कला

सरोगेसीबाट आमा बनिन् एकता

मुम्बई – भारतीय टेलिभिजनकी ‘क्वीन’ मानिने बलिउड फिल्म निर्मात्री एकता कपुर सरोगेसीको माध्यमबाट एक छोराको आमा बनेकी छन्। एकताको जनसम्पर्क समूहले उनी आमा बनेको पुष्टि गरेको छ। समूहले जारी गरेको विज्ञप्तिमा एकताको परिवारमा उल्लास छाएको जनाइएको छ।

सरोगेसीबाट जन्मिएका बालकको नाम रवि कपुर राखिएको छ। उनको जन्म जनवरी २७ मा भएको हो। एकताका अभिनेता पिता जीतेन्द्रको वास्तविक नाम पनि रवि कपुर नै हो। एकतालाई सरोगेसीको माध्यमबाट आमा बन्नका लागि उनको चिकित्सक नन्दिता पलशेतकरले सहयोग गरेकी थिइन्। ‘एकता कपुर केही वर्ष अघि आमा बन्ने इच्छा बोकेर मसँग कुराकानी गर्न आएकी थिइन्। मैले आईवीएफ र आईयूआईको माध्यमबाट धेरैपटक कोशिस गरें। तर उनी गर्भवती भइनन्। त्यही हामीले सरोगेसीको सहारा लियौं’, उनले भनेकी छन्। एकता आमा बनेको समाचार सार्वजनिक भएपछि बलिउड र टेलिभिजन उद्योगसँग जोडिएका कलाकार तथा प्राविधिकले बधाई दिएका छन्। एकता अभिनेता तुषार कपुरकी दिदी हुन्।

एकताले अभिनेता भाइ तुषारबाट सरोगेसीको माध्यमबाट आमा बन्ने प्रेरणा लिएको बताइएको छ। तीन वर्ष अघि तुषार पनि सरोगेसीको माध्यमबाट एक छोराका बाबु बनेका थिए। जसको नाम उनले लक्ष्य राखेका थिए। लक्ष्यको जन्मदिन होस् या अन्य सार्वजनिक कार्यक्रममा एकता आफु विवाह नगर्ने बताउँदै आएकी थिइन्।

तर तुषारको छोरा जन्मिएपछि उनले आफु पनि आमा बन्ने इच्छा व्यक्त गरेकी थिइन्। ‘जुन समयमा म जिम्मेवारी बहन गर्ने हुन्छु। त्यो समयमा मात्र आमा बन्नेछु’, उनले भनेकी थिइन्। बच्चा प्रति एकताको मायालाई सामाजिक सञ्जालमा भतिजा लक्ष्यको सुन्दर तस्बिर राखेर व्यक्त गरिसकेकी छन्। उनले लक्ष्यसँग आफु नजिक रहेको र आफ्नो ज्यान भन्दा पनि बढी माया लक्ष्यलाई गर्ने गरेको बताउँदै आएकी छन्।
एकता र तुषारबाहेक करण जोहार, शाहरुख खान, अभिनेत्री सनी लियोनी, आमिर खान पनि सेरोगेसीको माध्यमबाट आमा र बाबु बनिसकेका छन्।

प्रकाशित: १८ माघ २०७५ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App