कला

‘निफ’मा नेपालका १६ फिल्म

काठमाडौं – पहिलो संस्करण पोखरामा आयोजना गरिएको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(निफ)’ को दोस्रो संस्करण काठमाडौंमा हुने भएको छ। यसपटकको फेस्टिभलमा ३१ देशका ५९ फिल्म छनौंट भएका छन्। जसमा नेपालका १६ फिल्म छन्।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलका संयोजक केपी पाठकले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउनको लागि पनि कार्यक्रम सार्थक हुने बताए। ‘हाम्रो जुरीमा नेपालसँगै विदेशी फिल्मकर्मी पनि हुनुहुन्छ। त्यहाँ हाम्रो फिल्मलाई उहाँले हेर्नुहुन्छ। हाम्रो फिल्म कस्तो बनेको छ भन्ने सन्देश पनि जान्छ’ आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाठकले भने।

महोत्सव आगामी फेब्रुअरी २१ देखि २५ सम्म हुनेछ। महोत्सवमा समावेश विदेशी फिल्ममध्ये ३१ वटा सर्ट फिल्महरू र ६ फिचर फिल्म छन्। नेपाली फिल्महरूमा ६ वटा फिचर र १० वटा सर्ट फिल्म छन्। नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई सर्ट फिल्महरू फेस्टिभलमा देखाइनेछ। महोत्सवमा नयाँ फिल्मकर्मीहरूका लागि अवसर प्रदान गर्न प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको पनि आयोजना गरिनेछ। कार्यक्रममा फिल्मकर्मी यादव खरेलले फेस्टिभललाई नेपालको विदेशमा रहेका दुतावासले आयोजना गरेर त्यहाँ नेपाली फिल्म देखाउनु पर्ने बताए। ‘यसले हाम्रो फिल्मलाई टेवा मात्र पुर्‍याउदैन। संस्कृतिलाई समेत विदेशमा लैजान्छ। हामी फिल्म कस्तो बनाई रहेका छौं भन्ने पनि यसबाट सहजै थाहा पाउन सकिन्छ’, उनले भने।

त्यस्तै अभिनेता नीर शाहले फिल्म महोत्सवले कलालाई निखार्ने मात्र नभई फिल्मलाई सिक्ने अवसर पनि दिने बताए। ‘हामीले फिल्म अवलोकन गर्न पाउँछौ भने हामीले हाम्रो सिर्जना विश्वका चर्चित फिल्ममेकरलाई पनि देखाउन पाउछौ’, उनले भने, ‘यस किसिमको फिल्म महोत्सवले नयाँ फिल्मकर्मीलाई प्रेरणा दिने काम पनि गर्छ।’

प्रकाशित: ६ माघ २०७५ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App