नेपालकी पुरानी नायिका गौरी मल्लले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको हालै टेलिसिरियल ‘सिंहदरबार२’ नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ। उनै मल्लसँग नागरिक परिवारले गरेको कुराकानीः
अभिनेत्री बन्न कसरी प्रेरणा मिल्यो ?
म कसैको प्रेरणाले अभिनेत्री बनेकी होइन । यत्तिकै कसरी–कसरी अभिनेत्री बन्न पुगेँ । मेरो बुबा कलामा अलिक बढी चाख राख्नु हुन्थ्यो । सायद उहाँकै गुण ममा सरेको हुनु पर्छ ।
तपाईं अभिनेत्री नभएको भए के बन्नुहुन्थ्यो ?
कलाकार नभएकी भए सायद म नर्स हुन्थेँ होला । मलाई नर्स पेशा एकदमै मन पर्छ । नर्स हुनु भनेको बिरामीको सेवा गर्नु हो । मलाई अरूको सेवामा तल्लीन रहन मन लाग्छ । सायद म कलाकार नभएको भए नर्स नै हुन्थेँ होला ।
तपाईंको जागिर खाँदाको पहिलो तलब कति थियो ?
मैले धेरै पहिला राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा जागिर खाएकी थिएँ । त्यो बेला मेरो तलब सायद मेरो विचारमा ३०० सय ३६० थियो । यति नै थियो मेरो पहिलो तलब जागिर खाँदा ।
जीवनमा कुन समय फेरि जिउन चाहनुहुन्छ ?
मिल्ने भएदेखि म १४, १५ वर्षको उमेरमा फर्कन चाहन्छु । जुन त्यति पोसिबल छैन । तर पनि त्यो समयमा फर्कन इच्छा छ । तर के गर्नु समयलाई बदल्न सकिँदैन ।
कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
मलाई अभिनय गर्न त मन पर्छ नै । फिल्ममा भन्दा मलाई स्टेजमा नाच्न मन पर्छ । स्टेजमा नाच्दा मलाई बेग्लै आनन्द आउँछ । त्यस्तै मलाई गाउन पनि मन लाग्छ । कुन गीत कतिखेर मन पर्छ । त्यो समयअनुसार फरक पर्छ । आज सुनेको गीत भोलि मन नपर्न सक्छ । हिजो मन नपरेको गीत आज मन पर्न सक्छ ।
तपाईंलाई कुन कुराले बढी चित्त दुख्छ ?
मलाई पहिला–पहिला साना–साना कुराले चित्त दुख्थ्यो । रमाइलो कुरा के छ भने पहिलाको जस्तो अहिले चित्त दुख्दैन ।
तपाईं सुतिरहनु भएको कोठामा एक्कासि भूत प्रकट भयो भने के गर्नु हुन्छ ?
हेलो, हाउ यार यु भन्छु । डराउन भने डराउँदिन थेँ होला । हाहाहाहा.......
पर्दाको गौरी मल्ल र पर्दा बाहिर कति फरक हुनुहुन्छ ?
पर्दाभित्र र पर्दा बाहिरमा फरक त भइहाल्छ नि । त्यो अभिनय गर्नुपर्ने हुन्छ । बाहिर गर्नु पर्दैन । पर्दा बाहिर गौरी सिम्पल हुन्छे पर्दामा गम्भीर फरक यत्ति हो ।
यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
प्रधानमन्त्री भएपछि धेरै कुरा गर्न बाँकी छ । सिरियलमा प्रधानमन्त्री त भइसकेँ तर रियल लाइफमा बन्ने भन्ने छैन । यदि म प्रधानमन्त्री बनेँ भने सबैभन्दा पहिला बाटो बनाउँथेँ । बाटोमा सुधार हुनेबित्तिकै गाउँका हरेक सामानहरु शहरमा बिक्री हुन्छन् । गाउँको विकास हुन्छ । गाडी पुगेपछि गाउँ नै सहरजस्तो देखिन्छ । जति पनि ठूला–ठूला भवनहरु छन् तिनलाई स्कुल बनाइदिन्थे ।
त्यसपछि बिजुलीको राम्रो व्यवस्था गर्थेँ । यी–यी कुरामा ध्यान दिन्थें । कलकारखाना सञ्चालनमा आएको खण्डमा धेरैले रोजगार पाउँथे । त्यसपछि पर्यटन क्षेत्रलाई अगाडि बढाउँथेँँ ।
तपाईंलाई कुन कुराले बढी खुसी बनाउँछ ?
मलाई हरेक कुराले खुसी बनाउँछ । मेरा लागी हरेक क्षण खुसी नै खुसीको क्ष्ण हो । जुनसुकै घटनाले मलाई पाठ सिकाइरहेको हुन्छ ।
के देख्दा दुःख लाग्छ ?
