कला

मेयरले बजाए सनाई !

नौमती बाजा हस्तान्तरणकाक्रममा नरसिंगा फुक्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राई। तस्बिर : नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका शिल्पी समुदाय (दमाई)लाई नौमती बाजा प्रदान गरिएको छ। लोपोन्मुख बनेको नौमती बाजाको संरक्षण गर्दै शिल्पी समुदायको नौमती बाजा बजाउने पेशाको व्यावसायीक विकासका लागि वडा कार्यालयले एक सेट नौमती बाजा प्रदान गरेको हो। वडा कार्यालयले विनियोजन गरेको एक लाख बजेटबाट खरिद गरिएको सनाई, नसिंङ्गा, दमाहा, ट्याम्कु, झ्याम्टा, ढोलाकी, बिगुलगायतका बाजाको सेट नगरका मेयर इवन राई र उपमयर विमला राईले शिल्पी समुदायलाई हस्तान्तरण गरेका छन्।

मेयर राईले सनाई र नरसिंगा आफैले बजाएर शिल्पी समुदायलाई हस्तान्तरण गरेका थिए। उपमेयर राईले झ्याम्टा बजाएका थिए। आवश्यक परेको बेला संयुक्त रुपमा चलाउनेगरी शिल्पी समुदायले नौमती बाजा प्रदान गरिएको हो। दलित समुदायको उत्थानका लागि आर्थिक वर्ष २०७५÷०७६ मा बिनियोजन गरिएको रकमले शिल्पी समुदाय आफैले नौमती बाजा खरिद गरेर ल्याएको वडाध्यक्ष पृथीराज राईले बताए।

बिहे, पास्नी, ब्रतबन्ध, उत्सव लगायतका बेलामा बजाइने नौमती र पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बनेकाले संरक्षण र प्रवद्र्धका काम गरिएको वडा कार्यालयले जनाएको छ। विहेका समयमा बढि प्रयोग हुने नौमती बाजा पछिल्लो समय डेक र साउण्डबक्सका कारण कम बजाउन थालिएको छ। गत माघमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयले पनि स्थानीय शिल्पी समुदायलाई एक सेट पञ्चेबाजा प्रदान गरेको थियो।

प्रकाशित: ८ चैत्र २०७५ ०४:२८ शुक्रबार

हलेसी_तुवाचुङ_नगरपालिका शिल्पी_समुदाय