कला

‘अ थाउजन्ड गल्र्स लाइक मी’ जित्यो किम्फ अवार्ड

काठमाडौं – बुबाबाट पटक–पटक बलात्कृत भएकी अफगान महिलाले न्यायका लागि गरेको संघर्षको कथामा आधारित निर्देशक साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ यसवर्षको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को उत्कृष्ट फिल्म घोषित भएको छ। यस फिल्म विजयी हुँदै १५ सय अमेरिकी डलर पाउन सफल भएको छ।

त्यसै निर्देशक अरुण भट्टराई र डोरोत्यो जुर्बोको भुटानी फिल्म ‘द नेक्स्ट गार्डियन’ दोस्रो र मिक्लास कल्सटोर्म र मार्टिनी कार्टिनेमको ‘इस्टर्न मेमोरिज’तेस्रो भएका छन्। उनीहरूले क्रमशः एक हजार रपाँच सय अमेरिकी डलर प्राप्त गरे।

नेपाल पानोरामाअन्तर्गत आख्यानमा अविनाशविक्रम शाहको ‘तटिनी’ र गैरआख्यान विधामा विद्या चापागाईं र कमल कुमारको ‘मरिसकेको मान्छे’उत्कृष्ट भए। उनीहरूले क्रमशः एक लाख र ७५ हजार जितेका छन्। मुनमुन धलेरियाको ‘एन अनसर्टेन विन्टर’ले इसिमोड उत्कृष्ट पर्वतीय फिल्मको अवार्ड जित्दै एक हजार अमेरिकी डलर प्राप्त गरेको छ।

कार्यक्रममा किम्फका अध्यक्ष वसन्त थापाले महोत्सवले धेरैलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मबारे जानकारी दिने गरेको बताए। ‘हरेक वर्ष किम्फको प्रतीक्षा हुन्छ। यसले राम्रा फिल्महरू हेर्ने माहोल तयार गरेको जस्तो लाग्छ,’उनले भने,‘दर्शक र फिल्ममा रुचि राख्नेहरूलाई अर्को वर्षपनि किम्फमा उत्कृष्ट फिल्म लिएर आउने वाचा गर्छाैं।’

प्रसुना डंगोलको ‘डोल्पा डायरी’ उत्कृष्ट साहसिक फिल्म घोषित हुँदै एक हजार अमेरिकी डलर पाउन सफल भएको छ। त्यस्तै, बुद्ध दर्शनमा विद्यावारिधि गरेका निर्देशक सेनाङ ग्याम्जो तामाङको ‘सुपर मंक’ले अडियन्स अवार्ड पाउँदै ५० हजार जितेको थियो।

यो किम्फको १६औं संस्करण हो। गत शुक्रबार राजधानीकोराष्ट्रियसभा गृह र नेपालपर्यटन बोर्डमासुरु भएको किम्फमा नेपालसहित ३१ देशका ७० भन्दा बढी डकुमेन्ट्री, सर्ट फिल्म, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसनफिल्महरू प्रदर्शन गरिएको थियो। यसपटक नेपाली पानोरामा अन्तर्गत २० फिल्महरू प्रदर्शन भएका थिए।
‘वुमन मुभ माउन्टेन्स’ नारा लिएको यसवर्षको किम्फले ‘ट्राभेल इज एन अटिच्युड’ शीर्षकमा आयोजना गरेको सर्ट फिल्मप्रतियोगितासुजन गौतमको ‘मी एन्ड माई इन्डेभर’ ले उत्कृष्ट हुँदै २५ हजार जितेको थियो।

‘केन्डल माउन्टेन फिल्म फेस्टिभल’का कला निर्देशक क्लेर जेन कार्टर, अष्ट्रेलियन फिल्मकर्मी जोलियन हफ र नेपालका निर्देशक छिरिङ रितार शेर्पा महोत्सवको जुरीमा रहेका थिए। ‘यसवर्षको किम्फले महिलाहरूलाई फिल्मको विभिन्न तहमा सहभागि गराउन सफल भएको छ। महोत्सवमा देखाईएका फिल्महरू महिला लक्षित भएकाले यसलाई निरन्तरता दिनु जरुरी छ। महिला निर्देशकहरूले राम्रो फिल्म निर्देशन गरेका छन्,’महोत्सवका जुरी निर्देशक छिरिङ रितार शेर्पाले भने।

त्यस्तै महोत्सवमा अष्ट्रेलियनफिल्ममेकर जेनिफर पिडम र केसाङ छेतेनले ‘मास्टर क्लास’ सञ्चालन गरेको थिए। ‘किम्फ डक लाइभपिच’विद्या चापागाईको ‘माउन्टेन गार्ड’ ले दुई हजार पाउन्डको पुुरस्कार जितेको थियो।

फेस्टिभलकी निर्देशक रम्यता लिम्बुले यसवर्ष किम्फमा देखाइएा फिल्ममध्ये ३० प्रतिशत फिल्म रडकुमेन्ट्रीमा महिलाहरूले निर्देशकदेखि प्राविधिक तहसम्म काम गरेका थिए। ‘यसपटक महिलाहरू सक्रिय भएर निर्माण भएका फिल्म प्रदर्शन भएका थिए। यो संख्या आगामी दिनमा बढ्दै जानेमा आशावादी छौं। हामीले महिलाहरूलाई फिल्म निर्देशदेखि प्राविधि तहसम्म सक्रिय बनाउन विभिन्न कार्यशालाहरू समेत गरिरहेका छौं।’

महोत्सवमा नेपाली फोटोग्राफर उमा बिष्टको ‘आइ एम प्योर’ र पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएलअफएक्जाइल’ शीर्षकमा फोटोहरूप्रोजेक्टरमार्फत प्रदर्शनी गरिएका थिए। युएइको ‘फाइन लाइन्स्’ नामक फिल्म प्रदर्शन गर्दै यसवर्षको किम्फ समापन भएको थियो।

प्रकाशित: २६ मंसिर २०७५ ००:१६ बुधबार

अ_थाउजन्ड_गल्र्स_लाइक_मी पर्वतीय_फिल्म_महोत्सव उत्कृष्ट_फिल्म