कला

गायिका प्रवृत्ति सम्मानित

खोटाङ – खोटाङकी गायिका प्रवृति राई सम्मानित भएकी छन्। सांगीतिक क्षेत्रमा करियर बनाउन संघर्षरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी १६ वर्षीय प्रवृत्तिलाई १ सय ९ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सम्मान गरिएको हो।

२०७५ साउन २ गते ओखलढुंगामा सम्पन्न ‘भिजन आइडल’की ‘फस्ट रनरअप’ प्रवृत्तिको संगीतप्रतिको मेहनत, लगाव र संघर्षको कदर गर्दै दोसल्ला ओढाएर ५ हजार ५५ रुपैंयाँसहित सम्मान–पत्र प्रदान गरिएको हो। उनलाई प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले दोसल्ला ओढाएर नगद तथा सम्मान–पत्र प्रदान गरे।

गायिका राईको गत पुस दोश्रो साता ‘तिम्ले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ’ बोलको गीत बजारमा आएको थियो। क्यान्सरले आमाको मृत्यु भएपछि बिचल्लीमा परेकी प्रवृत्तिलाई साइनो कलाकेन्द्र खोटाङले निःशुल्क संगीत अध्ययन गर्ने अवसर दिएको छ। क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेपछि प्रवृत्तिलाई साइनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:२१ मंगलबार

गायिका प्रवृति_राई सम्मानित