कला

‘बिजुलीकली’ नयाँ हात्ती सुन्दरी

१५ औं हात्ती महोत्सवमा ‘हात्ती सुन्दरी’को उपाधि जितेकी बिजुलीकली। तस्विरः सविता/नागरिक

चितवन - सौराहको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी १५ औं ‘चितवन हात्ती महोत्सव’मा शनिबार फरक दृश्य देखियो। चार हात्तीहरू सजिएर मैदानमा उत्रिए। महोत्सवमा ‘हात्ती सुन्दरी’को उपाधिका लागि सेल्फीकली, चम्पाकली, एसिलाकली र बिजुलीकली प्रतिस्पर्धी थिए। यीमध्येकी बिजुलीकलीले प्रतिष्पर्धामा बिजुलीकलीले बाजी मारिन्।

युनाइटेड हात्ती सञ्चालन सहकारीको हात्ती बिजुलीकलीले प्रतिस्पर्धा जितेको नतिजा प्रकाशन समिति संयोजक दामोदर रेग्मीले जानकारी दिए। महोत्सवमा हात्तीको वनभोज, फुटबल, पोलो, हात्तीको फास्टवाक हेरिसकेका दर्शकले महोत्सवको चौथो दिनको हात्ती सुन्दरी प्रतिस्पर्धामा रमाईलो माने। चारवटै हात्तीहरू निर्णायकका अघि गएर आफूलाई प्रस्तुत गरे। निर्णायकले हात्तीको सरसफाई, श्रृंगार, शरीरमा गरिएको सजावट, माहुतेको आदेश मान्ने वा नमान्ने हेरेर मूल्यांकन गरेका थिए।

निर्णायकले हात्तीलाई क्रमैसँग अवलोकन गरेर मूल्यांन गरेका थिए। चारवटै हात्तीले चौरमा ‘क्याटवाक’ समेत गरे। महोत्सवका हात्ती व्यवस्थापनका संयोजक ऋषि तिवारीले हात्तीको श्रृंगार, चालदेखि हात्तीको स्वस्थतासम्म हेरेर हात्ती सुन्दरी छनौट गरिएको बताए। हात्ती र माहुतेको व्यवहार र हात्तीको शरीरमा भएका चोटपटकहरू पनि प्रतिस्पर्धामा हेरिन्छ। हात्ती सुन्दरीको उपाधी दिन तीनजना निर्णायकले हात्तीको मूल्यांकन गरेका थिए।

श्रृंगारपटार, सजावट, हात्तीको स्वस्थतालाई राखेर मूल्यांकनको आधारहरू छनौंट गरिएका छन् । यिनै आधारहरूमा मूल्यांकन गरेर विजेता घोषणा गरिएको हो ।

प्रतिस्पर्धामा गाजल, आँखाको सजावट, नङको पालिस, माहुतेको पोसाक, मानिससँगको मिलनसार बानी, इशाराको बुझाई, आदेशको पालनालगायतलाई हेरिएको तिवारीले बताए। हात्ती सजावट र श्रृंगार गर्दा प्रयोग गरिएको रङ हात्तीलाई हानी गर्ने छ कि छैन भन्नेसमेत हेरिएको थियो। ‘श्रृंगारपटार, सजावट, हात्तीको स्वस्थतालाई राखेर मूल्यांकनको आधारहरू छनौंट गरिएका छन्’ उनले, ‘यिनै आधारहरूमा मूल्यांकन गरेर विजेता घोषणा गरिएको हो।’ गएको वर्ष हात्ती सुन्दरी प्रतिस्पर्धामा पाँच हात्ती सहभागी थिए।

गएको वर्ष सेकेन्ड रनरअप बनेको बिजुलीकलीले यस वर्ष उपाधि जितेको हो। १८ वर्षिय बिजुलीकलीसँगै १२, १६ र २२ वर्षका हात्तीले प्रतिस्पर्धा गरेका थिए। एक पटक विजयी भएको हात्ती अर्को पटकको प्रतिस्पर्धामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। उमेर र आनीबानीको आधारमा छनौंट गरेर हात्तीलाई सुन्दरी प्रतिस्पर्धामा उतारिने तिवारीले बताए। क्षेत्रीय होटल संघ नेपाल चितवनले आयोजना गरेको महोत्सवमा हात्तीलाई केन्द्रित गरेर प्रतिस्पर्धाहरू राखिएका छन्। प्रतिस्पर्धाले हात्तीको हेरचाहमा ध्यान दिन प्रोत्साहन हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुमन घिमिरे बताउँछन्।

प्रकाशित: १५ पुस २०७५ ०३:३७ आइतबार

सौराह हात्ती महोत्सव सुन्दरी