कला

‘भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ’

लोक गायक , पशुपति शर्मा

काठमाडौं – लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ को भिडियो सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ। सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म गीतले स्थान पाएको छ। श्रोता तथा दर्शकले गीतको विषयबस्तु भन्दा पनि त्यसमा प्रयोग गरिएको शब्द प्रति ध्यान दिएका छन्। कतिपयले गीतलाई राम्रो भनी तारिफ गरेका छन् भने कतिपयले शब्द छनौंट गलत भएको जनाएका छन्।

नेकपा अन्तर्गतको युवा संघको विरोधपछि पशुपतिले यो गीत युट्युबबाट हटाइसकेका छन्। गीत युट्युबबाट हटे पनि गीतको पक्ष र विपक्षमा आवाज उठाउने सेलाएका छैनन्। पञ्चायतकालमा निरंकुशताविरुद्ध गीत गाएर चर्चामा आएका गायक नारायणभक्त श्रेष्ठ ‘रायन’ नागरिक बोल्न पाउनुपर्ने हकलाई प्रयोग गर्न पाउनुपर्ने बताउँछन्। ‘मैले गीत त सुन्न पाएको छैन। एउटा नागरिकले कलाकारले सिर्जना गरेका विषयबस्तुलाई उपयोग गर्न पाउनुपर्छ। कलाकारसँग सरकारलाई सचेत बनाउने अधिकार छ’, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका उनले भने, ‘कोही मान्छेले असल कामका लागि सिर्जना गरेको हो भने उसलाई हस्तक्षेप गर्न मिल्दैन। भ्रष्टाचार विरोधी गीतलाई प्रोत्साहन गर्नुपर्छ। उहाँले पनि गीतमार्फत सरकारलाई सचेत बनाउनुभएको होला।’ उनले आफुले पनि पञ्चायती कालमा गीत गाएर जनजागरण ल्याएको स्मरण गर्दै राम्रो कामको सबैले सराहना गर्नुपर्ने बताए। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विकृति र विसंगतिका विरुद्ध गाइएका गीत जायज हुने भए पनि मुलुकको प्रतिष्ठानमा आँच आउने किसिमका गीत असह्य हुने बताए। ‘उहाँको यो सिर्जनामा गरिएका केही आलोचना सहि होलान्। तर समग्रमा यसले राष्ट्रियतामा आँच पुर्‍याएको छ। गीतमा सांकेतिक कुरा गर्न सकिन्थ्यो होला। तर उहाँजस्तो एउटा सचेत नागरिकले आत्तिएर उदयीमान मुलुकका रूपमा अघि बढ्दै गरेको देशको छविमा आँच ल्याउने काम गर्नुभएको छ’,कुलपति उप्रेतीले भने, ‘हामी अहिले विकासको बाटोमा छौं। भ्रष्टाचार गर्नेलाई कारवाही हुन थालिसकेको छ। भ्रष्टाचार पनि नियन्त्रण हुन थालिसकेको छ। यो अवस्थामा देशै लुट भन्ने सन्देश जाने किसिमको गीत गाउनु अशोभनिय नै हो।’

कुलपति उप्रेतीले मानिसलाई संविधानले स्वतन्त्रताको हकको ग्यारेन्टी गरिए पनि राष्ट्रियतामा आँच आउने किसिमको गतिविधि गर्न छुट नभएको जनाए। ‘मैले सरकारको आलोचना गर्नु हुन्न भनेको होइन्। तर कुन तहसम्म आलोचना गर्ने भन्ने मुख्य कुरा हो’, उप्रेतीले भने, ‘उहाँले गीतमा उठाउनुभएको कुराको न्यूनीकरण गर्न सरकार सक्रिय भएर लागिरहेको छ। यो समय सरकारको विरोध भन्दा पनि समर्थन गर्नुपर्ने समय हो।’

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App