कला

आशिष–रेवतीको ‘समर लभ’ संयोग

फिल्म ‘समर लभ’का नायक आशिष पिया र नायिका रेवती क्षेत्री। तस्बिरः नागरिक

काठमाडौं – २०६९ मंसिरमा उपन्यासकार सुविन भट्टराईको पहिलो उपन्यास ‘समर लभ’ विमोचन भइरहँदा नवनायक आशिष पिया त्यही दिन आफ्नो जन्मदिन मनाइरहेका थिए। उपन्यासले बजारमा चर्चा पाएर लाखौं पाठकले पढिसक्दा पनि आशिषको ध्यान ‘समर लभ’मा गएन। अहिले यिनै आशिष यही उपन्यासमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’मा प्रमुख भूमिकामा छन्। अर्थात उपन्यासमा रहेको ‘अतित’ चरित्रलाई आशिषले फिल्ममा निभाउँदैछन्। फिल्म यही शुक्रबार अर्थात माघ २५ गतेबाट रिलिज हुँदैछ।

‘समर लभबाटै फिल्मी अभिनयमा डेब्यु गर्न पाउनु र अतितको चरित्र निभाउन पाउनु मेरा लागि भाग्यकै कुरा हो। यो फिल्मको लागि अफर आउनुभन्दा अघिसम्म मैले ‘समर लभ’ पढेको थिइनँ’, फिल्मसँग जोडिनुको कारण आशिषले खुलाए, ‘म तीन वर्ष अघि नै फिल्ममा अनुबन्धित भइसकेको थिएँ। फिल्ममा अनुबन्धित भएपछि मात्र मैले समर लभको बारेमा बुझें। यो उपन्यास त लाखौं पाठकले रुचाउनुभएको रहेछ। त्यसपछि मैले पुस्तक पढें। पुस्तक पढेपछि निर्देशक मुस्कान ढकालले फिल्मको स्क्रिप्ट दिनुभयो।’ 

आशिषका अनुसार फिल्मसँग जोडिएपछि उनको भेट प्रत्येक साता निर्देशक मुस्कान तथा उपन्यासका लेखक सुबिनसँग भइरह्यो। सुबिनले उनलाई अतितका कतिपय कुराहरू मेल खान्छन् भनेर हौस्याइरहन्थे। ‘मेरो लागि अतितको भूमिका चुनौतीपूर्ण थियो। किनकी यो उपन्यास पढिसकेका पाठकलाई कथा, भाव, मर्म के छ भन्ने कुरा थाहा थियो। अतित चरित्रलाई कसरी न्याय दिन सक्छु भनेर वीरेन्द्र हमालसँग अभिनय कक्षा पनि लिएँ’, आशिषले भने, ‘अन्य फिल्ममा नायिकालाई रुन्चे र नायकलाई व्यक्तिगत मनोवृत्ति देखाउने चरित्रमा प्रस्तुत गरिन्छ। समर लभ यो मामलामा फरक छ। किनकी पुस्तकमा जस्तै फिल्ममा पनि अतित रोएको रोयै गर्छ। यो फिल्म हेरेपछि मलाई दर्शकले ‘रुन्चे हिरो’ भन्नुहुन्छ होला। पुस्तकमा अतितले पाएको दुःख जस्तै फिल्ममा पनि त्यो दुःखलाई प्रस्तुत गरिएको छ। फिल्मले युवापुस्ताको भोगाइलाई देखाउँछ।’ 

अन्य फिल्ममा नायिकालाई रुन्चे र नायकलाई व्यक्तिगत मनोवृत्ति देखाउने चरित्रमा प्रस्तुत गरिन्छ। समर लभ यो मामलामा फरक छ।

आशिष जस्तै नायिका रेवती क्षेत्री पनि यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गर्दैछिन्। बलिउड फिल्म ‘ह्याप्पी भाग जाएगी’मा अभिनय गरिसकेकी रेवतीले ‘प्यार तुने क्या किया’बाट बलिउडमा ‘डेब्यु’ गरेकी हुन्। नवनायक आशिष जस्तै रेवती पनि उपन्यास ‘समर लभ’बारे अनभिज्ञ नै थिइन्। ‘ मैले ‘समर लभ’ पढेको छैन। मलाई सायाको अफर आएपछि युट्युबमा अडियो सुनें। त्यो समयमा आफुलाई रेवती हुँ भन्न बिर्सिएँ’, रेवतीले भनिन्, ‘रियालिटीमा म रेवती हुँ। तर रिलमा सारा थिएँ। त्यसकारण साया भनेर पढ्दा मनोवैज्ञानिक रूपमा केही गाह्राे भयो। पहिले नै हिट भएको चरित्रमा आफुलाई फिट गर्नु चुनौतीपूर्ण थियो। पाठकमाझ साया यस्ती हास्ली, साया यस्तो बोल्ली भन्ने कल्पना छ। त्यो कल्पनालाई दृश्यमा मैले कत्तिको न्याय दिन सकेको छु भन्ने हेर्न उत्सुक छु।’

फिल्मका निर्देशक मुस्कान ढकालले नाम चलेको पुस्तकमा फिल्म बनाउन निकै गाह्राे हुने बताए। ‘समर लभ आफैमा एउटा ब्राण्ड थियो। त्यो ब्राण्डलाई फिल्मको पर्दामा देखाउनु चुनौतीपुर्ण थियो। फिल्मको कथाका लागि अरु पनि पुस्तक थिएँ। तर समर लभ बगेको थियो’, मुस्कानले भने, ‘नाम पनि राम्रो र आम मानिसले थाहा पाइसकेको पुस्तक भएकाले पनि फिल्मका लागि लिएको हुँ। यो पुस्तक सामान्य चाहिँ छैन।’

उपन्यासकार भट्टराईले फिल्म हेर्दा आफुलाई छोएको खुलाए। ‘मैले फिल्म हेरेपछि मैले लेखेका कतिपय कुराहरू पर्दामा आए। त्यो चिजले मलाई छोयो। कतिपय दृश्यमा मेरा आँखा पनि रसाए’, सुविनले भने, ‘पुस्तकको मर्मलाई फिल्मले मर्न दिएको छैन। पुस्तकमा जसरी कथा बगेको छ। फिल्ममा पनि त्यसरी नै बगेको छ।’

फिल्ममा नम्रता सापकोटा, शिशिर भण्डारी, सुरजसिंह ठकुरी, सरोज खनाल र ओम प्रतिकलगायतका कलाकारको अभिनय छ।

प्रकाशित: २४ माघ २०७५ ०४:२७ बिहीबार

उपन्यासकार सुविन_भट्टराई समर_लभ