कला

मोबाइलमा ‘रात १३’ उत्कृष्ट

काठमाडौं – मोबाइलबाट खिचिएका छोटा फिल्मको प्रतियोगिता ‘दृश्यांश’मा सर्ट फिल्म ‘रात १३’ उत्कृष्ट भएको छ । सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाइल फिल्म प्रतियोगिता अन्तर्गतको ‘दृश्यांश’मा अनुज पाण्डे निर्देशित फिल्म उत्कृष्ट भएको हो । अनुजले प्रमाणपत्रसँगै ७५ हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगितामा अर्पण बस्नेतको ‘ढलपल’ले दोस्रो पुरस्कार हात पार्यो । दोस्रो भएको फिल्मका निर्देशक अर्पणले सामसुङ ट्याब प्राप्त गरे । टचकन ट्याब प्राप्त गरेको विजय गजमेरको ‘द ईन्टरभ्यु’ प्राप्त गर्याे।  कार्यक्रममा सर्ट फिल्म ‘अमृत’ले ‘पब्लिक च्वाईस’, शर्मिला आलेको ‘स्माइल’ले ‘बेस्ट मेन्सन’को अवार्ड पायो।

प्रतियोगितामा ‘उत्कृष्ट १०’ मा  नविन न्यौपानेको ‘द डिपार्चर’, सुन्दर लामाको ‘कथाः एन् इन्टीमेसी वीथ टाइम’, नव श्रेष्ठको ‘ए कता’, खुश्बु शर्माको ‘वुमरी’, असीमको ‘ड्रीम अफ हाउस वाइफ’, अर्जुन न्यौपानेको ‘महिला कर्मचारी तुः आवश्यकता’ पनि प्रदर्शन गरिएको थियो। 

प्रतियोगितामा ‘अडियन्स च्वाइस’ विजेता फिल्मले आइप्याड पाएको थियो । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई सर्वनामले निःशुल्क तीन महिने नाट्य कार्यशालाको व्यवस्था गरेको छ।

विजेतालाई कवि तथा साहित्यकार उषा शेरचन, संगीतकार दीपक जंगम, फोटोपत्रकार राजभाइ सुवाल, एभिन्युज टेलिभिजन प्रमुख भाष्करराज कर्णिकार, संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, अभिनेत्री मिथिला शर्मा, चित्रकार मदन चित्रकार, रंगकर्मी विमल सुवेदी, गजलकार तथा सम्पादक करुण थापालगायतले पुरस्कार दिएका थिए।

सर्वनामका संस्थापक तथा नाटककार अशेष मल्लले फिल्मकर्मी मात्र नभइ जोकोहीले पनि प्रतियोगितामा भाग लिन सक्ने भएकाले ‘दृश्यांश’को आयोजना गरिएको बताए । सिनेमाघर एपका प्रमुख सागर खरेलले मोबाइल फिल्म प्रतियोगिता गर्न लाग्दा राम्रो प्रतिक्रिया आएको जनाए । दृश्यांशकी संयोजक सम्पदा मल्लले दृश्यांशको अवधारणाले कम बजेटमा फिल्म बनाउन उदाहरणीय भूमिका खेल्ने बताइन्। 

प्रतियोगिताको निर्णायकमा दिपक रौनियार, निश्चल बस्नेत, अविनाशविक्रम शाह र सुशिल पौडेल थिए। 

 

प्रकाशित: ३० वैशाख २०७५ ०५:११ आइतबार

मोबाइलमा रात १३ उत्कृष्ट