कला

भैरव अर्याल स्मृति सम्मान लामिछानेलाई

मकवानपुर- हाँस्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव अर्याल स्मृती सम्मान २०७४ बाट हाँस्य व्यङ्ग्यकार राजकुमार लामिछाने सम्मानित भएका छन्। साहित्यको हाँस्य व्यङ्ग्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मकवानपुरका लामिछानेलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार धनराज गिरीले उनलाई सम्मान पत्रसहित नगद २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए। लामिछानेको ‘पुतलाको पावर’ हाँस्य व्यङ्ग्यको निवन्ध संग्रह प्रकाशित छ।

यसअघि जिल्ला बाहिरका व्यङ्ग्यकारलाई प्रदान गरिदै आएको सम्मान पहिलो पटक जिल्लाकै स्रष्टालाई दिइएको हो। सम्मानबाट यसअघि धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङमास्टर लगायत सम्मानित भइसकेका छन्। साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपालले संयुक्त रुपमा भैरव अर्याल स्मृती सम्मान प्रदान गरेको हो।

त्यस्तै, साहित्यसेवी पूर्णप्रसाद अर्याललाई पनि साहित्य क्षेत्रलाई विभिन्न माध्यमबाट पुर्‍याएको भन्दै सम्मान गरिएको छ। विशेषत साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाललाई सहयोग गरेको भन्दै सम्मानित गरिएको हो।

कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेश पौडेल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिना, भैरव अर्यालका सुपुत्र प्रकाश अर्याल, साहित्य संगमकी उपाध्यक्ष अनिता न्यौपानेलगायतले साहित्य क्षेत्रमा हाँस्य व्यङ्ग्य बिधाको बिशेष महत्व रहेपनि यसक्षेत्रको विकास र प्रबद्र्धनमा कम चासो दिईएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा साहित्यकारहरु मिनप्रसाद लामिछाने, देवराज खरेल, माधव भण्डारीलगायतले हाँस्य व्यङ्ग्य रचना वाचन गर्दै राजनीति, समाज, युवा पुस्ता, प्रबिधिप्रति व्यङ्ग्य गरेका थिए। कार्यक्रम अघि साहित्य संगम र हेटौंडा उपमहानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरिरहेको पुष्पलाल स्मृती पुस्तकालय परिसरमा रहेको भैरव अर्यालको प्रतिमामा माल्र्यापण गरिएको थियो। सम्मान पत्रसहित प्रदान गरिने नगद पुरस्कारका लागि अर्यालका परिवारले २ लाख ५० हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरेका छन्।

 

प्रकाशित: २० आश्विन २०७५ १३:४२ शनिबार

भैरव_अर्याल सम्मान