कला

शेर्पा संस्कृति जोगाउन गीत संगीत

काठमाडौं – विदेशका अधिकांश कार्यक्रममा पुग्दा पेम्बाछोटी शेर्पालाई जोकोहीले पनि ‘तपाईंले कति पटक हिमाल चढ्नुभयो ?’ भनेर सोधिरहन्छन्।

शेर्पाको छोरी भएकैले उनले यो प्रश्नको प्रायः सामना गरिरहन्छिन् । किनकी शेर्पा जातिलाई हिमाल आरोहणको पर्याय मानिन्छ।उनी हिमाल चढ्नु त परै जाओस्, हिमालको आधारशिविर पनि पुगेकी छैनन् । आफ्नो समुदायले हिमाल चढेर कीर्तिमान बनाइरहँदा पेम्बाछोटीलाई हिमाल चढ्न नपाएकोमा कति पनि पछुतो छैन।

त्यसैले उनी प्रश्नकर्तालाई गतिलो जवाफ फर्काउँछिन्, ‘सबै शेर्पाले हिमाल चढ्दैनन् !’उनी हिमाल चढ्नुको साटो संगीतमा क्रियाशील रहेर आफ्नो समुदायको संस्कृति जर्गेनामा सक्रिय छिन् । हाल स्पेनमा बसोबासरत उनको बारेमा वृत्तचित्र ‘पेम्बा रिर्टन टु गोली’ बनिसकेको छ।

सोलुखुम्बु र स्पेनमा छायांकन गरिएको वृत्तचित्र स्पेनकै जोपेगन कर्पोरेसनको टिभिथ्रीले निर्माण गरेको हो । काठमाडौंमा भएको अघिल्लो संस्करणको ‘माउन्टेन फिल्म फेस्टिबल (किम्फ)’ मा प्रदर्शन गरिएको वृत्तचित्रको सन्देश पनि ‘हिमाल मात्र चढ्दैनन् शेर्पा’ नै थियो । यतिबेला स्पेनलगायत विभिन्न देशमा यो वृत्तचित्र प्रदर्शन भइरहेको छ।

पेम्बाछोटीले गायिकाको रुपमा आफ्नो छुट्टै परिचय बनाएकी छन् । यो परिचय उनले आफ्नो पहिचान खोजेर बनाएको भने होइन । ‘म आठ वर्षको उमेरदेखि नै गायनमा लागेकी हुँ,’ उनले भनिन्, ‘जन्मगाउँ गोलीमा रहँदा विद्यालयमा आयोजना हुने प्रतियोगितामा सहभागी भएर पुरस्कार जितेपछि नै मेरो पाइला गायनमा अघि बढे।’

२०५३ सालमा अध्ययनको लागि भनेर जब पेम्बाछोटी राजधानी आइन् । यसपछि उनको स्वरमा मलजल थपियो । उनले संगीतकार शिलाबहादुर मोक्तानबाट तालिम लिइन् । त्यतिबेला पेम्बाछोटीले कन्या कलेजबाट प्रवेशिका हासिल गरिसकेकी थिइन्।

पेम्बाले पहिलो एल्बम शेर्पा भाषाको गीति संग्रह ‘गाजिक लासुङ हारिङ ङाला’ कक्षा ८ मा पढ्दापढ्दै बजारमा ल्याइन् । उनले रेडियो नेपालको ‘फूलबारी’ कार्यक्रममा शेर्पा गीत गाउने अवसर पाएपछि पेम्बाछोटीको गायन कलाले राष्ट्रियरूपमा चर्चा पायो । उनले त्यसबेलासम्म तीन नेपाली र तीन शेर्पा भाषाको गीति एल्बम ल्याइसकेकी थिइन्।

उनले शेर्पा भाषामा ‘जेन्दीताङ नादिङ्ग लु’, ‘दाक्पी श्यार्वी लु’ र ‘श्यार्वी लु’ गीति एल्बम निकालेकी छन् भने नेपाली भाषाका ‘कच्चाचोला’, ‘सेलो’ र ‘अल्लारे जोवन’लगायत गीति एल्बम पनि बजारमा ल्याएकी छन् । यीबाहेक उनले अन्य गीतमा पनि स्वर दिएकी छन् ।
‘मेरा अधिकांश गीत शेर्पा भाषामै छन् । यी गीत शेर्पा समुदायमा निकै रुचाइएको छ,’ पेम्बाले सुनाइन्, ‘नेपाल आएको बेला पनि मलाई शेर्पा गीत गाउन भ्याइनभ्याइ हुन्छ । अघिल्लो महिना नेपाल आउँदा म गीत गाउनै व्यस्त भएँ।’

युरोपका विभिन्न मुलुकसँगै इजरायल, मलेसियालगायत देशमा आयोजना हुने कार्यक्रममा उनका गीत राम्रै गुञ्जिन्छ । स्टेज कार्यक्रम होस् वा एल्बमको कभर सबैतिर शेर्पा पहिरनमै प्रस्तुत हुन्छिन् । शेर्पा मौलिक संस्कृति झल्कने गरी प्रस्तुत भएकै कारणले पनि उनको लोकप्रियता चुलिँदो छ । आफ्नो भाषा, संस्कार, संस्कृति, लिपि, भेषभूषाको संरक्षण सम्बर्द्धन गर्नुपर्छ भनेर आह्वान गर्ने उनी संस्कृति झल्काउने कारणले चर्चा बटुलिरहेकी छन्।

२६ वर्षसम्म संगीतमा क्रियाशील पेम्बाछोटीको अर्को लुकेको पाटो हो– खेलकुद । कक्षा ८ मै पढ्दा वीरेन्द्र शिल्ड प्रतियोगितामा २०५१ मा प्रथम र बाग्मती अञ्चलस्तरीय प्रतियोगितामा २०५३ द्वितीय स्थान हासिल गरेकी उनले खेलकुदलाई भने संगीतलाई जसरी अगाडि बढाइनन् । तैपनि अहिले उनी रहर पूरा गर्न नेपाल आउँदा भलिबल खेलेरै फर्कने गर्छिन्।
 

प्रकाशित: १७ वैशाख २०७५ ०३:५६ सोमबार

शेर्पा संस्कृति जोगाउन गीत संगीत