कला

गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

काठमाडौं – कवि गोविन्द नेपालले आफ्नो तेस्रो कविता संग्रह तर्कको साम्राज्य पाठकमाझ ल्याएका छन् । आफ्नो ५० औं जन्मोत्सवको अवसर पारेर बिहीबार उनले कविता संग्रह ‘तर्कको साम्राज्य’ पाठकमाझ ल्याएका हुन्।

कविता संग्रहको एक कार्यक्रमका बीच बरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथी शैलेन्द्र साकार, कवि प्रोल्लास सिन्धुलिय, कवि भीष्म उप्रेती, समीक्षक महेश पौडेल लगायतले संयुक्त रुपमा कविता संग्रहको लोकार्पण गरेका थिए।

समीक्षक तथा उप प्राध्यापक महेश पौडेलले बाह्रवर्षको अन्तरालमा आएको कविता बहुआयामिक रहेको बताए । ‘विषयवस्तुका हिसाबले संग्रहमा विविधता छ ,’ उनले भने, ‘ कविताले मानवीय अन्तरसम्बन्धलाई बान्कीका साथ प्रस्तुत गरेका छन्।’ 

उनका अनुसार प्रविधी, उपनाम, दार्शनिकता, माया प्रेम र भावनाले कविता ओतप्रोत रहेका छन् । तर पात्रका कमजोरी खुलाउने, विचार खुम्च्याउने र कवितालाई अझ तर्कमय बनाउने पक्षमा भने कवि केही कमजोर रहेको पौडेलले सुनाए।

पाठकीय मन्तव्य राख्दै कवि भीष्म उप्रेतीले छोटा कविता बढी सशक्त लागेको सुनाए । लामा कविताले गन्थन बढी गर्ने भएकाले पनि समयअनुसार त्यसको ओजमा परिवर्तन ल्याउन उनले सुझाए। 

कवि प्रोल्लास सिन्धुलियले कविका कविता वाचन गरेर सुनाएका थिए । कवि गोविन्द नेपालले एकदशकको समय कविता संग्रहमा अटाएको जानकारी दिए । लामो समयपछि फेरि कविता बोकेर साहित्य फाँटमा फर्किएकाले त्यसको लेखाजोखा गर्ने जिम्मा पाठकलाई नै दिइएको बताए। 

अभिवन साहित्य समाज जोरपाटीको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द घिमिरेले यसरी कविलाई पाठकमाझ ल्याउन पाउनु सुखद रहेको औंल्याए।

कविता संग्रहमा अटाएको किस्ने कवितालाई संस्थाले नै उत्कृष्ट कविताका रुपमा पुरस्कृत गरिसकेको थियो । गरिमा प्रकाशनले बजारमा ल्याएको कविता संग्रहमा ४३ कविता रहेका छन् । लेखकका यसअघि ‘ढुंगाको मन’ गजल संग्रह,‘अक्षर खेल्ने आँगन’ कविता संग्रह बजारमा आइसकेको छ। 

 

प्रकाशित: १ भाद्र २०७५ ०४:०५ शुक्रबार

गोविन्द नेपाल कविता संग्रह तर्कको साम्राज्य