनले आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएपछि केही व्यक्तिले ‘सरिता लामिछाने गैर कलाकार हो’ भन्दै प्रचारप्रसार गरेको दाबी गरिन्। ‘मैले कलाकारिता क्षेत्रमा २० वर्ष बिताएकी छु। उमेरले ४२ वर्षमा दौड्दैछु। अहिले आएर ‘सरिता लामिछाने कलाकार होइन’ भनेर प्रचार गरिँदैछ। त्यसकारण म कलाकार हो कि होइन् ? भनेर सोध्ने बेला आएको छ’, उनले भनिन्, ‘मेरो कला र अभिनयबाहेक अन्य कुनै पेशा छैन। कलाकार हुँ वा होइन भन्ने उत्तर पर्खेर बस्नुपरेको अवस्था छ। मलाई यस्तो आरोप लगाएर चुनाव हुन नदिनु र चुनावमा उठ्न नदिनु कहाँसम्मको न्याय हो।’

उनले संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि धेरै किसिमका धाकधम्की र बेइज्जती सहिरहनु परेको खुलाइन्। ‘म बस्ने घर अगाडि अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आएर घुम्छन्। घरतिर औला देखाउँछन्। मेरो गाडीको नम्बर यति हो भनेर फोन गर्छन्’, उनले प्रतिप्रश्न गरिन् ‘म के हैसियतले यसअघि तीन वर्ष महासचिव भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरूले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ।’ उनले आफूलाई अध्यक्ष पदमा लड्ने निर्णय लिएपछि जिल्ला प्रशासन कार्यालयमा सरिता लामिछाने कलाकार होइन भनेर मुद्धा हालिएको जनाइन्।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले कलाकार संघमा यस्तो अवस्था आउनु आफैंमा दुःखद भएको बताइन्। अभिनेत्री करिश्मा मानन्धरले सरिता लामिछाने कलाकार हुन् या होइनन् भनेर कसैले भनिराख्नु नपर्ने बताउँदै कोही व्यक्ति संस्थाको नेतृत्व गर्छु भनेर आउँछ भने त्यसमा साथ दिनुपर्ने बताइन्। अभिनेत्री रेखा थापाले फिल्मी संघसंस्थामा महिला नेतृत्व आउनुपर्ने जनाइन्।

कार्यक्रममा अध्यक्षका उम्मेद्वार लामिछानेले आफ्ना पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी थिइन्। जसमा नेपाल चलचित्र कलाकार संघलाई सम्पूर्ण कलाकारको छाता संगठन बनाउने प्रयास गर्ने, संघको परिचयपत्रलाई राष्ट्रियता मान्यता दिलाउने, कलाकार कल्याण कोषको वृद्धि गरी यसको कामलाई वृहत बनाउने, कलाकारको क्षमता अभिवृद्धिका निम्ति कार्य गर्ने र कलाकार संघको आफ्नै भवन निर्माण गर्ने छन्। चुनावमा सरिताको प्रत्यासी उम्मेद्वारका रूपमा रवीन्द्र खड्का छन्।

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:२८ बिहीबार

कलाकार चुनाव सरिता_लामिछाने