कला

‘चराहरुको यात्रा’लाई ५० हजार पुरस्कार

नुवाकोट - नुवाकोटमा शनिबार सम्पन्न सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय कविता महोत्सव’को उपाधि उदयपुरका कवि जीवन आरोहीको कविता ‘चराहरूको यात्रा’ले जितेको छ। नुवाकोट साहित्य प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा कवि आरोहीले यही कवितावाचन गरेका थिए। उनको कवितामा चरालाई बाध्यताले वैदेशिक रोजगारीमा गइरहेका नेपाली नागरिकहरूसँग तुलना गरिएको थियो।

कवि आरोहीले वैदेशिक रोजगारमा गएका नेपालीहरूले पराई देशमा जीवनको अमूल्य समय बिताई देश फर्कदा भारी मन लिएर आएकाहरूलाई सम्झिएर कविता लेखेको बताए। ‘कोही रहरले त कोही बाध्यताले विदेशिन्छन्। वैदेशिक रोजगारीमा गएकाहरू कोही बाकसमा फर्किने र कोही उतै अलपत्र पर्ने सुन्दा मन अमिलो हुन्छ। यस्तै विषयलाई समेटेर मैले कविता लेखेको हुँ,’ उनले भने, ‘वैदेशिक रोजगारमा गएकाहरूको घर सप्रन्छ या बिग्रन्छ भन्न सकिन्न। कविताको अन्त्यमा ‘यस पल्ट फर्केर आयो भने, यो चराहरूको हुल, पाठशाला जान्छ कि जंगल ?’ त्यही सन्दर्भमा राखेको हुँ।’

प्रतियोगितामा बाग्लुङका विवश बाबुको कविता ‘आग्रह’ द्वितिय बन्यो। उनले कवितामार्फत सबैलार्ई सत्यताको धरातलमा टेकेर हिड्नु पर्ने सुझाव दिएका छन्। ‘बेपत्ता भएका सन्तानको अभिभावकको मनमा आशाको किरण रहिरन्छ भन्ने सन्देश मैले कवितामार्फत दिएको छु,’ उनले कविता अथ्र्याए,‘चेतना खेर फालिएन भने समयले जीवनमा उज्यालो दिनेछ। त्यसलाई पर्खन सक्नुपर्छ।’

रामेछापका जीवन खत्रीको ‘धर्तीको र दोलखाकी देवकी अभिलाषीको ‘भोकको सौन्दर्य’ कविता तृतीय भयो। कार्यक्रममा कार्तिक १५ गतेसम्ममा प्राप्त भएका २ सय ४८ कवितामध्येबाट छानिएका २० कविले आफ्नो कविता बाचन गरेका थिए। छनोट भएका कविहरूले वाचन गरेका कविताहरूको महेश पौडेल, शशि लुलुम्बु र विना थिङको निर्णायक टोलीले उत्कृष्टकता छनौंट गरेको थियो।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे। उनीहरूलाई पुरस्कार प्रदान गर्दै पूर्वमन्त्री शंकर कोइरालाले नुवाकोट साहित्य प्रतिष्ठानले राम्रो काम गरेकोमा प्रशंसा गर्दै कविताहरूबाट सिंगो समाज भेटिएको बताए।

‘आन्तरिक पर्यटन प्रवद्र्धनको लागि साहित्य’ भन्ने नारासाथ शुरु  भएको कविता महोत्सवमा २० बढी जिल्लाका साहित्यकारहरूको उपस्थिति थियो। कार्यक्रममा आगन्तुक सर्जकको रुपमा प्रमिला परी, सुमित्रा शुमी, सुबिन रिमाल, भगवती खनाल,  बद्रिवृन्द गजुरेल, श्रीधर पाण्डे, अमृता स्मृति, काजी खान, सबिता खतिवडा, राजु भण्डारी, जानुका दाहाल, अञ्जु सापकोटालगायतले आफ्नो सिर्जना सुनाएका थिए। हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले शेरबहादुर देउवा र पुष्ककमल दाहल ‘प्रचण्ड’को क्यारिकेचर गरेका थिए।

प्रतिष्ठानले यस अघि २०७३ सालमा प्रथम कविता महोत्सव आयोजना गरेको थियो। प्रतिष्ठानका उपाध्यक्ष मुकुन्दराज अर्यालले आगामी दिनमा पनि साहित्यिक गतिविधिलाई बढाएर अग्रजलाई सम्मान र साहित्यमा भर्खरै कलम चलाउदै आएकाहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने बताए।

प्रकाशित: १७ मंसिर २०७५ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App