कला

गायिका लोहनीको सम्झनामा पुरस्कार

काठमाडौं – प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी लोहनीको ६६औँ जन्मदिनको अवसरमा लोक संगीतका क्षेत्रमा विशेष योगदान पु-याउनु हुने दुई जना स्रष्टालाई सम्मान गरिएको छ।

 नेपाली लोक संगीतका प्राध्यापक तथा वरिष्ठ लोक वाद्यवादक न्हुच्छेबहादुर डंगोल तथा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सम्मान गरिएको हो। उक्त अवसरमा संगीतकार लोहनीका छोरा आशिष तिवारी एवं छोरीद्वय ऋृचा श्रेष्ठ तिवारी तथा स्मृति शर्मा तिवारीले ‘शोभा–अर्जुन संगीत कोष’ गठन गरेको जानकारी दिइन्।

उक्त अक्षय कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकिएकोे जानकारीसमेत दिइएको थियो। हरेक वर्ष उक्त कोष रकमको बैंकबाट आउने व्याजबाट नेपाली लोक संगीतका एकजना विद्यार्थीलाई छात्रवृत्ति दिइने जानकारी ऋृचा श्रेष्ठ तिवारीले दिइन्। कार्यक्रममा ’शोभाका स्मृतिहरू’ नामक वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो।

उक्त अवसरमा लोहनीले गाएका गीतको सिडी विमोचित गरिएको थियो। क्यान्सर रोगबाट मृत्यु भएकी लोहनीद्वारा गाइएका केही गीतहरू श्रद्धाञ्जलि स्वरूप उहाँका विद्यार्थीहरूद्वारा गाइएका थिए। कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवसले लोहनीलाई आफ्नो विद्यार्थीका रुपमा सम्झिँदै भने, ‘शोभा प्राध्यापकको रूपमा मात्र नभई गायिकाको रूपमा समेत स्थापित भए पनि सधैँ छायामा परेको कुराले आफूलाई दुःखी बनाउन गरेको छ।’ डा. दिवसले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताए। ‘जबसम्म नेपालको संस्कृतिको जगेर्ना गर्न सकिँदैन, तबसम्म स्रष्टाको उचित सम्मान हुन सक्दैन,’ उनले भने। कार्यक्रममा प्रसिद्ध संगीतकार दीपक जंगमले शोभाका एक दर्जनभन्दा बढी आधुनिक गीत रहेको जानकारी दिए।

प्रकाशित: २२ भाद्र २०७५ ०४:०७ शुक्रबार

स्रष्टा_सम्मान गायिका शोभा_तिवारी