कला

‘गोल्डेन डोर’मा फूलमानको ‘सेलफोन’

काठमाडौं – पत्रकार फूलमान बलद्वारा निर्देशित सर्ट फिल्म ‘सेलफोन’ अमेरिकाको ‘आठौं गोल्डेन डोर इन्टरनेशनल फिल्म फेस्टिभल अफ न्युजर्सी’मा छनौंट भएको छ। प्रविधि र सांस्कृतिक मान्यताबिचको संघर्ष समेटिएको फिल्म आगामी सेप्टेम्बर २० देखि हुने चार दिने फेस्टिभलको फ्यामिली ड्रामा विधामा छानिएको हो । १५ मिनेट लामो फिल्ममा ढ्याङग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्षलाई प्रस्तुत गरिएको छ।

यो फिल्मले केही वर्ष अघि राजधानीमा भएको ‘नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभल’मा अवार्ड जितेको थियो । फिल्म चीन, बंगलादेश, अमेरिका, कोलम्बियालगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको आधिकारिक छनौंटमा परिसकेको छ । ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायत निर्माता रहेको फिल्ममा उमेश तामाङ, शान्ति वाइवा, प्रेम लोप्चनलगायतको अभिनय छ । अमेरिकामा रहेका निर्माता पाख्रिनले फिल्मले तामाङ समुदायको समस्या उठाएको बताए।

फेस्टिभलको वेभसाइट अनुसार फिल्म तेस्रो दिन सेप्टेम्बर २२ गते देखाइनेछ । त्यस्तै फेस्टिभलको म्युजिक भिडियो विधामा नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे ’ बोलको गीत छानिएको छ । कृसु क्षेत्रीको शब्द रहेको गीतस“गै फेस्टिभलका लागि विश्वभरबाट झण्डै एक सय म्युजिक भिडियो छानिएका छन् । हिमाल सागरको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन बिक्की पुलामी खडगले गरेका छन् । गीतमा मानवीय जीवनको सफलता र असफलतालाई तुलना गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App