कला

सुविनकी ‘प्रिय सुफी’

काठमाडौं – प्रेमिल उपन्यासका कारण लोकप्रिय बनेका लेखक सुविन भट्टराई नयाँ उपन्यास ‘प्रिय सुफी’ लिएर पाठकमाझ आएका छन्। माया पिरतीको कथामा उत्प्रेरणा जोड्दै लेखिएको पुस्तकको शनिबार अभिनेत्री आँचल शर्मा, गायिकाद्वय शितल मोक्तान र सुवानी मोक्तान तथा लेखक स्वयंले विमोचन गरे । भट्टराईले दुई वर्षअघि ‘मनसुन सार्वजनिक गरेका थिए।

‘युवापुस्तालाई माया प्रेम मात्र हैन उत्प्रेरणाको स्वाद उपन्यासबाटै दिन खोजेको छु,’ उनले भने, ‘युवा पुस्तामा छाउने निराशाले हुने आत्महत्याको घटनालाई उठाएको छु।’ उपन्यासको केही हिस्सा आफ्नै भोगाइ रहेको उनले खुलाए।

अरुबेला उत्प्रेरकको काम गर्ने गणेश अगम ढुंगानाले ‘प्रिय सुफी’ उपन्यासको आवरण जस्तै ‘परी’ झैं रहेको बताए । ‘हरेक मानिस अरुमा मोडल खोजिरहेका हुन्छन् तर प्रिय सुफीले मलाई समेत आफ्नो जीवनको मोडल आफै बन्न सिकाएको छ,’ उनले भने, ‘ पुस्तकले कसरी एक अर्कालाई माया गरियो भने सारा संसार सुन्दर हुन्छ भनेर बताउँछ । मैले एकै बसाइमा पुस्तक पढेर सकेको थिएँ।’

पुस्तक सार्वजनिक गर्न मञ्चमा पुगेकी अभिनेत्री आँचल शर्माले भने यसअघि भट्टराईको ‘समर लभ’ पढेको उल्लेख गरिन् । उनले आफ्नो जीवनमा बाबा सबैभन्दा प्रिय रहेको र बाबापछि पल शाह सबैभन्दा नजिकको व्यक्ति भएको बताएकी थिइन्।

पुस्तक सार्वजनिक गर्नु अघि गायिका शितल र सुवानीले गीत प्रस्तुत गरे उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा गायिकाद्वयले  ‘आऊ न माया गाँस न’, ‘तिमीबिनाको जीवन काँडा भो’ लगायतका गीत गाएका थिए।  

लेखक भट्टराईका यसअघि ‘कथाकी पात्र’ ‘समर लभ’, ‘साया’र ‘मनसुन’ प्रकाशित भएका छन् ।  पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो।

प्रकाशित: ७ आश्विन २०७५ ०५:१० आइतबार

सुविन_भट्टराई उपन्यास प्रिय_सुफी