कला

गाउँपालिका चिनाउने गीत

सुर्खेत– नेपालकै अग्लो झरना। सुन्दर पाटन र चौरहरू। कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका विषेशताहरू हुन्, यी। यिनै विशेषताहरूलाई समेटेर अध्यक्ष खड्गराज सेजुवालले गीत तयार पारेका छन्।

गाउँपालिकामा आठवटा वडा छन्। यहाँका सबै वडाहरू पर्यटकीय क्षेत्रले भरिपूर्ण छन्। नेपालकै अग्लो तीन सय ८१ मिटरको झरनाकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ। ‘नेपालकै अग्लो पचालझरनाका साथै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले गीत बजारमा ल्याएका हौं’, गाउँपालिकाका अध्यक्षसमेत रहेका गीतकार सेजुवालले भने, ‘यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा गीतले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं।’

सुन्दर गाउँ, सुन्दर बस्ती सुन्दर छन् पहरा
संसारलाई चिनाउन पारौं हराभरा
कर्णालीको सुनको खानी झरनाको शिर
पर्यटन विकास गरौं हाम्रो बस्तीतिर

गीतमा उल्लेख गरिएजस्तै पचालझरना सुन्दरताले भरिपूर्ण छ। दुर्गमताका कारण यहाँको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन सकेको छैन। गाउँपालिका अध्यक्ष सेजुवाल गीतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गाउँपालिकाको पहिचान स्थापित गर्ने बताउँछन्। 

‘पचालझरनाको सुन्दरता, नेपालकै अग्लो झरनाका साथै यहाँका अरू विशेषताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिन गीतले महत्त्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने, ‘गीतसँगै स्थानीयस्तरमा छायाङ्कन गरिएको भिडियोले यहाँको सुन्दरता देखाउँछ।’

बड्डा दून, बयाल झरना पंगेलीका चौर
जता यो रमाइलो छ कठै मेरा ठौर 
ए मेरो पर्यटन क्षेत्र अग्लो झरना पनि
विन्ती गर्छौं हामी सबैलाई आउनुहोला भनि

कर्णालीका् भूगोल मात्रै नभएर कर्णालीकै शब्दहरू गीतमा समावेश छन्। पचालझरना चिनाउने यो गीतमा चर्चित गायक रामचन्द्र काफ्ले र पदमपुरा सेजुवालको स्वर रहेको छ। सञ्चारकर्मी विवशकुमार सेजुवाल र विजयराज सेजुवालले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन इन्द्रजीत खड्का र हेमन्त कँडेलले गरेका हुन्। क्रिएटिभ मिडिया एण्ड रिसर्च सेन्टरले बजारमा ल्याएको म्यूजिक भिडियोका सम्पादन मानबहादुर वलीले गरेका हुन्।

प्रकाशित: १५ वैशाख २०७६ ०७:५८ आइतबार

पचालझरना_गाउँपालिकाका गीत खड्गराज_सेजुवाल