कला

धर्मराजको गीत

खोटाङ – खोटाङका गायक धर्मराज पोखरेलको गीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवराज दाहालको लय र शब्द तथा गायक पोखरेल र निशा कार्कीको स्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो। 

दश मिनेट लामो भिडियोमा कलाकार विनोद बम, सरिका केसी तथा बालकलाकार एलिना श्रेष्ठ तथा साकार श्रेष्ठ फिचर्ड छन्। गायक पोखरेलकै निर्देशन रहेको भिडियोमा मायाप्रेममा प्रेमीप्रेमिकाले तड्पिनु पर्ने समस्यालाई चित्रण गरिएको छ। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल काठमाडौं, बुढानिलकण्ठ बस्दै आएका लोक गायक पोखरेलको भिडियोमा खेम थापामगरको छायांकन छ।

२०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उडी जाने जेट’, ‘शिरशिर बतास’, ‘पूर्व धरान, पश्चिम पोखरा’ लगायतका १९ बढी गीत बजारमा आइसकेका छन्। पेशाले इञ्जिनियर पोखरेल राजनीतिकर्मी पनि हुन्। उनले ‘राष्ट्रियता, प्रजातन्त्र, उदारवाद’ बोलको गीत राप्रपाको चुनावी अभियानका लागि तयार पारेका थिए।

 

प्रकाशित: १३ चैत्र २०७५ ०२:४५ बुधबार

खोटाङ धर्मराज_पोखरेल गीत म्युजिक_भिडियो