कला

‘छोरी शिक्षित नभए देश समृद्ध हुँदैन’

‘छोरीको निमित्त स्वर्णिम नेपाल महाअभियान संकल्प’ अभियान अन्तर्गत मंगलबार गौरमा राजदेवी, गौर नगरपालिका र यमुनामाई गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा रेखा फाउण्डेशनकी अध्यक्ष एवं नायिका रेखा थापा। तस्बिर : मदन/नागरिक

रौतहट – अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाले समाजमा भइरहेका विभिन्न किसिमका विकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा आवश्यक रहेको बताएकी छन्। उनले देशमा छोरीहरू शिक्षित भएर आत्मनिर्भर नबनेसम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताएकी हुन्।

‘छोरीको निम्ती स्वर्णिम अभियान एवं बेटी बचाव बेटी पढाव’ कार्यक्रमअन्तर्गत मंगलबार रौतहट सदरमुकाम गौरमा राजदेवी, गौर नगरपालिका र यमुनामाई गाउँपालिकाद्वारा संयुक्त रुपमा हालै आयोजित दुई दिने कार्यशाला गोष्ठीमा रेखा फाउण्डेसनकी अध्यक्षसमेत रहेकी रेखाले छोरीमाथि हुने विभिन्न किसिमका आपराधिक गतिविधिको प्रमुख कारण चेलीमा अशिक्षा एवं आत्मरक्षाको कमि रहेको बताइन्।

रेखाले ‘छोरीको निमित्त स्वर्णिम नेपाल महाअभियान संकल्प अभियान’, ‘बेटी बचाउ बेटी पढाउ’, ‘लैगिंक हिंसा अन्त्य गरौं’ र ‘सामाजिक कुरीति बन्द गरौं’ जस्ता नारासहित स्वर्णिम नेपालको अभियानलाई फाउण्डेशनद्वारा रौतहटमा बाल विवाहको अन्त्य, सामाजिक विभेद, छोरीलाई साक्षर बनाउनेजस्ता कार्यक्रम भइरहेको जनाइन्।

राज्यले यहाँका ४९ प्रतिशत पुरुषलाई साक्षर बनाएको कारण देश समृद्ध हुन सकेन। नेपालमा छोरीलाई आत्मनिर्भर बनाउन अभिभावकहरूले छोरासरह छोरीलाइ पनि शिक्षा दिनुपर्छ।

‘देशमा ५१ प्रतिशत महिलाको संख्या भएपनि उल्लेख्य मात्रामा साक्षर छैनन्। उनीहरू निरक्षर छन्। राज्यले यहाँका ४९ प्रतिशत पुरुषलाई साक्षर बनाएको कारण देश समृद्ध हुन सकेन’, उनले भनिन्, ‘नेपालमा छोरीलाई आत्मनिर्भर बनाउन अभिभावकहरूले छोरासरह छोरीलाइ पनि शिक्षा दिनुपर्छ। छोरी शिक्षित नभए देश समृद्ध हुँदैन।’ उनले आत्मनिर्भर, आत्मरक्षाको लागि चेलीलाई दक्ष बनाउन ढिलो डाडु पन्यु दिनुभन्दा पहिला हातमा कलम र किताब दिई विद्यालयको अध्ययनमा पठाएर आत्मनिर्भर बनाएमा छोरीमाथिको हिंसा कम हुने दाबी गरिन्। नायिका थापाले छोरी राम्ररी शिक्षित भएमा परिवार सुखी हुनुका साथै घरपरिवार शिक्षित भई बाल विवाहको अन्त्य हुने एवं परम्परागत सोचबाट बाहिर निस्किदा शिक्षित समाज बन्न सक्ने स्पष्ट पारिन्।

उनले स्वर्णिम नेपालले अभियानको रूपमा कार्यक्रमहरू सञ्चालन गरेर अभिभावकहरूलाई आ–आफ्ना छोरीको उज्जवल भविष्य बनाउन शिक्षित बनाएर बालविवाहजस्ता कुरीतिहरूलाई अन्त्य गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गराइएको बताइन्।

मानव सूचकांकमा प्रदेश २ को स्थान सबैभन्दा पछाडि परेको त्यसमा पनि रौतहट अझ तल रहेको अवस्थामा त्यहाँ भइरहेको बालविवाह, छोरीमाथि गरिने हिंसालाई बन्द गर्नका लागि छोरीको निम्ती स्वर्णिम अभियान, बेटी बचाव बेटी पढाव सम्बन्धी संकल्प पत्र मंगलबारबाट परोहा नगरपालिकाको लौकाहामा लागु भएको छ।

कार्यक्रममा गौर नगरका अजय गुप्ता, राजदेवीनगरका मेयर धीरेन्द्र सिंह, यमुनामाई गाउपालिका अध्यक्ष श्रीप्रसाद मुखिया, उपमेयरद्वय किरण ठाकुर, अंशु सिंहलगायतका जनप्रतिनिधिहरूले स्थानीय तहमा ‘बेटी बचाउ बेटी पढाउ’को अभियानलाई सफल बनाई छोरीलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: ६ पुस २०७५ ०३:०८ शुक्रबार

रेखा_थापा छोरी समृद्ध_मुलुक