दुःख लाग्ने कुरा धेरै छन् समाजमा । आफूले पाएको जिम्मेवारी वहन नगर्ने मान्छेदेखि दुःख लाग्छ । आफूले पाएको कर्तव्य बिर्सनेदेखि दुःख लाग्छ । कतिपय आफूभन्दा सानालाई सम्झाउने गरेको पनि छु । मान्छेलाई दुःखैदुःख भो भने डिप्रेसन हुन सक्छ । यस्ता कुरामा मलाई बढी दुःखी बनाउँछ ।
प्रेम प्रस्ताव कत्तिको आउँथ्यो ?
त्यो त स्वाभाविक कुरा हो । कलाकारलाई भएपछि थुप्रै आउथे होला । लेखाजोखा नै छैन । कतिपय फ्यानहरुले नबुझेर हो कि के हो यौन प्रस्ताव पनि धेरैँ आउँथ्यो । प्रेम प्रस्ताव त सामान्य नै भइहाल्यो नि ।
तपाईंका कुन कुरा दर्शकलाई थाहा छैन ?
म पुरानो कलाकार भएर होला दर्शकलाई सबै कुरा थाहा छ । दर्शकलाई थाहा नभएको कुरा सायद छैन होला । कलाकार भनेको एउटा खुला किताब हो जुन दर्शकले पढिरहेका हुन्छन् । गौरी मल्लको गोप्य कुरा नै छैन । दर्शक, श्रोताले नदेखेको ।
आफूले गर्न चाहेको तर गर्न नसकेको अधुरो काम ?
मेरो अधुरो काम नै छैन । जति भोलि गरौंला भनेर सोचेर राखेको । सबै काम गरिसकेकी छु जस्तो लाग्छ । मैले यसो गर्छु यसो गर्छु भनेर कहिल्यै योजना बनाइन । तर एउटा कुरा के छ भने चलचित्रको निर्देशन गर्ने । मलाई निर्देशन गर्न मन पर्छ । यो पनि चाँडै गर्छु । पहिला अरुको १०, १२ वटा प्रोजेक्ट सकुँ अनि थालनी गरुँ भन्ने सोचेकी छु ।
आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?
म कमजोरी नै कमजोरी भएको मान्छे हो । मेरो कुरामा कमजोरी छन् । अरूका पनि कमजोरी होलान् तर यही भनेर भन्न सक्दिन । कमजोरीलाई हरेक समय सुधार्दै लेजाने गरेकी छु ।
आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
म भित्र रहेको आत्मबल नै आफ्नो शक्ति ठान्छु । आत्मबल भएन भने त मान्छे कहाँ अगाडि बढ्न सक्छ र होइन । हरेक मान्छेको आफ्नो शक्ति भनेकै आत्मबल हो । मुमा बुबा हो हरेक अगाडि निर्धक्क बोल्न सक्नु पनि एउटा आत्मबल नै हो ।
तपाईंलाई मन पर्ने आफ्नो बानी ?
मलाई मन पर्ने आफ्नो बानी घरमा चुपचाप भएर बस्छु । कसैसँग विनाकारण बोलचाल गर्दिन । म एक्लै बस्न रुचाउँछु । सायद यही हुनुपर्छ आफ्नो आफैँलाई मन पर्ने बानी । अरू त्यस्तो त के होला र आफूलाई मन पर्ने बानी ।
कुनै एउटा विषयमा भाषण गर्न भनियो भने के विषय रोज्नुहुन्छ ?
मैले आजसम्म भाषणकै मात्रै धेरै रोल गरेकी छु । यही विषयमा भाषण गर्छु भन्ने छैन । सिंहदरबारमा पनि मैले प्रधानमन्त्रीको भूमिका निभाएको छु । अब ६,७ महिना भने कुन विषयमा भाषण गरुँ भनेर नसोधूम् होला ।
तपाईं सबैभन्दा बढी रोएको क्षण ?
मैले खेलेको अधिकांश चलचित्रमा धेरै नै रोएकी छु । जस्तै पुरानो चलचित्र ‘स्वर्गमा ’ रोएँ त्यस्तै ‘कन्या दान’ चलचित्रमा रोएँ । जति रोए चलचित्रमा रोए रियल लाइफमा त्यसरी रोएकी छैन । आफूले खेलेको चलचित्रमा भन्दा पनि अरुको चलचित्र हेरेर रुने खालका सिन आए भने रोइ हाल्छु ।
कलाकार हुनु भनेको के हो ?
सुरुमा आफू कलाकार हुँदा के हो के हो जस्तो लाग्यो । पछि सबैले चिनेपछि कलाकार राष्ट्रको गहना रहेछ भन्ने ठानें । आफूलाई कला नै प्रिय लाग्न थाल्यो ।
अभिनयबाहेक के गर्ने सोच छ ?
अब जति बाँच्छु अभिनयमै लाग्छु । अभिनय बाहेक अर्को विकल्प रोज्दिन । यही गर्दै आइयो अब अन्त कसरी जानु । नसा–नसामा अभिनय छ ।
प्रस्तुति : भोला अधिकारी
प्रकाशित: ३० भाद्र २०७५ १०:२७ शनिबार